|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगातारको वर्षापछि बाढीपहिरो र डुबानपछिको महामारीजन्य रोग नियन्त्रण गर्न व्यवस्थापनलाई तीव्र बनाएको छ। विपद्का बेला चाहिने स्वास्थ्य सेवाका लागि सम्पर्क ब्यक्तिसहित टोली खटाउने तयारीमा स्वास्थ्य मन्त्रालय लागेको छ। 

स्वास्थ्य मन्त्रालयको आपतकालीन तथा विपद् ब्यवस्थापन इकाई प्रमुख चुडामणि भण्डारीका अनुसार प्रदेश र स्थानीय तहका सबै निकायलाई विपद्का बेला तयारी अवस्थामा रहन निर्देशन दिइएको बताए। यसका साथै सातै प्रदेश एवम् संघबाट पनि ११ जना सम्पर्क ब्यक्तिको नाम र नम्बर तोकेर तयारी अवस्थामा राखिएको छ। 

अविरल वर्षापछि आउन सक्ने विपद् व्यवस्थापन र माहामारीजन्य रोग न्यूनीकरणका क्रममा कुनै समस्या परेमा सम्बन्धित तोकिएका व्यक्तिलाई सम्पर्क गर्न भनिएको प्रमुख भण्डारीले बताए।

को को छन् सम्पर्क व्यक्ति?

सम्पर्क ब्यक्तिहरुमा संघमा डा. दिपेन्द्र रमण सिंह, चुडामणि भण्डारी, डा. विवेक कुमार लाल र डा. प्रकाश शाह छन्।  प्रदेश १ का लागि केशु काफ्ले, प्रदेश २ मा विजयकुमार झा, प्रदेश ३ मा गोपाल बजगाईं, गण्डकी प्रदेशमा डा भोजराज गौतम, प्रदेश ५ मा डा उमा शंकर चौधरी, कर्णाली प्रदेशमा चेतननिधि वाग्ले र सुदूरपश्चिम प्रदेशमा रमेश मलाशीलाई सम्पर्क व्यक्ति तोकिएको छ। 

सात स्वास्थ्य संस्था प्रभावित

स्वास्थ्य आपतकालीन तथा विपद् ब्यवस्थापन इकाइको विवरण अनुसार प्रदेश २ का बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था पनि समस्यामा परेका छ्न। सातवटा स्वास्थ्य संस्थामा बाढी पसेको तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छ। 

हालसम्म महत्तोरीमा दुई, रौतहटमा दुई , सप्तहरीमा दुई र जनकपुरमा एक स्वास्थ्य संस्थामा विरामीलाई सेवा दिन नसक्के गरी बाढी पसेको इकाई प्रमुख भण्डारीले बताए।

‘हामीलाई आजसम्म सातवटा स्वास्थ्य संस्था उपचार सेवा नै दिन नसक्के गरी बाढीबाट प्रभावित भएको जानाकारी आएको छ', उनले भने, 'हामी अहिले बैठक बस्दैछौँ। त्यसपछि केन्द्रबाट स्वास्थ्यकर्मी परिचालन गर्ने विधिबारे निर्णय लिन्छौँ।'

औषधि अभाव छैन

हाल धेरै बाढी प्रभावित ठाउँमा औषधि तथा अन्य स्वास्थ्य सामाग्रीको अभाव नरहेको बताइएको छ। यदि अभाव भएमा केन्द्रबाट तत्कालै पठाइने स्वास्थ्य आपतकालीन तथा विपद ब्यवस्थापन इकाई प्रमुख चुडामणी भण्डारीले बताए।

‘हामीले औषधl किन्‍न यस अघि नै बजेट पठाएका छौँ। त्यसले पुगेन भने औषधिको स्टोर पत्तलैयामा रहेकाले त्यहीँबाट व्यवसथापन गरिन्छ', उनले भने,  'जसले गर्दा औषधिको अभाव हुने छैन।' यस्तै बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी र अन्य स्वास्थ्य सेवाको अभाव नभएको मन्त्रालयले जनाएको छ। 

पीडितको उपचारमा जुट्न आग्रह

चिकित्सकहरुको साझा संगठन नेपाल चिकित्सक संघले बाढी, पहिरोको र डुबान प्रभावित क्षेत्रमा स्वास्थ्योपचारका लागि जुट्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ।

संघले शनिबार विज्ञप्ति जारी गर्दै आफ्ना सदस्यहरुलाई घटनास्थलमा खटिएर बाढी पहिरोबाट आउन सक्ने सरुवाजन्य रोग नियन्त्रणमा लाग्न अपिल गरेको हो। यसका साथै बाढीपीडितलाई हुने स्वास्थ्य समस्याको समाधानमा सक्रियताका साथ जुट्नसमेत संघले अपिल गरेको छ।

संघले बाढी प्रभावितको यथाशिघ्र उद्धार र नदी किनारका बासिन्दालाई सुरक्षित ठाउँ स्थानान्तरण गर्न सरकारसँग माग गरेको छ। उनीहरुलाई आई पर्नसक्ने स्वास्थ्य समस्याको समाधान तथा दैनिक जीवनयापनका अत्यावश्यक वस्तु उपलब्धताको सुनिश्चितता गराउनसमेत संघले भनेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.