|

जनकपुरधाम : अविरल वर्षाले डुवानमा परेपछि जनकपुरका केही सरकारी कार्यालयको कामकाज ठप्प भएको छ। बिजुली र इन्टरनेट अवरुद्ध भएपछि कार्यालयमा कामकाज ठप्प भएको हो।

आइतबार जनकपुरस्थित श्रम तथा रोजगार कार्यालय पुग्दा सुनसान देखियो। सबभन्दा बढी सेवाग्राहीको भीड देखिने यस कार्यालयमा एकजना पनि सेवाग्राही थिएन। कर्मचारीहरू बसिरहेका थिए। कार्यालय पुग्ने बाटोसमेत हिलाम्मे बनेको छ। सडकमा बाढीले चिप्लिने खालको माटो पुरिदिएपछि मोटरसाइकल लिएर कार्यालय पुग्ने अवस्था छैन।

इन्टरनेट र बिजुली अवरुद्ध भएको भन्दै आइतबार कुनै कामकाज नहुने कार्यालयमा सूचना टाँस गरिएको छ। कार्यालय प्रमुख बासुकीनाथ झाले अविरल वर्षाका कारण बिजुली र इन्टरनेट सेवा अवरुद्ध भएपछि एक दिनका लागि कार्यालय बन्द गरिएको जानकारी दिए। उनले भने, 'इन्टरनेट र बिजुली सेवा सुचारु भए भोलिबाट कार्यालय नियमित संचालन हुन्छ।'

यस्तै यातायात व्यवस्था कार्यालय पनि ठप्प जस्तै छ। कार्यालय पुग्दा अन्य दिन जस्तै सेवाग्राहीको भीड देखियो। तर, इन्टरनेट अवरुद्ध भएका कारण मध्यान्ह १२ बजेसम्म कसैको काम हुन सकेका थिएनन्। सेवाग्राहीहरु काम हुने आशमा लाइनमा उभिएको देखियो।

कार्यालय प्रमुख चन्देश्वर साहले इन्टरनेट र कम भोल्टेजका कारण सेवा प्रभावित बनेको जानकारी दिए। उनले भने, ‘माथिल्लो तल्लामा भोल्टेज छ। तर, भुइको कोठामा भोल्टेज नै छैन। इन्टरनेटसमेत डिस्टर्भ छ।’ इन्टरनेट चलेपछि जेनेरेटर चलाएर भए पनि सेवा प्रदान गरिने उनको भनाइ थियो।

जिल्ला प्रशासन कार्यालयमा सेवाग्राही पुगे पनि कामकाज भइरहेको देखिएन। प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल र सहायक प्रमुख जिल्ला अधिकारी दिनेश साह कार्यालयमा अनुपस्थित रहँदा कामकाज प्रभावित बनेको एक कर्मचारीले सुनाए। ती कर्मचारका अनुसार प्रजिअ कणेल बाढी प्रभावित क्षेत्र पुगेका छन्। तर दर्जनौं सेवाग्राही प्रजिअ कणेललाई पर्खेर कार्यालय परिसरमा बसेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.