मुख्यमन्त्रीको आश्वासनपछि फेरि डडेल्धुरा फर्कने योजना

|

धनगढी : बिनाकारण चिकित्सकमाथि आक्रमण गरिएको भन्दै डडेल्धुरा अस्पतालका चिकित्सक जिल्ला छोडेर धनगढी आएका छन्। आफूहरूलाई आक्रमण गर्नेहरूमाथि कारबाही नभएको भन्दै उनीहरू धनगढी पुगेका हुन्।

कार्यक्षेत्र छोडेर धनगढीमा आइपुगेका चिकित्सकहरूले आइतबार पत्रकारसँग भेटघाट गर्दै जिल्लामा काम गर्ने वातावरण नभएको गुनासो गरे। ४ दिन बितिसक्दा पनि चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई कारबाही नभएको भन्दै उनीहरू आक्रोशित बनेका हुन्।

असार २५ गते मृतक शव पोस्टमार्टमको विषयलाई लिएर चिकित्सामाथि आक्रमण भएको थियो। अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकको आरोप छ।

आक्रमण गर्नेलाई कारबाही नहुन्जेल नियमित काममा नफर्कने पोस्टमार्टम संलग्न डाक्टर दिनेश उपाध्यायले बताए। ‘मैले लुकेर ज्यान बचाए ’ पत्रकार भेटघाटमा उनले भने, ‘यसरी लुकेर कहिले सम्म ज्यान बचाउने। ’

आफूहरूमाथि आक्रमण गर्नेहरूलाई कारबाहीको माग गर्दा पनि सुनुवाइ नभएको उनीहरूको गुनासो छ। दोषीलाई कारबाही नहुन्जेल नियमित काममा नफर्कने चिकित्सकहरूले अडान लिएका छन्। नेपाल चिकित्सक संघ सुदूरपश्चिम संयोजक प्रमोद जोशीले कार्यकक्षमै चिकित्सकमाथि आक्रमण हुँदा पनि स्थानीय प्रशासनले कारबाही गर्न नसक्नु दुःखद् रहेको बताए। 'पटकपटक यसरी आक्रमण हुँदा पनि कारबाही नहुनु विडम्बना हो' उनले भने, 'अब २४ घण्टा भित्र कारबाही नभए हामी थप आन्दोलन सशक्त बनाउँछौँ।'

मुख्यमन्त्रीको आश्वासन

धनगढी पुगेका चिकित्सकहरूसँग मुख्यमन्त्री त्रिलोचन भट्टले दोषीलाई कारबाही गर्ने बताएका छन्। आइतबार नै नेपाल चिकित्सक संघ प्रदेश अध्यक्ष डा. जोशीको नेतृत्वको टोलीले चिकित्सकको सुरक्षाको प्रत्याभूत गराउन भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका थिए।

ज्ञापनपत्र बुझ्दै मुख्य मन्त्री भट्टले दोषीलाई कारबाही गर्ने आश्वासन दिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बताए। ‘उहाँहरूले सुरक्षाको कारण जिल्ला छोड्नु परेको गुनासो गर्नुभयो’ ओलीले भने, ‘मुख्यमन्त्री ज्यूले त्यसको समाधान गर्ने आश्वासन दिनु भएको छ।’

मुख्यमन्त्रीले दोषीलाई कारबाही गर्ने र सुरक्षाको व्यवस्था मिलाउने बताए पनि डाक्टरहरू कार्यक्षेत्रमा फर्कने बताएको ओलीले जानकारी दिए। मुख्यमन्त्रीको आश्वासनपछि आफूहरू जिल्ला फर्कने तय भएको डा. नवराज जोशीले बताए। ‘मुख्यमन्त्री ज्यूले माग सम्बोधन गर्नुभयो। हामी भोलीनै डडेल्धुरा फर्कन्छौँ’ उनले भने।

उपक्षेत्रीय अस्पतालमा मेडिकल सुरपरिटेण्डेण्ट जितेन्द्र कँडेलबाहेक अन्य चिकित्सकहरू अस्पताल छोडेर धनगढी आउँदा सेवा प्रभावित भएको छ। अस्पतालमा उपचार सेवा बन्द हुँदा बिरामीहरूलाई सास्ती भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.