|

पर्सा : चार दिनदेखि लगातार परेको पानीका कारण आएको बाढीमा बेपत्ता भएका किशोरको शव फेला परेको छ। नजिकैको सरइस्वा खोलामा आएको बाडी हेर्न भनी शनिबार निवासबाट निस्किएका किशोरको शव आइतबार फेला परेको हो।

मृतकको शव वीरगन्ज महानगरपालिका-२४ रामगढवामा फेला परेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र मल्लले बताए। मृतक वीरगन्ज महानगरपालिका-१८ भवानीपुर घर भई हाल वीरगन्ज महानगरपालिका-१३ तेजारथ टोलमा बस्दै आएका १४ वर्षीय अनुज पटेल रहेको प्रहरीले जनाएको छ। बाढीले बगाएर बेपत्ता भएपछि उनलाई शनिबारबाट नै खोजी कार्य भइरहेको थियो। तर, पानीको सतह कम भएपछि बल्ल आइतबार वीरगन्ज २४ रामगढवामा उनको शव फेला परेको प्रहरी निरीक्षक मल्लले बताए।

घटनास्थलभन्दा ३० मिटर पश्चिमतर्फ रामगढवामा पानीभित्र दबिएको अवस्थामा उनको शव फेला परेको उनको भनाइ छ। शवलाई पोष्टमार्टमको लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

अनुजसहित चालु मौसमको पानीका कारण पर्सामा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। योभन्दा पहिले वीरगन्ज महानगरपालिका-२२ जगरनाथपुरका ६ वर्षीय रोशन साह तुराह र पर्सागढी नगरपालिका-१ का १० वर्षीय निखिल पटेलको पनि मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.