|

सुनसरी : मुख्यमन्त्री कप प्रदेश लिगको उपाधीका लागि मोरङ र झापा भिड्ने भएका छन्। फाइनल प्रतिष्पर्धामा मंगलबार मोरङको बेलबारी फुटबल क्लब र झापाको सैनिक युथ क्लबबीच भिडन्त हुने पक्का भएको हो।

धरानमा जारी लिगको फाइनल चरणको खेलमा मोरङ समूह 'क' को विजेता हुँदै फाइनलमा प्रवेश गरेको हो भने झापा समूह 'ख' को विजेता हुँदै फाइनलमा प्रवेश गरेको हो। मोरङले पहिलो खेलमा धनकुटालाई ६–१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा सुनसरीको धरान फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै ६ अंकका साथ समूह विजेता भएको थियो।

आइतबार बेलबारीले धरानलाई २–१ ले पराजित गर्दा बेलबारीका मौसम लिम्बूले खेलको ४४ औँ मिनेटमा गोल गरे भने दोस्रो गोल ९१ औँ मिनेटमा एनस मगरले गरेका थिए। खेलको म्यान अफ द म्याच बेलबारीका सौरभ कार्की घोषित भए। उनले नगद रु ५ हजार र ट्रफी पाए।

आइतबार नै भएको समूह 'ख' को अन्तिम खेलमा झापाको सैनिक युथ क्लबले इलामको रेडहर्ष फुटबल क्लबलाई पराजित गर्दै समूह विजेता भएको छ। सैनिक युथ क्लबका लागि मिलन राईले खेलको १८ मिनेटमा गोल गरे भने अविशेख गुरुङले ३० मिनेटमा गोल गरी अग्रता दोब्बर बनाएका थिए। त्यस्तै रेजिन माझीले सैनिकका लागि गोल गर्दै जित दिलाए।

रेडहर्षका लागि दर्शन गुरुङले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेका थिए। खेलको म्यान अफ द म्याच झापाका अविशेख गुरुङ घोषित भए। उनलाई नगद रु ५ हजारसहित ट्रफी प्रदान गरिएको थियो।

फाइनलको विजेताले ४ केजी चाँदीको रनिङ ट्रफीका साथै ५ लाख नगद पुरस्कार प्राप्त गर्ने छ। उपविजेताले ३ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ। त्यस्तै प्रतियोगिताको विजेताले अन्तरप्रदेश फुटबल प्रतियोगिता खेल्ने र अन्तर प्रदेशको उत्कृष्ट ४ टिमले राष्ट्रिय लिग खेल्ने आयोजकले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.