डोल्पा : शानिबार दिउँसो मुड्केचुला गाउँपालिका-१ मा पर्ने कांशिला खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका ११ मध्ये आइतबार दुईजनाको शब फेला परेको छ।
बाँकी बेपत्ता ९ जनाको खोजी कार्य जारी छ। बेपत्ताको खोजीको क्रममा आइतबार मुड्केचुला १ कांशिला गाउँकी ४० वर्षीया चन्द्रकुमारी सार्कीको शव ३०० मिटर तल घट्टे खोला नजिकै किनारमा फेला परेको हो। सोही ठाउँका ३८ वर्षीया धनराज बोहराको शव भने स्थानीय र नेपाल प्रहरीले शनिबार नै घटनास्थल नजिकै खोला किनारमा फेला पारेका थिए।
सदरमुकाम दुनैवाट प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीको नेतत्वमा प्रहरी नायव उपरीक्षक अवेश विष्टसहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी ५५ जनाको टोली उद्दारमा घटनास्थल पुगेको थियो। शनिबार रातभर र आइतबार दिनभर खोजी गरिए पनि एक महिलाबाहेक अन्य ९ जना बेपत्ताको अझै पत्ता नलागेकाले खोजी कार्य जारी रहेको प्रहरी प्रमुख मुकेशकुमार केशरीले बताए।
बाढीमा परि बेपत्ता हुनेहरूमा वडा नम्बर १ का १२ वर्षीय धनरुप बोहरा, १२ वर्षीया सारिका बोहरा, १२ वर्षीया बृहस्पति बोहरा, ६ वर्षीया यमुना बोहरा, १३ वर्षीया सुना सार्की, २२ वर्षीय पन्चराम सार्की, ६५ वर्षीय कालिबहादुर बोहरा, २३ वर्षीय लवकुमार रोकाय र ७ वर्षीय निर्मल बोहरा रहेका छन् उनीहरूको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक अवदेश विष्टले जानकारी दिए। कालिबहादुर बोहरा सिँचाइ योजनाको १५ लाख रुपैयाँ लिएर गाउँतर्फ जाँदै क्रममा बाढीमा परेर शनिबार बेपत्ता भएको बताइएको छ।
घटनास्थल सदरमुकाम दुनैबाट दुई दिनको पैदल दूरीमा पर्छ। शनिबार आएको बाढीले कांसिला खोला नजिकमा लगाइएका जंगबहादुर बोहरा, रत्नी बोहरा र धर्मराज बोहरा गरेर तीन जनाको घर ३ ओटा र ४ ओटा घट्ट, फलमे पुल १ काठेपुल १ र कांसिला जलविधुत् आयोजनाको पावहाउससमेत बगाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।