|

मनाङ :  मनाङको हुम्डे र ङावल जोड्न बनाएको (स्टील गर्डर ब्रिज) फलामे पुल  मर्स्याङ्दी नदीमा खसेको छ। मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डे र वडा नम्बर–३ ङावल जोड्न मर्स्याङ्दी नदीमाथि मोटर हिँड्न मिल्ने पुल बनाउँदै गर्दा खसेको मनाङ ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाबहादुर गोदारले बताए।

उनका अनुसार पुलको स्टील जोड्न नदीमै राखिएको टेको अघिल्लो बुधबार बाढीले बगाएपछि पुल खसेको हो। उनले भने–‘पुल बनाउँदै गर्दा नदीको छेउछाउ टेको लगाएको थियो। त्यही टेकोको जगलाई बाढीले बगाएपछि पुल खसेको रहेछ।’ पुलको स्टील जोड्नेकार्य अन्तिम चरणमा पुग्दै गर्दा बाढीले टेको बगाएपछि निर्माणाधिन पुल नै मर्स्याङ्दीमा खसेको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए। उनका अनुसार बुधबार दिउँसो पुल खसेको हो। यसअघि पुल खस्नै लाग्दा निर्माण कम्पनीलाई स्टीलहरु झिकेर राख्न निर्देशन दिएपनि समयमा काम हुन नसक्दा अहिलेको बाढीले टेको बगाएको र नदीमा पुल खसेको देवकोटाको भनाइ छ।

पूर्वाधार विकास कार्यालय लमजुङका सिनियर डिभिजन इन्जिनियर राम पराजुलीका अनुुसार साविकको जिल्ला विकास समिति मनाङले अघि सारेको योजना तत्कालीन प्राविधिक कार्यालयले हेरेको थियो। प्राविधिक कार्यालय हटेको र अहिले पूर्वाधार विकास कार्यालय मनाङमा नरहेकाले लमजुङबाटै हेरिरहेको छ। उनका अनुसार ग्याल्वा–क्याराभान जेभी काठमाडौंसँग सन् २०१६ जुलाई १४ (२०७३ असार ३० गते) मा ४ करोड ५१ लाख ४ सय ७२ रुपियाँमा सम्झौता भएर काम सुरु गरिएको थियो। पुलको निर्माणकार्य २०७५ मंसिर १५ मा सक्नुपर्ने थियो। उक्त पुलको लम्बाई ३५ मिटर र चौडाई साँढे ४ मिटरको छ।

जिल्ला समन्वय समिति मनाङले २०७५ चैत १९ गते पूर्वाधार कार्यालयलाई उक्त पुलको फाइल हस्तान्तरण गरेको थियो। नदीमा पानीका बहाव बढ्दै जाँदा टेकोको जगलाई खोल्दै लगेको र पुल बगाएको पराजुलीको भनाइ छ। पुलको स्टील पार्टहरु बांगिएको र तल खसेको छ। 

कम्पनी क्याराभान कन्ट्रक्सनका प्रोजेक्ट  म्यानेजर रामकृष्ण कोन्डाका अनुसार स्टील गर्डर ब्रिजको स्टील जडानकार्य अन्तिम चरणमा पुगेको बेला मस्र्याङदीमा खसेको हो। पुलको ४ वटा मेम्बर राख्न बाँकी थियो। उक्त मेम्बर राखिसकेपछि पुल कसेर ढलान गर्ने तयारी गरिएको थियो। 

मेम्बर पुरा राख्न नपाउँदै पुललाई राखिएको टेकोको बेस खोतलेर लगेपछि पुल खसेको उनको भनाइ छ। पुलका सवै पार्ट खसेको र बांगिएकाले उक्त मेम्बरहरु काम नलाग्ने भएको उक्त टील करीब १ करोड मुल्य बराबरको रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.