|

विराटनगर : संघीय समाजवादी फोरम प्रदेश १ संसदीय दलका नेता जयराम यादवले भारतले सीमा क्षेत्रमा सडक निर्माण गरेका कारण नेपालको भूभाग डुबान भएको बताए।

प्रदेशसभाको सोमबार बसेको बैठकमा बोल्दै नेता यादवले यस्तो बताएका हुन्। उनले झापा, मोरङ सुनसरीका सीमा क्षेत्रमा भारतले बनाएको सडकको कारण नेपालतर्फ डुबान भएको भन्दै त्यसतर्फ प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए। 

सांसद लोकप्रसाद संग्रौलाले २ महिना अगाडि गरिएको सडकको पिच पानीका कारण उप्किएको बताए। उनले २ महिनामै उप्किने गरी सडक पिच गर्ने ठेकेदारलाई कारबाही गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए।

मोरङको गछिया पुल, बुढी पुलमा गएर कालोपत्रे गरेको सडक हेर्न अनुरोध गर्दै उनले राष्ट्रिय सम्पत्तिमाथि खेलवाड गर्नेलाई कारबाही गर्नुपर्ने बताए। सांसदहरू अम्बिका थापा, उषाकला राई, नारायणबहादुर मगर, सूयर्माराज राईलगायतले पनि अत्याधिक वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण पीडित बनेकाको उचित पुनःस्थापनाको माग गरेका थिए।

सांसद सूर्यमाराज राईले माननिर्मित विपत्ति आएको भन्दै खोला उत्खनन् तथा जथाभावी विकास निर्माणको काम गर्ने क्रम रोक्नेतर्फ प्रदेश सरकार लाग्नुपर्ने बताए। 
प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत सेवा आयोगमा भएको आन्दोलनको विरोध गरे।

सत्तापक्षकै विद्यार्थी नेताहरू लगाएर परीक्षा रोक्न खोजिएको भन्दै उनले प्रधानमन्त्रीको पत्रलाई अस्वीकार गरिएको, नीति नियम र विनियमको पालना नगरिएको भन्दै विरोध गरे। प्रदेशसभाको सोमबारको बैठकमा आन्तरिक मामिला मन्त्रालयको तर्फबाट मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश स्वायत्त संस्था गठन गर्ने सम्बन्धमा बनेको विधेयक २०७६ पेश गरेको छ।

प्रदेश सरकारले कतिपय अवस्थामा कृषि, वन, पर्यटन, उर्जा, सञ्चारलगायतका विषयमा छुट्टै प्राधिकरण वा संस्था गठन गर्नका लागि सो कानुन ल्याउन लागिएको मन्त्री कार्कीले जानकारी दिए। 

सोमबरकै बैठकमा आइतबार पेश भएको जाँचबुझ तथा अनुसन्धान आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि सैद्धान्तिक छलफल सकिएको छ। उक्त विधेयकमाथि आवश्यक संशोधनका लागि ७२ घण्टाको समय दिँदै प्रदेशसभाको बैठक साउन ५ गतेसम्मका लागि स्थगित भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.