|

विराटनगर : युवालाई सक्षम, सबल, जिम्मेवार, चरित्रवान बनाउने उद्देश्यले प्रदेश १ सरकारले असार ३१ गते 'म अघि बढ्छु' कार्यक्रम शुभारम्भ गर्ने भएको छ। 
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी प्रदेशभरीका २ हजार विद्यालमा सगरमाथा टिन्स क्लब गठन गर्ने उद्देश्यले म अघि बढ्छु कार्यक्रमको सुरुवात गर्न लागेको हो। 

साेमबारका किशोर–किशोरी देशका कर्णधार, यिनीहरूको सक्षमता नै समुन्नतिको आधार भन्ने मूल नाराका साथ सुरु भएको कार्यक्रममा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने १३ देखि १९ वर्ष उमेर समूहका विद्यार्थीलाई समेटेर कार्यक्रम सञ्चालन गरिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजालले जानकारी दिए।

पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले कार्यक्रमबाट प्रदेश १ का करिब २ हजार विद्यालयका २ लाख विद्यार्थी लाभान्वित हुने दाबी गरे। कार्यक्रमले किशोर किशोरीलाई कुलत र दुर्व्यसनमुक्त बनाई सकारात्मक र सिर्जनशील बनाउने, असल व्यवहार सिकाउने मन्त्रालयको दावी छ।

प्रदेश सरकारले हालसम्म सामुदायिक तथा संस्थागत गरी १४० भन्दा बढी विद्यालयमा क्लब गठन गरिसकेको छ। मन्त्रालयले चालू आर्थिक वर्षमा यो कार्यक्रमका लागि २ करोड ५० लाख बजेट विनियोजन गरेको थियो भने आगामी आर्थिक वर्षका लागि ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। 

कार्यक्रम अनुसार प्रदेशका सबै विद्यालयमा हप्ताको १ दिन १ पिरियड नैतिक शिक्षासम्बन्धी कक्षा सञ्चालन हुनेछ भने प्रदेश सरकारले प्रतिविद्यालयलाई वार्षिक ५ हजार रुपैयाँको दरले सिड मनि दिनेछ। यो कार्यक्रम सफलतापूर्वक सञ्चालन भए प्रदेशमा हिंसा, हत्या र आतंकका घटनामा धेरै कम आउने मन्त्रालयको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.