|

काठमाडौं :  बाढी, पहिरो र डुबानका कारण देशका धेरै ठाउँको जनजीवन अस्तव्यस्त भएको छ। मंगलबारसम्म ६७ जनाको मृत्यु भइसकेको छ। डुबानका कारण प्रदेश २ का धेरै जिल्लाका बासिन्दा प्रभावित भइरहेका छन्।  जसले गर्दा  बस्नेठाउँ, खानेकुरा र पिउने पानीको पनि समस्या भएको बताइएको छ।

लामो समयको वर्षात र त्यसपछिको क्षतिले गर्दा मानिसको दैनिक जीवन सञ्चालनमा जोखिम हुनुका साथै विभिन्न खालका जोखिम बढ्ने चिमित्सकहरूले बताएका छन्। यस्तो बेलामा पानीजन्य संक्रमण हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.  शेर बहादुर पुनको भनाइ। यस्तो बेलामा कसरी बच्ने त ? यस्तो छ डा पुनको सल्लाह :-

यस्ता स्वास्थ्य समस्या देखिने जोखिम हुन्छ बाढी प्रभावित क्षेत्रमा

बाढी पहिरोबाट विस्थापित भएकाहरूको सामूहिक बसाइँ हुने भएकाले खाना, शुद्ध पिउने पानी, उचित शौचजस्ता अत्यावश्यक कुरामा तत्कालीन रुपमा समस्या पर्छ।यस्तै, लामखुट्टे, मुसा र सर्पका कारण पनि रोगको जोखिम बढ्ने गर्छ।

त्यसैले प्रकृतिक प्रकोपपछि विभिन्न रोगले महामारीकै रुप लिने गर्छ। त्यस्तो बेला विशेष सावधानी अपनाउनुपर्छ। खासगरी हेपटाइटिस् 'इ' र 'ए' को जोखिम हुन्छ भने झाडापखला, हैजा ज्वरो तथा टाइफाइट र ल्याप्रोसिस्को (छालाको एलर्जी) समस्या बढ्ने जोखिम तत्कालीनरूपमा देखिने हुन्छ। केही समयपछि मलेरिया, स्क्रब टाइफस, डेंगु, कालजार, चिकनगुनियाँ जस्ता किटजन्य संक्रमण देखिने जोखिम हुन्छ।

कसरी बच्ने त?

पानी उमालेर खाऔँ  : वर्षाको समयमा पानी धेरै दूषित हुने गर्दछ। बाढी र पहिरोले गर्दा पानीको  मुहानहरू फोहोर हुन्छन्। जसले पानी दूषित भई झाडापखाला, आउँ जस्ता पानी जन्य संक्रमण हुने गर्दछ।

त्यसैले यस्तो बेलामा सकेसम्म उमालेको पानी मात्रै खानुपर्छ। यो सम्भव नभएमा पियुष वा पानी शुद्धीकरण गरेर खानुपर्छ। अशुद्ध पानीका कारण धेरै फैलिने रोग झाडापखाला हो। हेपाटाइटिइटिस 'ए' र 'इ' को जोखिम पनि बढ्न सक्छ। ज्वरो आउने, बान्ता हुने, खान मन नलाग्ने आदि हेपाटाइटिस 'ए' र 'ई' का लक्षण हुन्। यो कहिलेकाहीँ जन्डिसकै तहसम्म पनि पुग्न सक्छ।

फोहोर पानीमा धेरै नजाऔँ : बाढीबाट आएको पानी धेरै फोहोर हुन्छ। यस्तो पानीमा भिज्दा छालाको एलर्जी हुनुका साथै छालासम्बन्धी अन्य संक्रमणसमेत हुन्छ। त्यसैले अत्यावश्यक कामबाहेक पानीमा जानुहुँदैन। जानै परेमा शरीर ढाक्ने लुगा लगाएर जानुपर्छ।

झुल टाँगेर सुतौँ :  बाढी र डुबानपछि लामखुट्टेको जोखिम पनि बढ्छ। खाल्टाखुल्टीमा पानी जम्ने भएकाले डेँगु, कालजार, मलेरिया, चिकनगुनियाँ जस्ता रोग लाग्ने गर्छ। त्यसैले झुल टाँगेर सुत्नुपर्छ।

यस्तै बाढीका कारण मुसाहरू मर्छन्। मरेको मुसामा रहेको ब्याक्टेरियाका कारण लेप्टोस्पाइरोसिस भन्ने रोग लाग्छ। मुसा मरेपछि यी ब्याक्टेरिया पानीमा मिसिन्छिन् र घाउ वा अन्य माध्यमबाट मानव शरीरमा प्रवेश गरेर लेप्टोस्पाइरोसिस रोग लाग्नसक्छ।

यस्तै डुबान भएको ठाउँमा सर्पहरूको पनि विगविगी हुन्छ। जसका कारण सर्पदंशको जोखिम पनि बढ्न सक्छ। यस्तो जोखिमबाट सावधानी अपनाउनुपर्छ। जसको लागि सर्प हुने सम्भावित ठाउँतिर जानुहुँदैन। आफू बस्ने ठाउँ वरिपरि सरसफाइ गर्नुपर्छ।

बासी र काँचो खानेकुरा नखाऔं :  बाढी र डुवानपछि उत्पन्न परिस्थितिमा खानाको ठूलो समस्या हुन्छ। कतिपय ठाउँमा जीवन निर्वाह गर्ने खाना पनि पाउन गाह्रो हुन्छ। त्यसैले कहिलेकाहीँ पेट भर्नका लागि खानेकुराको गुणस्तरसमेत ख्याल हुँदैन।

तर, यस्तै बेलामा स्वच्छ र स्वस्थ खानेकुरा खानुपर्छ। काँचो खानेकुरा खानुहुँदैन। राम्रोसँग पकाएको खानेकुरा मात्र खानुपर्छ। अस्वस्थकर खाने कुराले फुड पोइजनिङ हुने भएकाले खानेकुरामा विशेष ध्यान पुर्‍याउनुपर्छ। खुला ठाउँमा दिसा गर्नुहुँदैन। टाउको दुख्ने, पेट दुख्ने, वान्ता हुने लगायतका विभिन्न रोगको लक्षण देखिए वा संक्रमण देखिए तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा जानु राम्रो हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.