इलाम : इलाम जिल्लाका ऐतिहासिक विषयवस्तुलाई समेटेर तयार गरिएको इलाम हाम्रो गौरव गीतको भिडियो सार्वजनिक भएको छ। इलाम सदरमुकाम स्थापनाको दुई सय वर्ष पुगेको अवसरमा इलाम नगरपालिका साहित्य, कला, संगीत प्रतिष्ठानद्वारा निर्मित उक्त गीतको भिडियो आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।
प्राज्ञ तथा गीतकार कोमल निरौलाको शब्द, गायक तथा संगीतकार डेनी निरौलाको संगीत रहेको उक्त गीतको एरेन्ज कुमार थापाले गरेका छन्। गीतमा डेनी निरौला, झुमा निरौला, जुना प्रसाईं, सर्मीला आचार्य, टीका प्रसाईं, कमल श्रेष्ठ र कृष्ण भट्टराई लगायतका कलाकारको स्वर रहेको छ। गीतकार कोमल निरौलाले गीतको शब्दमा इलामका ऐतिहासिक क्षेत्र समेटने कोसिस गरिएको बताए। रचनाकार निरौलाले गीतको एकपटक सुन्दा इलाम सदरमुकाममा बढी केन्द्रित भए पनि इलामका मुख्य पर्यटकीय क्षेत्रसँग सम्बन्धित रहेको जानकारी दिए।
उनले भने, ‘इलामको दुई सय वर्षको गौरव त छदै छ अझै दुई सय वर्ष यस गीतबाट इलाम बचाउन सकिन्छ भन्ने हो।’ उक्त गीतको म्यूजिक भिडियो शिखर प्रोडक्सन इलामले तयार पारेको छ। भिडियोमा इलामका पर्यटकीय स्थलका विभिन्न दृश्य पत्रकार तथा डकुमेन्ट्री निर्देशक सुजन तिमसिनाले संकलन गरेका थिए। गीतको सम्पादन सन्दीप प्रधानले गरेका छन्। गीतमा स्थानीय कलाकारहरूले अभिनय गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।