दुई जनाविरुद्ध प्रहरीमा किटानी, किटानीसँगै राजनीतिक दबाब

|

डडेल्धुरा : काम गर्न असुरक्षित भएको भन्दै कार्यक्षेत्र छाडेर धनगढी पुगेका डडेल्धुरा अस्पतालका चिकित्सक काममा फर्किएका छन्। सोमबार साँझ जिल्ला सदरमुकाम पुगेका चिकित्सक मंगलबारदेखि नियमित काममा फर्किका हुन्।

अस्पतालमा पोस्टमार्टम गरिरहेका चिकित्सकमाथि हातपात गरिएको भन्दै अस्पतालमा कार्यरत १० जना चिकित्सकले शुक्रबादेखि जिल्ला छाडेका थिए। जिल्ला प्रहरी कार्यालयले चिकित्सकमाथि हातपात गर्नेमध्येका एक व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही प्रक्रियाअघि बढाएसँगै चिकित्सकहरु काम फर्किएका हुन्।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुरक्षा दिने प्रतिबद्धता जनाएपछि चिकित्सक मंगलबारदेखि काम फर्किएको अस्पतालका मेडिकल सुरपरिटेन्डेन्ट डा जितेन्द्र कँडेलले जानकारी दिए।  ‘मुख्यमन्त्रीज्यूले दोषीलाई समाएर कारबाहीको अगाडि बढाउँछौँ र तपाईँको सुरक्षाको हामी दिन्छौँ भनेपछि डाक्टरहरु सोमबार पुनः डडेल्धुरा फर्किसक्नुभएको छ’ मेसु कँडेलले भने, ‘हामीले दिन सक्ने सेवा अहिले दिइरहेका छौँ।’

अस्पतालमा गत असार २५ गते सवारी दुर्घटनामा परी मृत्यु एक व्यक्तिको पोस्टमार्टम गरिरहेका चिकित्सकमाथि मृतकका आफन्तले हातपात गरेका थिए। चिकित्सकमाथि आक्रमण हुँदा ७ महिनादेखि डडेल्धुरा अस्पतालमा कार्यरत डा. दिनेश उपाध्यको घुँडामा चोट लागेर घाइते भएका थिए।

मुख्यमन्त्रीले आश्वासन दिएपछि फर्किएँ

धनगढी पुगेका चिकित्सकले सुरक्षाको माग गर्दै मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई भेटेका थिए। चिकित्सक जिल्ला छाडेर धनगढी गएपछि मुख्यमन्त्री भट्टसँग समस्याको बारेमा आइतबार छलफल भयो। भेटमा मुख्यमन्त्री भट्टले सुरक्षाको प्रतिबद्धता जनाएका थिए।

‘प्रदेश मुख्यमन्त्रीले दोषी सबैलाई कारबाही हुन्छ, अबबाट अस्पतालमा यस्ता किसिमका घटनाहरु हुँदैनन् भन्नुभयो’ मुख्यमन्त्री भट्टसँग भएको छलफलमा सहभागी डा. दिनेश उपाध्यले भने, ‘जानुस्, तपाईँहरू सुरक्षित माहोलका काम गर्नु सक्नुहुन्छ भनेर पूर्ण आश्वासन दिएर पठाउनुभयो। उहाँको आवश्वासनपछि आजदेखि हामी सबै काममा फर्किएका हौँ।’

दुई जनाविरुद्ध प्रहरीमा किटानी

अस्पतालका मेडिकल सुरपरिटेन्डेन्ट डा जितेन्द्र कँडेलका अनुसार चिकित्सकमाथि आक्रमणमा संलग्न दुईजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी दार्ता गरिएको छ।

मेसु कँडेलले भने, ‘हामीले दुईजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दार्ता गराइसकेका छौँ।’ उनीहरूको नाम भने गोप्य राखिएको छ।

किटानीसँगै राजनीतिक दबाब

प्रहरीमा दुई जनाविरुद्ध किटानी जाहेरी दार्ता गराएसँगै राजनीतिक दबाब दिन सुरु भएको मेसु कँडेलले बताए। ‘हामीले प्रहरी कार्यालयमा किटानी जाहेरी दार्ता गराइसकेका छौँ तर त्यो किटानीलाई लिएर राजनीतिक दबाब सिर्जना हुन सुरु भइसकेको छ।’ उनले भने,‘यहीँ माहोल रहने हो भने ‘प्रेसर’मा काम गर्न सकिने परिस्थिती रहँदैन।’

मंलबारदेखि सेवा सुचारु हुन नपाउँदै फेरि अर्को राजनीतिक दबाब सुरु भएको उल्लेख गर्दै उनले दबाद सहन नसकेपछि आ–आफ्नो जिम्मेवारी छोड्न सक्ने परिस्थिती पनि आउन सक्ने बताए।

अस्पताल राम्रोसँग चलोस् भन्ने हो भने कसैप्रति पूर्वाग्रही नहुन उनले सबैमा आग्रह समेत गरे। ‘किटानी दिँदैमा दिएको मान्छे दोषीभन्दा पनि छानबिनको दायरमा आउने हो।’ उनले भने,‘जो दोषी हो उसले सजाय पाउला, उ कारबाहीको दायरमा आउला। कैहिँकतैबाट दबाब नदिन सबैमा म अनुरोध गर्दछु।’

अस्पतालमा सुरक्षाकर्मी परिचालित

सुरक्षाको लागि अस्पतालमा सुरक्षाकर्मी परिचालित गरिएको छ। अस्पताल र चिकित्सक माथि एकपछि अर्को आक्रमण हुन थालेपछि प्रशासनले सुरक्षाकर्मी परिचालन गरहेको हो।

१५/२० जनाको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए।

कुनै समस्या परे आफूलाई भन्न पनि मेसुलाई भनेको उनको भनाइ छ। राजनीतिक दबाद आएको बारेमा आफूलाई केही जानकारी नभएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.