|

अर्घाखाँची : अर्घाखाँचीको सितगंगा नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। असार १० गते पाँचौं नगरसभामा सर्वसम्मत रुपमा पारित भएको नीति तथा कार्यक्रम अनुसार नगरपालिकाले औपचारिक रूपमा बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको हो।

नगरसभाले नेपाल सरकारको समानीकरण अनुदान र सशर्त अनुदान ४० करोड, संघीय सरकारको राजस्व वाँडफाड १४ करोड, सामाजिक सुरक्षाभत्ता संघबाट प्राप्त हुने रकम ९ करोड, आन्तरिक आय २ करोड ८८ लाख १० हजार, अघिल्लो वर्षको बचत ३ करोड ५० लाख र प्रदेशबाट समानीकरण अनुदान र राजस्व वाँडफाडको १ करोड ७० लाख गरि जम्मा ७८ करोड ३० लाख ८१ हजार विनियोजित रकम नगर उपप्रमुख टीका रेश्मीले प्रस्तुत गरेका थिए।

जसमा चालुखर्च ४६ करोड ९८ लाख र पूँजीगत खर्च ३१ करोड ३२ लाख ८१ हजार रहेको छ। वडा स्तरबाट आएका योजनामा १३ करोड रकम विनियोजन गरिएको छ।

यो आवको पाचौं नगरसभाले नगरपालिकाको भवन निर्माण, पाँच ओटा वडा कार्यालय भवन निर्माण, पर्यटन तथा उत्पादनको आधारमा कृषि अनुदान र नगर भित्रका मुख्य ४ ओटा सडकहरूलाई शहीदहरूको नाममा नामकरण गरि प्राथमिकतामा राखिएको नगर प्रमुख सूर्य प्रसाद अधिकारीले बताए।

दुईवटा गाँउपालिका बन्ने क्षेत्रफल भएको क्षेत्रलाई एउटै सीतगंगा नगरपालिका बनाउँदा विकासले फड्को मार्न नसकेको नगरसभाले ठहर गरेको छ।

'आफैँमा भूगोलले ठगेको सितगंगा नगरपालिका ७ सय ५० वर्गकिलोमिटरमा फैलिएको नगरपालिका हो। एक सय वर्गकिलो मिटर क्षेत्रफलमा फैलिएको अन्य पालिकाको दाँजोमा वितरण गरि पठाएको अनुदानको रकमले सोचे जस्तो विकाश गर्न सकिएन' अधिकारीले भने 'नगरभित्रका झिनो मसिनो बजेट स-साना वडास्तरका योजनामा वाँडफाड गर्दामै सकिन्छ। नगरका ठूला योजनालाई बजेटले संबोधन गर्न सकिएन्।'

जसका कारण अहिलेसम्म देखिने गरि विकासका काम गर्न नसकिएको उनको भनाइ छ। उनीले क्षेत्रफलको आधारमा संघ र प्रदेशले बजेट वितरण गर्नुपर्ने भन्दै पटकपटक माग गरे पनि सुनुवाइ नभएको  गुनासो गरे। नगरपालिका भित्रका विक्रम पावरा-सिद्धारा-सिलिङखोला-सातमारा जोडिने सडकको नाम शहीद कृष्णसेन ईच्छुक सडकमार्ग नाम राखिएको उनले बताए।

त्यसैगरि, सितापुर-सुवर्णखाल जोड्ने सडकलाई यज्ञमिन लिला शहीद स्मृति सडकमार्ग, खयरभट्टी-फोर्सल-हर्रे सडकलाई तारातेज शहीद स्मृति सडकमार्ग, विक्रम गन्दी-सुवर्णखाल-सितापुर जोड्ने सडकलाई डिबी थापा शहीद स्मृति सडकमार्ग र अमराई-जुकेना-ऐरावती जोड्ने सडकलाई पतन्जलि सडकमार्ग नामकरण गरि गौरवका योजना अगाडि सारिएको नगरप्रमुख अधिकारीले बताए।

५ गुणा अन्य साना पालिकाहरूको दाँजोमा राखेर नेपालकै सबैभन्दा ठूलो सितगंगा नगरपालीकामा वितरण गरि पठाएको बजेट अन्यायपूर्ण भएको सिंगो नगरसभाले ठहर गरेको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले बताए।

झिनो रकमले केही गर्न नसकिने भन्दै अधिकृत भण्डारीले क्षेत्रफलकै आधारमा रकम वितरण गर्नुपर्ने नगरसभाको ठूलो माग रहेको उनले बताए। यो वर्ष नगरको आर्थिक क्षमताभन्दा बाहिर रहेका नगरभित्रका ठूला सडक निर्माण, खानेपानी योजना, सिँचाइ योजना, एकीकृत वस्ती बिकाशका योजनालाई संघ र प्रदेशमा पठाउन तय गरिएको उनले बताए।

नीति तथा कार्यक्रममा नगर स्तरीय बहुवर्षीय ठूला पुर्वाधार सडक, नगर स्तरीय मझौला पुर्वाधार सडक, नगर स्तरीय साना पूर्वाधार सडक प्राथमिकतामा राखिएको छ भने सिँचाईलाई पनि विशेष जोड दिइएको छ।

सितगंगा नगरपालिकाको  क्षेत्रभित्र कम्तीमा ५० प्रतिशत नगरबासीलाई रोजगारी प्रदान गर्ने गरि तारे होटल, रिसोर्ट, होमस्टे, भ्युटावर निर्माण गर्ने निजी लगानीकर्ताहरूलाई ५ वर्षको व्यवसाय कर छुट दिईनुका साथै पहुँच मार्ग, विद्युत्, खानेपानीको व्यवस्थापन नगरपालिकाबाट गरिने नीति अगाडि सारेको छ। सितगंगा स्थायी ठेगाना भएका अपांग दलित र शहीद परिवारका ११ र १२ कक्षा अध्ययन गर्ने विद्यार्थीलाई भर्ना र मासिक शुल्क पूरै मिनाहा गर्ने नीति ल्याएको छ।

यो वर्षको बजेटले पनि पुरानै योजनालाई निरन्तरता दिएको छ स्थानीयको आरोप छ। बजेट स-साना खुद्रा योजनामा गएपछि ठूला योजनाले प्राथमिकता पाउन नसकेको स्थानीयले गुनासो गरेका छन्।

पाचौं नगरसभाले नगर शिक्षा ऐन २०७६ पनि पारित गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.