|

काठमाडौं : करिब १० वर्षपछि सरकारले लक्ष अनुसारको राजस्व उठाउन असफल हुने देखिएको छ। आर्थिक वर्ष २०६६/६७ पछि सरकारले लक्षभन्दा बढी राजस्व उठाउन सफल भएकोमा चालु आर्थिक वर्षमा लक्ष पूरा हुन नसक्ने देखिएको हो।

मंगलबार राजस्व उठाउने समय केही घण्टा मात्रै बाँकी रहँदा ८६.२३ प्रतिशत मात्रैको राजस्व उठेको सरकारी आयव्ययको विवरण राख्ने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार हालसम्म सात खर्ब १६ अर्ब ८८ करोड २० लाख रुपैयाँको विभाज्य कोष बाहेकको राजस्व उठेको छ। जसमा कर राजस्व बापतको ६ खर्ब ३२ अर्ब १५ करोड ५५ लाख रुपैयाँ र गैर करवापतको ८४ अर्ब ७२ करोड ६५ लाख रुपैयाँको राजस्व उठेको छ।

हालसम्म उठेको राजस्वमा मंगलबार दिउँसो ४ बजेसम्म मात्रै आठ अर्ब २२ करोड ७१ लाख रुपैयाँको राजस्व उठेको छ। जसमा सात अर्ब ३८ लाख रुपैयाँको राजस्व कर वापतको रहेको छ भने एक अर्ब २२ करोड २४ लाख रुपैयाँको राजस्व गैर करवापतको छ।

सरकारले चालु आर्थिक वर्षमा विभाज्य कोष बाहेक आठ अर्ब ३१ अर्ब रुपैयाँको राजस्व उठाउने लक्ष्य राखेको थियो हालसम्म तुलनामा ९७ अर्ब रुपैयाँ राजस्व रहेको छ।

आर्थिक वर्षको अन्तिम दिन मंगलबार सबै भन्सार कार्यालय तथा बैंकका सबै राजस्व काउन्टर अबेरसम्म खुल्ने भएका छन् । अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले बैंकका सबै राजस्व शाखा तथा काउन्टर पूरै समय खुल्ला गरी नियमित रुपमा राजस्व बुझ्ने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई निर्देशन दिएको छ।

यस्तै, महालेखा नियन्त्रकको कार्यालयले पनि नेपाल राष्ट्र बैंकलाई निर्देशन दिँदै  खर्चका चेकहरु सम्भव भएसम्म मंगलबार नै साट्ने व्यवस्था मिलाउन भनेको छ।

‘चेक क्लियरिङ हुने शाखा तथा काउन्टरहरुमा राति अबेरसम्म कारोबार गर्ने व्यवस्था मिलाउने आदेशानुसार अनुरोध छ,’ महालेखा नियन्त्रक कार्यलयले राष्ट्र बैंकलाई पठाएको पत्रमा उल्लेख छ। यस्तै, आर्थिक वर्षको अन्तिम दिन सबै भन्सार कार्यलय पनि अबेरसम्म खुल्ला रहने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.