|

काठमाडौं : भेइकल ट्रयाकिङ सिस्टम तत्काल लागू नगर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले आग्रह गरेको छ। नयाँ आर्थिक वर्षको शुरुवातसँगै राजश्व अनुसनधान विभागले शुरु गर्न लागेको भेइकल ट्रयाकिङ सिस्टम तत्कालै लागू गर्दा साना व्यवसायीहरू समस्यामा पर्ने भन्दै महासंघले तत्कालै यस्तो लागू नगर्न आग्रह गरेको हो।

देशभित्र मालवस्तुको आन्तरिक ओसारपसारको निगरानी अब अनलाइन प्रणालीबाट गर्ने गरी राजश्व अनुसनधान विभागले उक्त सिष्टम साउन १ देखि लागू गर्ने घोषणा गरिसकेको छ। व्यवसायीहरू यतिबेला धेरैतिबाट समस्यामा परेको बेला पुनः अर्को नीति ल्याएर अपठेरोमा पार्न नहुने मंगलबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘बैंकको ब्याजदर, महँगो घरभाडा, स्थानीय सरकारको विभिन्न शीर्षकका राजश्व लगायतका कारण व्यवसायीहरू त्यसै पनि समस्या छौँ, अर्को महत्वपूर्ण कुरा मुलुक अझै पनि साक्षर हुन सकेको छैन, प्रविधिको प्रयोग भर्खरै बढ्दै गएको अवस्थामा प्रविधिबारे बुझ्न नै नपाई यो लागू हुनुहुँदैन भन्ने हाम्रो माग हो’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

नयाँ प्रविधि भएको र व्यवसायीहरूलाई बुझ्नसमेत केहि समय लाग्ने हुँदा यसलाई एक वर्ष परीक्षणको रुपमा लागू गर्नुपर्ने महासंघका अध्यक्ष नरेश कटुवालले बताए।

सरकारले ल्याएको नीति कार्यान्वयनमा महासंघ प्रतिबद्ध रहेको भन्दै तत्कालै अनिवार्य लागू गर्दा व्यवसायीहरूलाई समस्या हुने भएकाले एक वर्ष परीक्षणको रुपमा सञ्चालन हुनु पर्ने अध्यक्ष कटुवालले बताए।

‘सरकारको नीति हो, हामीले यसलाई नराम्रो भन्न खोजेको कदापी होइनौं’ अध्यक्ष कटुवालले भने, ‘प्रविधिमा हामी धेरे पछाडि छौँ, प्रविधिको पहुँचमा पुग्न अझै समय लाग्छ नै यसकारण पनि अहिले नै यो अनिवार्य लागू गर्नु हुँदैन भन्ने हाम्रो माग हो।’ विभाग लागु गर्न लागेको भेइकल ट्रयाकिङ सिष्टम तत्कालै लागू गर्न साना व्यवसायीहरूलाई रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.