|

काठमाडौं : काठमाडौं विश्वविद्यालय (केयु)को स्कुल अफ एजुकेसनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टिइभिटी) लक्षित स्नातकोत्तर तह कार्यक्रम ल्याएको छ। यो कार्यक्रम दक्षिण एशियामै पहिलो पटक केयुले सुरु गरेको हो। 

देशमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको विकास गर्न प्रत्येक स्थानीय तहमा एक प्राविधिक शिक्षालयको विकास गर्ने लक्ष्य रहेको सरकारले घोषणा गरेको छ। देशका ७० प्रतिशत युवाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्राप्त गर्न सके समाज रूपान्तरणका लागि सघाउ पुग्ने सकारको विश्वास छ। 

सरकारले नेपालका सबै ७५३ स्थानीय तहमा प्राविधिक शिक्षालयहरू खोल्ने योजना राखेको छ। देशभर प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का झण्डै ६०० आङ्गिक तथा सम्बन्धनप्राप्त शैक्षिक संस्थाहरु छन्। सोही सन्दर्भलाई मध्यनजर गर्दै केयुले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको नेतृत्व र अनुसन्धान विकासका लागि आवश्यक जनशक्ति तयार गर्न यो कार्यक्रम सुरु गरेको हो।

‘सरकारले एक गाउँ एक प्राविधिक शिक्षालय’ को अवधारणा ल्याउनासाथ यो कार्यक्रम प्राथमिकताका साथ अघि बढाएका हौँ,’ स्कुल अफ एजुकेसनका डिन तथा प्रा.डा. महेशनाथ पराजुलीले भने, ‘तर यो कार्यक्रमको पूर्व तयारी अगाडिबाटै भएको थियो।’ उनका अनुसार सरकारले प्राथमिकताका साथ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमलाई अघि बढाएपछि विश्वविद्यालयले पनि आफ्नो दायित्वका रूपमा यो कार्यक्रम सुरु गरेको हो।

नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि आवश्यक नेतृत्वदायी क्षमता भएका जनशक्ति तयार गर्न केयुको यो कार्यक्रम कोसेढुङ्गा सावित हुने प्रा.डा. टङ्कनाथ शर्माले बताए। उनले भने, ‘नयाँ शैक्षिक कार्यक्रम भएकाले यो विषय अध्ययन गर्नेहरुले छिट्टै रोजगारीको अवसर पाउने अवस्था रहेको छ।’

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमका विज्ञ डा. उषा भण्डारीका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालीममा स्नातकोत्तर तहको कार्यक्रमले यस क्षेत्रका लागि आवश्यक योजनाकार, व्यवस्थापक तथा अन्य विशेषज्ञ तयार गर्दछ। उनले भने, ‘पढ्ने मात्र नभई गरिखान सिकाउने शिक्षाको विषयलाई सम्बोधन गर्न छुट्टै शैक्षिक कार्यक्रम आवश्यक थियो जुन केयूले ल्याएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.