|

काठमाडौं : गत शुक्रबारदेखिको अविरल बर्षापछि डुबानमा परेका प्रदेश २ का जिल्ला अझै डुबानमा छन्। डुबानबाट सबैभन्दा बढी रौतहट जिल्ला प्रभावित भएको छ । 

डुबानपीडितको पुनःस्थापना र राहतमा सरकारले चासो नदिएको आरोप लागिरहेका बेला बुधबार बिहान संघीय सरकारका चार मन्त्री र नेकपाका एकजना वरिष्ठ नेता बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। 

बाढी रडुबानबाट प्रदेश २ मा ३२ जना भन्दा धेरैले ज्यान गुमाएका थिए। डुबानबाट विस्थापितको संख्या कयौँ हजार छ। तर स्थानीय, प्रदेश र संघीय सरकाले राहत कार्यक्रममा तदारुकता नदिँदा बाढी डुबानपीडितको विचल्ली भएको छ ।

बुधबार नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल हेलिकोप्टरबाट बाढी र डुबानको अवस्था बुझ्न गृहजिल्ला रौतहटसहित प्रदेश २ का अन्य जिल्ला दौडाहामा निस्किए। 

उनीसँगै संघीय सरकारका चार मन्त्री पनि त्यसतर्फ गएका छन्।  हेलिकोप्टर लिएर नेपालसँगै रौतहट र प्रदेश २ मा बाढीको क्षति अनुगमन र निरीक्षणका लागि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालसँगै उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृह मन्त्री रामबहादुर थापा, ऊर्जा तथा सिँचाइ मन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ बुधबार गौर गएका हुन्।

प्रदेश २ मा १३ हजार विस्थापित

लगातारको बर्षाका कारण भएको डुबान र बाढीबाट प्रदेश २ का १३ हजार परिवार विस्थापित भएका छन् । प्रदेश २ प्रहरीका अनुसार प्रदेशका आठ जिल्लामा १३ हजार ४४ परिवार विस्थापित भएका हुन्। सबैभन्दा बढी विस्थापित महोत्तरीबाट भएका छन्।

महोत्तरीमा ५ हजार २ सय र सर्लाहीमा २ हजार १ सय ५ परिवार विस्थापित छन् । सिरहाका १ हजार ८ सय ४३, बाराका १ हजार ३ सय २४, पर्साका १ हजार २, रौतहटका १ हजार, सप्तरीका ३ सय र धनुषाका २ सय ७९ परिवार बाढीका कारण विस्थापित भएका छन् ।

गत शुक्रबारदेखिको वर्षाका कारण शनिबारबाट डुबानमा परेको प्रदेश २ मा पुग्न संघीय सरकारका मन्त्रीहरुलाई ६ दिन लागेको हो। प्रदेश २ मा बाढीबाट ३२ जनाको मृत्यु भएको छ। डुबानबाट रौतहटमा मात्रै ज्यान गुमाउनेको संख्या १० भन्दा धेरै छ। महोत्तरीमा ६ जनाको मृत्यु भएको छ । सिरहा र धनुषामा ५-५ जना, पर्सामा ३, बारामा २ र सर्लाहीमा १ जनाको मृत्यु भएको छ।  

सबै तस्बिरहरु गृहमन्त्रालयको सचिवालय

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.