|

पाँचथर : मुलुकको पूर्वी क्षेत्रमा बसोबास गर्ने लिम्बू समुदायले बुधबार सिसेक्पा तङ्नाम मनाउँदैछन्। दिउँसो बाबियोको डोरीमा नयाँ फलेका अन्न अनाजलाई लस्करै अढ्याई ढोकामाथि झुण्ड्याउनेसँगै तागेरा निङ्वाभुमाङलाई पाकेको बालि अर्पण गरिन्छ।

साँझ पख भने भोकको देउता ‘साक्च्योङ’ लाई पनि भरणपोषण गरेपछि नाङ्लो ठटाउँदै खेदाउने गरिन्छ। कतैकतै खेदाउने क्रममा बन्दुक पनि पट्काउने चलन छ। यसो गरेपछि सहकाल आएको र अनिकाल गएको मान्यता लिम्बू समुदायमा छ।

सिसेक्पा तङ्नाम कार्यविधिका लेखक तथा भाषा, संस्कृति विज्ञ हरिचन्द्र लावती मुन्धुमसँग सम्बन्धित तङ्नामसँग लिम्बू समुदायको कृषि कर्मसहितको जीवनशैली जोडिने गरेको बताउँछन्। तङ्नाममा लुङघाक्चा, याङ्बेन लगायतका लिम्बू परम्परागत खाना खाने गरिन्छ ।

लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङका केन्द्रिय सचिव चन्द्रकुमार आङ्देम्बेले प्रत्येक लिम्बूले घरघरमा परापूर्वकालदेखि नै सिसेक्पा तङ्नाम मनाउँदै आएको बताए। उनका अनुसार पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी लगायत लिम्बू समुदायको बसोबास भएको देश तथा विदेशमा तङ्नाम मनाइन्छ। यो समुदायले सिसेक्पासँगै वलिहाङ, चासोक तङ्नाम र कक्फेवा तङ्नाम मनाउने गर्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.