प्रदेश २ का मुख्यमन्त्रीले मागे हेलिकोप्टर

|

जनकपुरधाम : संघीय सरकारका उपप्रधान मन्त्री उपेन्द्र यादबसहित चार मन्त्रीले प्रदेश २ का बाढी प्रभावित जिल्लाको हवाई निरीक्षण गरेका छन्।

रौतहट, सर्लाही र महोत्तरीको बाढी प्रभावित क्षेत्र निरीक्षणपश्चात जनकपुर विमानस्थल आएका उपप्रधान मन्त्री यादव नेतृत्वको टोलीलाई प्रदेश २ सरकार र स्थानीय प्रशासनले समग्र अवस्थाबारे जानकारी गराएको हो। मुख्यमन्त्री लालबाबु राउतले हेलिकोप्टर मागेका छन्। उनले विपद् व्यवस्थापनका लागि प्रदेशमा कम्तिमा एउटा हेलिकोप्टर आवश्यक भएको बताए।

‘बाढीले सडक संजाल ध्वास्त पारेका कारण राहतका लिएर पीडितसमक्ष पुग्ने अवस्थासमेत छैन’, मुख्यमन्त्री राउतले भने, ‘बाढी आएका बेला उद्धार गर्न पनि हमेहम्मे पर्‍यो। वर्सेनि यस्तै समस्या आउँछ। त्यसैले एउटा हेलिकोप्टर प्रदेशमा हुनुपर्छ।’ हेलिकोप्टरको अभावमा बाढीमा फसेकालाई उद्धार गर्न २ दिनसम्म लागेको उनको भनाई थियो।

मुख्यमन्त्र राउतले तीनै तह सरकारबीच समन्वय नहुँदा विपद्ले बढी क्षति पुर्याएको गुनासोसमेत गरे। ‘संघीय सरकारले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई हेलिकोप्टर पठाउँदा हामीलाई जानकारी नै भएन। सहकार्य हुनुपर्छ कि पर्दैन?’ सहकार्य नभए अगामी दिनमा पनि विपद् आएका बेला क्षति बढी हुन्छ– उनले थपे।

प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले बाढीका कारण पुर्याएको क्षति विवरण मन्त्रीहरूसमक्ष प्रस्तुत गरे। उनले प्रदेश २ का आठ जिल्लामा बाढीका कारण हालसम्म ३२ जनाको मृत्यु भइसकेको र केहि व्यक्ति अझै बेपत्ता रहेको बताए। उनले प्रदेशभरका १३ हजार परिवार विस्थापित भएको र साढे ३ हजार परिवारको घर पूर्ण रुपमा क्षतिग्रस्त बनेको बताए।

विस्थापित भएका विद्यालय र सार्वजनिक स्थानमा बसिररहेको उनले सुनाए। प्रदेश सरकारले १० लाखका दरले जिल्ला विपद् व्यवस्थापन समितिलाई तत्कालै उपलब्ध गराएपछि राहत वितरण कार्य जारी रहेको उनको भनाई थियो।

टोलीमा गृह मन्त्री रामबहादुर थापा, ऊर्जा तथा सिँचाइ मन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, नेकपा बरिष्ट नेता माधव कुमार नेपाल, राजपा नेपालका नेता अनिल झा लगायतका थिए।

क्षतिग्रस्त घर सरकारले बनाउँछ : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बाढीले पूर्ण रुपमा क्षतिग्रस्त बनाएको घर तत्कालै सरकारले बताउने प्रतिबद्धता जनाएका छन्। उनले पूर्ण विवरण संकलन कार्य जारी रहेकाले सरकार तत्कालै निर्णय नगरेको बताए।

‘भारतीय बाँधका कारण मधेसका जिल्ला डुबानमा पर्ने गरेको कुरा पनि आएको छ’, उनले भने, ‘यो विषयमा भारतसँग कुरा भएको छ। तर भारतको बाँध रहे पनि यहाँकै नदीको तटबन्ध मजबुत पारेपछि बाढीले यतिधेरै क्षति पुर्याउदैन।’ उनले बाढीको क्षतिबाट बच्न चुरे संरक्षण र केहि मुख्य नदीमा तटबन्ध मजबुतसँग बनाउनुको विकल्प नभएको उनको भनाई छ।

गृह मन्त्री थापाले विपद्बाट जोगिन पूर्व तयारीमा अगाडी दिनहरुमा विशेष जोड दिनुपर्ने पनि बताए। उनले हेलिकोप्टरको आवश्यक प्रदेशमा रहेको महसुस भएको बताए। उनले भने, ‘प्रदेश २ मा मात्र होइन्, पहाडमा पनि हेलिकप्टर चाहिएको छ। पहाडमा ठाउँठाउँमा सडक अवरुद्ध हुन्छ। तर पुग्ने अवस्था हुँदैन। हेलिकोप्टर भएपछि पुगेर चाँडै अवरुद्ध हटाउन सकिन्छ।’ उनले हेलिकोप्टर विषयमा गम्भीर ध्यानाकर्षण भएको समेत बताए।

चुरे संरक्षण भए मात्र बाढीबाट बच्छौं : उप–प्रधानमन्त्री यादव

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले चुरे संरक्षण भए मात्र बाढीबाट बच्न सकिने बताएका छन्। उनले विभिन्न कारणले भएको चुरे दोहनका कारण बाढीले मधेसलाई तहसनहस पारेको बताए।

‘उता (पहाड)तीर अहिले सुख्खा छ। तर मधेस डुबानमा छ,’ उनले भने, ‘त्यसैले चुरेको संरक्षणमा जोड दिनुपर्छ।’ उनले प्रदेश २ का मुख्य नदीमा दुबैतीरबाट तटबन्ध बनाउन जरुरी भएको पनि बताए। उनले कमचोर तटबन्ध निर्माणका कारण पनि बाढी गाउँ पसेर बढी क्षति पुर्याउने गरेको उनको भनाई छ।

बाढी आएको केहि दिनपछि झाडापखाला जस्ता महामारी फैलिने डर हुने भएकाले प्रदेश २ का ४ ठाउँमा स्वास्थ्य क्याम्प खडा गरिएको जानकारी दिए। उनका अनुसार एउटा क्याम्पसले एक दिनमा १० हजारलाई उपचार गर्दा ३ महिनासम्म चल्छ। पर्याप्त औषधिसमेत क्याम्पमा रहेकाले बाढी पीडितलाई स्वास्थ्य समस्या नहुने उनले विश्वास समेत व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.