१० लाखमा किनियो भारतीय कन्ट्रयाक किलर

|

कास्की : पोखरा महानगरपालिका-१५ कान्तिपुर चोक निवासी २७ वर्षीया लक्ष्मी नेपालीको हत्या उनकै पतिबाट भएको रहस्य खुलेको छ। लक्ष्मीको हत्यामा संलग्न भएको अभियोगमा उनका पतिसहित चारजनालाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो।

पत्नीलाई हत्या गरेर जंगलमा फालेपछि मुख्य हत्यारा प्रहरीमा उजुरी गर्न पुगेको पत्ता लागेको छ। पत्नीको हत्याका मुख्य योजनाकार रमेश नेपालीसहित चारजनालाई प्रहरीले बुधबार पत्रकारसामू सार्वजनिक गरेको हो।

सालीको मायामा परेका रमेशले पत्नीलाई पन्छाउन हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। एक वर्षदेखि साली अनु परियारसँग माया बढ्दै गएपछि यो जघन्य अपराध गरेको खुलेको छ। साली अनुले आफूसँग सम्बन्ध राखिराख्ने भए दिदीलाई पन्छाउनु भनेपछि रमेशले साथीहरुको सहयोगमा भारतीय नागरिक लगाएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए। 

लक्ष्मी गत असार १ गतेदेखि हराइरहेकी थिइन्। रमेशले पत्नीको हत्या गरेपछि जंगलमा फालेर असार २ गते खोजीका लागि भन्दै प्रहरीकहाँ निवेदन दिएका थिए। असार १ गते २७ वर्षीया लक्ष्मी नेपाली कालिका चोकबाट हराएकी थिइन्।  हराएको २५ दिनपछि उनको शव पोखरा महानगरपालिका-२२ स्थित जङ्गलमा फेला परेको थियो ।

पतिमाथि नै शंका

अनुसन्धानका क्रममा रमेशले शंकास्पद गतिविधि गरेपछि प्रहरीले निगरानी बढाएको थियो। शंका लागेपछि प्रहरीले रमेशलाई असार २५ गते नियन्त्रणमा सोधपुछ गर्‍यो।प्रहरीसँगको बयानमा रमेशले लक्ष्मीलाई मारेको स्वीकारे। हत्या स्वीकारेका रमेशले नै प्रहरीलाई घटनास्थल देखाए।उनैले देखाएको ठाउँमा लक्ष्मीको शव (कंकाल) भेटियो। 

सालीसँगको हिमचिम, अनि हत्या 

अनुसन्धानका क्रममा रमेश उनकै साली अनु परियारसँग प्रेम सम्बन्धमा रहेको खुलेको छ।उनीहरुको सम्बन्धबारे लक्ष्मीले थाहा पाएपछि अनुले नै दिदिलाई मार्न भेनाजुलाई प्रस्ताव राखिन्।अनुको कुरा मानेर रमेशले लक्ष्मीको हत्या योजना बनाए। रमेशले आफू र सालीले मात्र लक्ष्मीको हत्या गर्न नसक्ने भएपछि नजिकको साथी सञ्जय शर्मालाई योजना बताए।उनीहरुको सम्बन्धबारे सञ्जयलाई पहिल्यै जानकारी थियो।सञ्जयले रमेशको योजनामा साथ दिए।

१० लाखमा भारतीय किलर 

उनीहरुले हत्या आफ्नो हातबाट नगर्ने निचोड निकाले।त्यसपछि उनीहरुले सर्लाहीको ईश्वरपुर नगरपालिका-३ तीनघरियाका चितनरन्जन साहलाई पनि सामेल गराए।साह पोखराको पृथ्वी चोकमा मोबाइल पसल सञ्चालन गर्छन् ।

साहले नै रमेशलाई पत्नीको हत्या गर्न भारतबाट किलर झिकाउने आश्वासन दिए।उनले १० लाख रुपैयाँ जोरजाम गर्न भने। उनीहरुकै योजना अनुसार गत जेठ ३० गते भारतबाट ३ जना किलर पोखरा आइपुगे।उनीहरुलाई साहले पृथ्वीचोकको कोसी होटलमा खान बस्‍न बन्दोबस्त मिलाएका थिए ।

 होटलमा उनीहरुले कुनै पनि रजिस्ट्रेशन भरेका छैनन्। रमेश र साहको पूर्व सम्झौता अनुसार अग्रिम एक लाख रमेशले साहलाई लक्ष्मीको हत्या गर्ने बैना बुझाए।त्यसको भोलीपल्ट तीन भारतीय, रमेश, सञ्जय र तिरन्जन भएर जंगलमा हत्या गर्ने उपयुक्त ठाउँको खोजीमा निस्के।उनीहरुले ठाउँ पनि पहिचान गरे कर्कलेको जंगल। 

असार १ गते  पोखराको हल्लन चोकबाट ग ११ प ८००३ स्कुटर भाडामा लिए।कार पनि भाडामा लिन नयाँ बजार पुगे।ग १ च २३६३ नम्बरको कार भाडामा लिई कोसी होटेल पुगेको अनुसन्धानमा देखिन्छ।कार सञ्जयले चलाए।  होटलबाट तीनजना भारतीय र चितरन्जन साहलाई हालेर कर्कलेको जंगलमा गए।

यसरी लगे लक्ष्मीलाई 

लक्ष्मीलाई जंगलमा लैजान रमेशले ठुलै नाटक गरे।लक्ष्मीको खुट्टामा लामो समयदेखि एलर्जीले समस्या भएको थियो।त्यही एलर्जी ठीक पार्ने औषधि खोज्न जंगल जाने भनेर फकाए।त्यसपछि कर्कलेको जंगलमा गए।दुवैले केही समय जडीबुटी खोज्ने काम गरे।

जडीबुटी खोजिरहेको बेला योजनाअनुसार जंगल पुगेका भारतीयले मुख र आँखा छोपेर चक्कुले लक्ष्मीको घाँटी रेटेर हत्या गरे।हत्या गरे लगत्तै रमेशले सञ्जयलाई बाटोमा पाँच लाख रुपैयाँ थप दिए।श्रीमतीको शव जंगलमै छोडेर हिँडे। एक लाख बैना, हत्या भएको दिन पाँच लाख र बाँकी ४ लाख केही दिनपछि दिने कुरा भएको अनुसन्धानमा खुलेको छ।

प्रहरीले रमेश, गोरखाको गण्डकी गाउँपालिका-७ घ्याल्चोक निवासी साली अनु, भोजपुरका सञ्जय शर्मा र सर्लाहीका चितरञ्जनलाई नियन्त्रणमा लिएको छ।कास्की प्रहरी प्रमुख एसपी कार्कीले हत्याबारे थप अनुसन्धान जारी रहेको बताए।भारतीय कन्ट्रयाक किलर फरार छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.