ल्यापटप लिने र नलिनेमा सांसद विभाजित

|

धनगढी : सुदूरपश्चिम प्रदेशसभा सचिवालयले प्रदेश सभा सदस्यहरूलाई २७ लाखभन्दा बढी मूल्यको ल्यापटप वितरण गर्ने भएको छ। अब केही दिनभित्रै प्रत्येक प्रदेशसभा सदस्यले ६० हजार रुपैयाँभन्दा बढी मूल्यका ल्यापटप पाउने भएका छन्। मुख्यमन्त्री र मन्त्रीबाहेक सभामुख, उपसभामुख र ४३ जना प्रदेशसभा सदस्यहरूले २७ लाख ७३ हजार आठ सयको ल्यापटप पाउने भएका छन्।

असारभित्रै प्रदेशसभा सदस्यहरूलाई ल्यापटप दिने तयारी भए पनि बुधवार मात्रै प्रदेशसभा सचिवालयमा ल्यापटप पुगेको हो। ‘आज ल्यापटप पुगेको छ’ प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले भने, ‘अब केही दिनमै सबै प्रदेशसभा सदस्यहरूलाई वितरण गर्छौं।’

प्रदेशसभा सचिवालयले ४६ वटा ल्यापटपका लागि वैशाख ३१ गते राष्ट्रिय पत्रिकामा टेन्डर प्रकाशित गरेको  थियो। २७ लाख ८३ हजारको ल्यापटपका लागि धनगढीका तीन व्यवसायीले टेन्डर दायर गरेका  थिए। उग्रतारा टेक्निकल गुड सप्लायर्स, एस कम्प्युटर सप्लायर्स, कम्पोजर ट्रेड लिंक एन्ड जनरल अडर सप्लायर्सले टेन्डर मध्ये उग्रतारा टेक्निकल गुड सप्लार्यको टेन्डर स्वीकृत भएको थियो।

‘न्यूनतम मूल्य ६० हजार पाँच सय आह्वान गरिएकोमा त्योभन्दा कमको दरभाउँ उग्रताराको मात्रै हो’ सचिवालय स्रोतले भन्यो। ६० हजार तीन सयका दरले उग्रतारा टेक्निकल गुड सप्लार्यकोले बुधवार प्रदेशसभा सचिवायमा ४५ वटा ल्यापटप उपलब्ध गराएको हो।

प्रदेशसभा सचिवायका सचिव धामीले प्रविधिसँग प्रदेशसभा सदस्यहरूलाई जोड्नका लागि ल्यापटप उपलब्ध गराइन लागेको बताएका छन्। ‘अहिले त प्रविधिको समय हो’ उनले भने, ‘केन्द्रमा पनि यो प्रयोग भइसकेको छ। यसले माननीय ज्यूहरूलाई अझै सहज बनाउँछ।’

प्रदेशसभा सचिवायले प्रदेशसभा सदस्यहरूको सहजताको लागि र प्रविधिमैत्री बनाउन ल्यापटप उपलब्ध गराइन लागेको बताए पनि यस विषयमा प्रदेशसभा सदस्यहरू विभाजित भएका छन्। कोही ल्यापटप लिनुपर्ने बताउँछन् भने कोही लिन नहुने बताउँछन्। 

सत्तापक्ष नै विभाजित

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेशसभा सदस्य अमर साउदले ल्यापटप अहिलेको आवश्यकता नरहेको बताएका छन्। उनले ल्यापटप पाउने विषयमा आफू अनविज्ञ रहेकोसमेत बताए। ‘अहिलेसम्म मलाई जानकारी थिएन, तपाईंले भनेर थाहा पाए’ उनले भने ‘हामीले ल्यापटप चाहियो भनेर मागेका हैनौ। अहिले हामीलाई चाहिएको पनि छैन।’

प्रदेश सभा सदस्यहरूलाई सीपयुक्त बनाउनु सकारात्मक भए पनि फजुल खर्च गर्नु उपयुक्त नरहेको केहीको धारणा छ। तर, केही भने ल्यापटप उपयुक्त रहेको बताउँछन्। ‘केन्द्रमा मन्त्रीहरूलाई पनि अनिवार्य गरिएको छ नि!’ सत्तारुढ दलकै प्रदेशसभा सदस्य बलदेव रेग्मीले भने, ‘इमेल इन्टरनेट चलाउनु पर्छ, जानकारी लिनुपर्छ, सचिवायले ठीक गरेको हो।’

प्रमुख प्रतिपक्षीको नलिने घोषणा

प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रदेशसभा सदस्य कर्ण मल्लले आफू ल्यापटप नलिने बताएका छन्। ‘जनता शोक,रोग र भोकसँग लडिरहेको बेला जनताकै करबाट उठेको रकमबाट ल्यापटप दिनु भनेको राज्य कोषको दुरुपयोग हो’ उनले भने, ‘राज्यकोषको दुरुपयोग गरी ल्याइएको बस्तु म ग्रहण गर्दिन।’

उनले अहिलेको अवस्थामा प्रदेशसभा सचिवायले ल्यापटप वितरण गर्नु उपयुक्त नरहेको बताए। सबै ठाउँमा प्राकृतिक विपत्तिले बितण्डा मच्चाएको छ त्यो क्षेत्रका नागरिकलाई सहयोग गरेको भए हुने थियो उनले भने हामीलाई ल्यापटप दिनुभन्दा त बरू कुनै ग्रामीण क्षेत्रमा विद्यालय बनाइदिएको भए हुने थियो।

प्रदेशसभा सदस्य मल्लले प्रदेशसभा सदस्यहरूलाई ल्यापटप आवश्यक भएको भए आफै किन्नुपर्नेसमेत बताए।

लेखा समितिका सभापतिसमेत रहेका कांग्रेसका प्रदेशसभा सदस्य कुमारी नन्दा बम प्रदेशसभा सदस्यहरूलाई यस्ता सानातिना कुरा बढेर अल्झनमा पर्न नहुने बताउँछिन्। ‘विषयगत समितिका कार्यालयहरू अस्तव्यस्त छन्, कर्मचारी छैनन्। यस्तोमा ध्यान दिनुपर्नेमा ल्यापटप बाँड्ने मोबाइल बाँड्ने यो गतिलो कुरा होइन’ उनले भनिन्।

उनले आफ्नो कार्यालय समेत साँघुरो भएको गुनासो गरिन् । ‘मेरो कार्यालयमा फोटोकपी मेसिन पनि छैन। आज हेर्नुभयो बैठक बस्ने कक्ष साँघुरो भएर अर्का समितिको कक्षमा बैठक बस्यौँ' उनले भनिन्, 'मलाई ल्यापटप भन्दा त्यो चाहिएको छ। चाहिने कुरा भन्दा नचाहिने कुरा बाँडेर प्रदेशसभा बसिरहेको छ।’

कांग्रेसका सचेतक टेकबहादुर रैकाले सामान्य रुपपमा ल्यापटप नलिने सल्लाह भए पनि निर्णय नभएको बताए। ‘हामीले लिँदैनौ भन्ने विषयमा सामान्य सल्लाह गरेका छौँ तर दलको नेता नभएकाले यस विषयमा थप कुरा भएको छैन’ उनले भने, ‘ संसदीय दलको नेता आएपछि औपचारिक धारणा आउँछ।'

अधिकांश प्रदेशसभा सदस्यहरू प्रदेशसभा सचिवालयले ल्यापटप वितरण गर्दैछ भन्नेबारे अनभिज्ञता प्रकट गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.