|

 विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीलाई 'स्वास्थ्यमा अन्तर्राष्ट्रिय संकटकाल' घोषणा गरेको छ।

डब्लुएचओले इबोलाविरुद्धको अभियानका लागि आर्थिक सहयोग गर्न सम्पन्न देशहरुलाई आह्वान गरेको छ। आफ्नो घोषणाले थप आर्थिक सहयोगका लागि बाटो खोल्ने अपेक्षासमेत डब्लुएचओले गरेको छ।

डब्लुएचओले जनस्वास्थ्यमा विश्वव्यापी चासोको आपतकाल घोषणा गरे पनि कंगोका सीमा क्षेत्र बन्द गर्नुपर्ने अवस्था भने नरहेको जनाएको छ। कंगोका इबोलाग्रस्त क्षेत्रभन्दा बाहिर यसको संक्रमण फैलिने सम्भावना उच्च नरहेको डब्लुएचओको भनाइ छ। इबोला महामारीका कारण कंगोमा हालसम्म १६ सय जनाभन्दा बढीको ज्यान गएको छ। यहि हप्ता गोमा क्षेत्रमा इबोलाको पहिलो संक्रमण पुष्टि भएको थियो। गोमा क्षेत्रमा १० लाखभन्दा बढी मानिसको बसोबास छ।

सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकी क्षेत्रमा फैलिएको इबोला महामारीका कारण ११ हजारभन्दा बढीको मृत्यु भएको थियो। कंगोमा पछिल्लो पटकको महामारी सन् २०१८ को अगस्टमा सुरु भएको हो। कंगोका नर्थ किभू र इतुरी प्रान्तमा अहिले इबोलाको महामारी छ । हालसम्म २५ सयजना भन्दा बढीमा संक्रमण पुष्टि भएकोमा १६ सय भन्दा बढीको मृत्यु भइसकेको छ।

हाल दैनिक १२ जनामा इबोलाको नयाँ संक्रमण पुष्टि हुने गरेको छ। इबोला विरुद्धको खोप हालसम्म १ लाख ६१ हजारलाई लगाइसकेको डब्लुएचओले उल्लेख गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.