|

काठमाडौं : खानेपानी मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा ५४५ साना ठूला आयोजना सम्पन्न गरेको दाबी गरेको छ। गत आर्थिक वर्षको बजेट कार्यान्वयनको सन्दर्भमा मन्त्रालय मातहतका निकायहरूबाट यी आयोजना सम्पन्न भएको मन्त्रालयले जनाएको छ।

५२६ वटा साना तथा आधारभूतस्तरका र १९ वटा ठूला आयोजना सम्पन्न भएको बताइएको छ। सम्पन्न भइसकेकाले यसबाट करिब पाँच लाख ३३ हजार जनसंख्या खानेपानी सेवाबाट प्रत्यक्ष लाभान्वित हुने मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले २४२ वटा भूकम्पबाट प्रभावित आयोजना, २५० वटा ग्रामीण खानेपानी आयोजना र ३४ वटा वर्षात्को पानी संकलनमा आधारित आयोजना गरी ५२६ वटा आधारभूतस्तरका खानेपानी आयोजना सम्पन्न भएको जानकारी दिए। त्यस्तै खानेपानी विभाग अन्तर्गत तेस्रो साना सहरी खानेपानी आयोजना कार्यालयले १० वटा आयोजनाहरु सम्पन्न गरेको छ भने सहलगानी खानेपानी आयोजनाअन्तर्गत ९ वटा आयोजना सम्पन्न भएका छन्। 

तेस्रो साना सहरी खानेपानी आयोजनाअन्तर्गत सुर्खेतको बाबियाचौर, रुकुमको मुसिकोट, कपिलवस्तुको चन्द्रौटा, चितवनको वीरेन्द्रनगर, कास्कीको निर्मलपोखरी, कञ्चनपुरको सुडा, तनहुँको डुम्रे र आबुँखैरेनी, रौतहटको कटहरिया र उदयपुरको कटारी खानेपानी आयोजना सम्पन्न भएका जनाइएको छ। 

त्यस्तै, सहलगानीअन्तर्गत मोरङको मानगढ र उर्लाबारी, रुपन्देहीको प्रगतिनगर र नयाँगाउँ, चितवनको रत्ननगर, पर्सा र धनगढा, नवलपरासीको जलुके, र दाङको नारायणपुर गरी नौवटा खानेपानी आयोजना सम्पन्न भईसकेका छन्। तेस्रो साना सहरी र सहलगानीअन्तर्गत सम्पन्न भएका आयोजना ठूला आयोजनाभित्र रहेका छन्। 

खानेपानी विभागले खानेपानीको गुणस्तर सुधार कार्यक्रमअन्तर्गत निर्माणाधीन २८ वटा आयोजनामध्ये चालु आर्थिक वर्षभित्र १२ वटा आयोजना सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको छ। 

मन्त्रालयको अर्को निकाय आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) अन्तर्गत काठमाडौं उपत्यकाको रिङरोडभित्र लक्षित ७७ किलोमिटर थोक वितरण प्रणाली पाइपलाइन कार्यमध्ये ७५ किलोमिटर पाइप लाइन निर्माण सम्पन्न भएको छ भने उपत्यकामा १० वटा पानीपोखरी निर्माण गर्ने भनिएकोमा ९ वटाको निर्माण कार्य सम्पन्न भइसकेको पिआइडीले जनाएको छ। 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलले काठमाडौं उपत्यकाभित्र १७ किमी खानेपानी पाइप लाइन विस्तार गर्ने भनिएकोमा २० किमी सम्पन्न गरेको प्रगति विवरणमा उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.