सिद्धिचरण राजमार्गमा दुई दर्जन पहिरो

|

उदयपुर : एक साताअघिको अविरल वर्षासँगै गएको बाढी पहिरोले प्रदेश १ को खोटाङ, ओखलढुँगा र सोलुखम्बुमा नाकाबन्दी लागेको छ। तीनै जिल्लालाई काठमाडौंलगायत तराईका शहरसँग जोड्ने दुई लोकमार्ग पूर्णरूपमा क्षतवीक्षत भएपछि नाकाबन्दी लागेको हो।

तराईसँग सिधा यातायात सिद्धिचरण लोकमार्ग र काठमाडौंसँग जोड्ने मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध भएपछि खोटाङ, ओखलढुंगा र सोलुखम्बुमा नाकाबन्दी लागेको ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र मास्केले बताए। ‘सिद्धिचरण लोकमार्गको उदयपुर कटारी घुर्मी खण्डमा झण्डै दर्जनौं ठाँउमा पहिरो गएको छ,’ उनले भने, ‘मध्यपहाडी लोकमार्गको सिन्धुली खुरकोर्ट घुर्मी खण्डमा पूरै अवरुद्ध भएपछि तीन जिल्लामा नाकाबन्दी लागेको छ।’

विशेष गरेर खोटाङ, ओखलढुंगा र सोलुखम्बुमा विभिन्न उपभोग्य सामानको ढुवानी हुने सिरहाको मिर्चैया हुँदै ओखलढुँगा जोड्ने सिद्धिचरण लोकमार्गको कटारी घुर्मी खण्डको ठाँटीलगायतका क्षेत्रमा पहिरोले क्षतवीक्षत भएको बताइएको छ।

यसैगरी खोटाङ, ओखलढुंगा र सोलुखम्बुलाई काठमाडौं जोड्ने मध्यपहाडी लोकमार्गको सिन्धुलीको खुर्कोट, उदयपुरको घुर्मी र ओखलढुँगाको हर्कपुर खण्डमा दर्जनौं पहिरो गएको छ। वर्षा रोकिए पनि यातायात ठप्प भएको अध्यक्ष मास्केले बताए।

‘चार पाँच दिनभित्र सडक खुलेन भने खोटाङ, ओखलढुंगा र सोलुखम्बु खाद्यान्नलगायतको संकट सुरु हुन्छ,’ उनले भने, ‘मध्यपहाडी र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएपछि नाकाबन्दीनै लागेको छ।’

तीनै जिल्लाका मुख्य दुई लोकमार्ग बन्द भएपछि जनजीवन अस्तव्यस्त भएको ओखलढुँगाका पत्रकार मनोज भट्टराईले बताए। ‘तीनै जिल्लाका मुख्य लोकमार्ग अवरुद्ध भएपछि इन्धनलगायतका अपरिहार्य उपभोग्य वस्तुको संकट सिर्जना हुन थालेको छ,’ उनले भने, ‘पेट्रोल पम्पमा पेट्रोल र डिजेल अभाव भएपछि ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका आन्तरिक सडकमा संचालन हुने यातायात समेत सुचारु हुन सकेका छैनन्।’

खाद्यान्न र पेट्रोलियम पदार्थको ढुवानीसमेत चरम अभाव भएको छ। यात्रुबाहक र मालबाहक गाडी नचलेपछि उपभोग्य वस्तु ढुवानीसँगै यात्रुलाई आवतजावत गर्न समस्या भएको छ। सडक अवरुद्ध भएको बहानामा व्यापारीले उपभोग्य वस्तुमा मूल्य बढाउन थालेको उपभेक्ताको गुनासो छ।

ओखलढुँगाका प्रमुख जिल्ला अधिकारी गणेश आर्चाय संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालय, सम्बन्धित जिल्लाका सरोकारवाल सबै अवरुद्ध दुवै सडक खुलाउनका लागी परेका छन्।

सोलुका प्रदेशसभा सदस्य बुद्धिराज भण्डारीले संघीय र प्रदेश सरकार मातहतमा रहेका सबै शक्ति दुवै सडक खुलाउन लागि परेको बताए। ‘मध्यपहाडी लोकमार्गको सिन्धुलीको खुर्कोट खण्ड र सिद्धिचरण लोकमार्गको उदयपुरको कटारी घुर्मी खण्डमा अवरुद्ध भएको छ। सिद्धिचरण लोकमार्गको ठाँटीमा मुख्य समस्या छ,’ उनले भने, ‘सकेसम्म छिट्टै खुलाउने तयारीमा हामी छौँ।’

सिद्धिचरण राजमार्गमा दुई दर्जन पहिरो

खोटाङ, ओखलढुँगा र सोलुखम्बुलाई खाद्यन्न लगायतका विभिन्न उपभोग्य बस्तु ढुवानी गर्ने सिद्धिचरण लोकमार्ग नै हो। सोही लोकमार्गको मिर्चैया–कटारी, कटारी–बेतीनी खण्ड आंशिक रूपमा सुचारु पनि बेतेनी–घुर्मी खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। अस्थायी ट्राफिक प्रहरी पोष्ट कटारीका प्रमुख डम्बर दियालीले गहुँबारी लेखानी खण्डमा करिव दुई दर्जन ठाउँमा पहिरो गएकोले बताए।

बेतेनी–घुर्मी खण्ड २५ किलोमिटरअन्तर्गत कटारी नगरपालिका– ११ ठाँटीभन्ज्याङ र लप्सेको भीरसहित दुई दर्जनभन्दा बढी स्थानमा पहिरो गएको छ। ठाँटीभन्ज्याङमा करिव २ सय मिटर सडक नै बगेको छ। पहिरोले रोड नै बगाएर लगेपछि नयाँ ट्रयाक बनाउनु पर्ने भएको उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्काले बताए। ‘बेतेनी–घुर्मी २५ किमि क्षेत्रमा मोटरसाइकलसमेत सञ्चालन हुन सक्ने अवस्था छैन,’ उनले भने, ‘सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई हिंड्न पनि समस्या छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.