|

रुकुम : रुकुम पश्चिममा गत आर्थिक वर्षमा सवा एक अर्ब रुपैयाँ वजेट फ्रिज भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय रुकुम पश्चिमका अनुसार संघीय र प्रदेश सरकारबाट आएका ठूलो रकम फ्रिज भएको हो। 

जिल्लालाई संघ र प्रदेश सरकारबाट आएको कुल पाँच अर्ब ३१ करोड ६० लाख ९२ हजार ५०० मध्ये चार अर्ब चार करोड ५७ लाख ५२ हजार ३०० रुपैयाँ मात्र खर्च भएको कोष नियन्त्रक ईश्वरीप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार विनियोजित रकममध्ये एक अर्ब २७ करोड तीन लाख ४० हजार २०० रुपैयाँ फ्रिज भएको छ।

संघीय सरकारको चालु खर्चतर्फ कुल दुई अर्ब ८२ करोड ८९ लाख ७० हजार २९३ रुपैयाँ वार्षिक बजेट रहेकोमा दुई अर्ब ७० करोड ३३ लाख ६९ हजार २० रुपैयाँ मात्र खर्च भएको छ। यस्तै, पुजिगतखर्च तर्फ ६५ करोड ८९ लाख ४६ हजार रुपैयाँमध्ये ३५ करोड ३२ लाख ८९ हजार ८२२ रुपैयाँ मात्र खर्च भएको तथ्यांक छ। ‘प्रतिशतको आधारमा हेर्दा संघीय सरकारको चालु खर्च ९५.५६५प्रतिशत छ भने पुँजीगत खर्चको ५३.६१५ प्रतिशत मात्र खर्च रहेको देखिन्छ,’ कोष नियन्त्रक ढकालले भने।

त्यसैगरी प्रदेश सरकारबाट प्राप्त रकममध्ये चालुतर्फ ५५ करोड ६७ लाख ५९ हजार २७३ रुपैयाँ बजेटमध्ये ३९ करोड २१ लख ८७ हजार ३४२ रुपैयाँ खर्च भएको छ। पुँजीगततर्फ एक अर्ब २७ करोड १४ लाख १७ हजार रुपैयाँमा ५९ करोड ६९ लाख ६ हजार १७५ रुपैयाँ खर्च भएको छ। जसलाई प्रतिशतमा हेर्दा चालु खर्च ७०.४४ र पुजिगततर्फ ४६.९५ प्रतिशत फ्रिज भएको छ। 

कोेष तथा लेखा नियन्त्रक ढकालले योजना छनोटमा कमजोरी, कर्मचारीको अपर्याप्तता र समयमै योजना कार्यान्वयनमा जनचासो नभएका कारण रकम फ्रिज भएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.