|

काठमाडौं : भारतको पटनाबाट पाइपलाइनमार्फत डिजेल र पेट्रोल ल्याउन नेपाल तयार भएको छ। डिजेल र पेट्रोल ल्याउने पाइपलाइनको परीक्षण गरेसँगै तयार देखिएको हो। 

शुक्रबार दिउँसो पाइपलाइनमार्फत ल्याइएको डिजेल नेपालको अमलेखगन्ज डिपोमा जम्मा गरिएको आयल निगमका नायब कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी गराए। पाइपलाइनमार्फत एक हजार किलोलिटर डिजेल अमलेखगञ्ज डिपोमा रहेको ट्यांकीमा जम्मा गरिएको हो। 

बिहीबार दिउँसो १२ बजे भारतको पटनाबाट पाइपमा पठाइएको तेल २४ घण्टापछि अमलेखगन्जको ट्यांकिमा झरेको हो। डिजेल झरेसँगै परीक्षण सफल भएको भट्टराईले बताए।

उनकाअनुसार अब भने ट्यांकी बन्द गर्ने र नेपाल र भारतले संयुक्त रुपमा उद्घाटन गरेसँगै व्यावसायिक रूपमा संचालनमा ल्याइने छ। उद्घाटन नेपाल भारतका प्रधानमन्त्रीबाट गराउने तयारी भइरहेको जनाइएको छ। 

पाइपलाइन २४ घन्टा नै चलाएमा एकै दिन ४८ लाख लिटर डिजल नेपाल ल्याउन सकिने र यसले नेपालको माग धान्न सकिने निगमले जनाएको छ। पाइपलाइनबाट आउने डिजल भण्डारणको लागि अमलेखगञ्जमा ४१ लाख लिटर क्षमताका २ वटा र ३९ लाख लिटर क्षमताका २ वटा गरी १ करोड ६० लाख लिटर क्षमताका ४ वटा अत्याधुनिक टयांकी निर्माण भइसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.