|

रसुवा : रसुवा भन्सार कार्यालय टिमुरेले वार्षिक लक्ष्यभन्दा करिब १२ प्रतिशत बढी राजश्व असुली गरेको छ। आर्थिक वर्ष २०७५/०७६मा राखेको लक्ष्यभन्दा ११ दशमलब ५३ प्रतिशत बढी राजश्व असुली गरेको हो।

गत आर्थिक वर्षमा ९ अर्ब ५० करोड ६२ लाख ६२ हजार वार्षिक लक्ष्य राखेको कार्यालयले १० अर्ब ६० करोड २४ लाख १९ हजार राजश्व असुली गरेको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख पुण्यविक्रम खड्काले बताए। जुन लक्ष्य भन्दा १ अर्ब ९ करोड ६१ लाख ५७ हजार बढी हो।

कार्यालयले गत आर्थिक वर्षमा सात अर्ब ६२ लाख ६४ हजार उठाउने लक्ष्य राखेको थियो तर भन्सार विभागले बैशाखमा वार्षिक लक्ष्यमा २ अर्ब ५० करोड थप गरी वार्षिक लक्ष्य ९ अर्ब ५० करोड ६२ लाख ६२ हजार पुर्‍याएको थियो। भन्सार विभागले थप गरेको राजश्व जेठ महिनामै पूरा गरेको थियो।

कुन महिनामा कति राजश्व

साउन महिनामा ६७ करोड ९६ लाख ८५ हजार राजश्व उठाउने लक्ष्य राखेको रसुवा भन्सार कार्यालयले २६ करोड ४ लाख ७७ हजार असुली  गरेको छ।

त्यस्तै, भदौ महिनामा  १ अर्ब २५ करोड १६ लाख ७१ हजार राजश्व उठाउन लक्ष्य राखेको कार्यालयले २९ करोड १५ लाख ७९ हजार असुली गरेको थियो।

त्यसैगरि, असोज महिनामा ७७ करोड ६६ लाख ९८ हजार राजश्व उठाउने लक्ष्य  राखेको कार्यालयले २ अर्ब ३२ करोड ६९ लाख ७६ हजार असुली गरेको छ। कार्तिक महिनामा ८२ करोड २ लाख ६२ हजार राजश्व उठाउने लक्ष्य राखेको कार्यालयले ८७ करोड २ लाख ८६ हजार असुली गरेको छ।

त्यस्तै, मंसिर महिनामा ८२ करोड २ लाख ६२ हजार राजश्व उठाउने लक्ष्य राखेको कार्यालयले ९९ करोड २७ लाख १० हजार, पुष महिनामा ८२ करोड २ लाख ६२ हजार राजश्व उठाउने लक्ष्य राखेको कार्यालयले ८७ करोड १६ लाख ९ हजार,  माघ महिनामा ५२ करोड ७२ लाख ६२ हजार राजश्व उठाउने लक्ष्य राखेको कार्यालयले १ अर्ब २२ करोड १३ लाख ३६ हजार राजश्व संकलन गर्न सफल भएको थियो।

त्यसैगरि, फागुन महिनामा ५२ करोड ९१ लाख १२ हजार राजश्व उठाउने लक्ष्य राखेको कार्यालयले ४१ करोड ६२ लाख ४५ हजार, चैत महिनामा ८२ करोड २ लाख ६२ हजार राजश्व उठाउने लक्ष्य राखेको कार्यालयले ८२ करोड ६५ लाख ७० हजार, बैशाख महिनामा ८२ करोड २ लाख ६२ हजार राजश्व उठाउने लक्ष्य राखेको कार्यालयले ८५ करोड ८५ लाख १३ हजार संकलन गरेको छ।

त्यसैगरी, जेठ महिनामा ८२ करोड २ लाख ६२ हजार राजश्व उठाउने लक्ष्य राखेको कार्यालयले ९० करोड ६९ लाख ७ हजार र असार महिनामा ८२ करोड २ लाख ६२ हजार राजश्व उठाउने लक्ष्य राखेको कार्यालयले ७५ करोड ९२ लाख ९ हजार राजश्व संकलन गरेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ।

तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकाबाट निकासी, पैठारी बढेसंगै भन्सार असुली पनि बढेको हो। कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्त शुल्क भ्याट लगायतका शुल्कबापत भन्सार असुली गर्ने गर्दछ।

चीन जोड्ने विभिन्न नाकामध्ये रसुवागढी नाका मात्रै सञ्चालनमा रहेकाले यो नाकामा व्यापारिक कारोबार बढेको छ। चीनको केरुङबाट रसुवागढी नाका हुदै जलविद्युत आयोजना निर्माण, सिन्धुपाल्चोकको तातोपानी नाकामा पुल निर्माण, पोखरा र भैरहवाको विमानस्थल निर्माण, ललितपुरमा रंगशाला निर्माण, एनसेल को सामग्रीलगायतका सामग्री आएसँगै राजश्व असुलीमा बृद्धि हुदै गएको पाइएको छ।

चीनको केरुङबाट रसुवागढी नाका हुदै नेपाल तर्फ रेडिमेड कपडा, कम्मल, घडी, जुत्ता, चप्पल, स्याउ, विद्युतीय तथा इलेक्ट्रोनिक लगायतका सामाग्रीहरु भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्री जाने गरेको छ।

विस २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.