|

सोलुखुम्बु : मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट-घुर्मी सडक एक सातापछि खुलेको छ। अबिरल बर्षातको कारण असार २६ गते रातिदेखि पूर्ण रुपमा बन्द भएको सडक शुक्रबार बिहानदेखि खुलेको हो।

करिब ६० किलोमिटर लामो यो सडकखण्डको धेरै ठाउँमा पहिरो खसेपछि अवगमन ठप्प बनेको थियो। सडकको विभिन्न ६ ठाउँको पहिरो पन्छाएपछि बिहीबार बेलुकादेखि एकतर्फी खुलाइएको बाटो शुक्रबार बिहानदेखि दुइतर्फीनै खुलेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए।

पहिरो पन्छाएपछि सवारी आवगमन सुरु भएको यातायात व्यवसायी दोर्जी शेर्पाले जानकारी दिए। शेर्पाका अनुसार आज आंशिक रुपमा सवारी सञ्चालन भएका छन्। शनिबारदेखि पुर्णरुपमा सवारी सञ्चालन गर्ने गरि टिकट दिन सुरु गरिएको दुधकुण्ड यातायात प्रालि काठमाडाैं काउण्टरका इन्द्र कटेलले जानकारी दिए। 'सडक अझै पनि जोखिमयुक्त छ' उनले भने, 'सामान कम गरेर भए पनि जसोतसो सेवा दिन थालिएको छ।'

हप्ता दिनदेखि अलपत्र परेका यात्रु गनतव्य तर्फ प्रस्थान गर्न थालेको सोलुखुम्बु ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार अहिले सवारी अवागमन सुरु भएसँगै यात्रुको चहलपहल देखिएको छ। सवारी अवगमन सुचारु भएपछि यात्रु खुसी भएका छन्। तर सडक जोखिमयुक्त भएकाले अझै पनि राम्रो गरि मर्मत गरिनुपर्ने थुलुङदुधकोशी गाउँपालिका ६ का वडा अध्यक्ष फुर्तिमान तामाङले बताए।

शुक्रबार काठमाडाैंबाट मोटरसाइकल सोलुखुम्बु आएका अध्यक्ष तामाङले अझै केही दिन कष्टपूर्ण यात्रा गर्नुपर्ने बताए। उनले मोटरसाइकल एक्लैले लैजान अलिक कठिन हुने भन्दै साथी संग यात्र गर्न आफ्नो फेसबुक पेजमार्फत सुझाव दिएका छन्।

यता शिद्धिचरण लोकमार्ग भने केही दिन सञ्चालनमा आउन समय लाग्ने बताइएको छ। सडक खण्डको ठाँटी लगायतको क्षेत्रमा खसेको ठूलो पहिरो पन्छाउने काम भइरहेकाले चाडै सञ्चालनमा आउने उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले जानकारी दिए।

सवारी आवगमन ठप्प हुँदा महँगी समेत बढ्न थालेको भने सोलुखुम्बु लगायतको जिल्लामा तरकारी लगायतको खाद्य वस्तु समेत पाउन छाडिएको उपभोक्ताले बताउँने गरेका छन्।

सडक तत्काल सञ्चालन गर्नको लागि सोलुखुम्बु, ओखलढुंगा र खोटाङका संघीय सांसदले सडक विभाग र मन्त्रालयमा डेलिगेसन समेत गएका थिए। सोलुखुम्बुका संघयय सांसद हेमकुमार राईले जनताको दैनिकी कष्टकर बनेकाले तत्काल काम गर्न सडक विभागका प्रमुख र मन्त्रिलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.