|

कञ्चनपुर : मानव बेचविखन तथा ओसार पसारका लागि मानव तस्करले नयाँ नाकाको प्रयोग गर्न थालेका छन।

पश्चिमी गडडाचौकी नाकामा मानव बेचविखनविरुद्ध क्रियाशील संघ संस्था र प्रहरीले निगरानी बढाउन थाले पछि मानव तस्करले जिल्लाको दक्षिणी क्षेत्रको बैलौरी, पुर्नवास लगायतका खुला नाकाबाट मानव तस्करीको कार्य गर्दै आएका छन।

बाह्य जिल्लाबाट प्रलोभनमा पारेर ल्याइएका चेलिवेटीलाई दक्षिणी नाका भएर भारततर्फ लैजाने गरिएको हो। मानव तस्करले हिंसा पीडित, बेरोजगार, गरिविको चपेटमा परेका, अशिक्षा, जनचेतनाको कमी भएका क्षेत्रका महिलालाई  बेचविखन गर्नका लागि भारततर्फ लैजाने गरिएको छ।

असुरक्षित बसाई सराईले समेत मानव तस्करी हुने क्रम बढदो रुपमा रहेको छ। पहिला चेलिबेटीलाई भारतमा वेश्यालयमा बिक्री हुँदै आएकोमा हालका दिनमा भारतीय बाटो हुदै महिलालाई बैदेशिक रोजगारीका नाममा खाडी मुलुकतर्फ अबैध रुपमा अनाधिकृत नाकाको प्रयोग गरी लैजाने क्रम बढदो छ। 

विगत दुई वर्षको अबधिमै जिल्लाको दक्षिणी क्षेत्र हुँदै भारत भएर खाडी मुलुकमा रोजगारीको प्रलोभन दिई लैजान लागेका दुई दर्जन बढी महिलाको प्रहरीले उद्धार गरेको थियो। जुन महिला बाह्य जिल्लाका रहेका थिए। अबैध रुपमा अबैध नाका भएर खाडी मुलुक र भारत पुर्‍याइएका धेरै महिला बेश्याबृत्तिको आरोपमा जेलमा परेका र अबैध गर्भाधारण गरी बच्चा बोकेर फर्कने क्रम बढ्दो छ।  

महिलालाई वेश्याबृत्ति, होटेलमा उत्तेजक नाच गराउन, अश्लील फोटो सेसन गराउन, अश्लील चलचित्र बनाउन, लागु औषध र हतियारको अबैध कारोवार गराउने कार्यमा संलग्न गराउनका लागि महिला बिक्रीमा पर्ने गरेका छन। मानव वेचविखनविरुद्ध क्रियाशील सघ संस्थाका अनुसार बार्षिक रुपमा दश हजार बढी महिला मात्रै बेचविखनमा पर्ने गरेका छन।

एक अध्ययन अनुसार भारतमा मात्रै तीन लाख नेपाली महिला बेचविखनमा परेका छन। पहिला महिलाको मात्रै बेचविखन हुँदै आएकोमा हाल बालबालिका र पुरुष समेत बेचविखनमा पर्न थालेका छन। अंग तस्करी र अबैध कार्यमा संलग्न गराउनका लागि बालबालिका र पुरुषको बेचविखन हुने गरेको छ।

मान बेचविखनको कार्यमा ठूलो गिरोह क्रियाशील रहने, पक्राउ नपर्ने र पक्राउ परे प्रमाण लुकाउने गरेका कारण कारवाही नहुने गरेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताइन। लैंगिक विभेद हटाउने, मानव बेचविखनबिरुद्ध जनचेतना फैलाउने,शंकास्पद व्यक्तिमाथि निगरानी बढाउने र बेचविखनमा परेका महिलालाई पुनः स्थापना गराउने कार्य गरिए बेचविखनको कार्य नियन्त्रण गर्न सकिने उनको भनाई रहेको छ।

आफन्त र चिनजान गरेका व्यक्तिबाटै महिला बेचविखनको जोखिममा पर्दै महिला आफन्त, चिनजान गरेका व्यक्ति र साथीबाट बेचविखनको जोखिममा पर्ने गरेका छन। एक सर्वेक्षण अनुसार सबै भन्दा बढी साथीबाट ४३, छिमेकीबाट २१, परिवारको माध्यमबाट ९, श्रीमानको माध्यमबाट ३ र अन्यबाट २४ प्रतिशत महिला बेचविखनमा पर्ने गरेको पाइएको छ।

रोजागरीको प्रलोभन, आकर्षिक जीवनशैली र घुमफिर गराउने बहानामा महिला बेचविखनमा पर्ने गरेको पाइएको छ। गलैंचा उद्योग, मेला, इट्टा भट्टा, अस्थायी बसोवास भएका क्षेत्र, दाउरा गर्ने ठाउँ, राजमार्ग छेउछाउका बस्ती, चाडपर्व, हाटवजार, मनोरञ्जनका लागि खोलिएका दोहरी साँझ, क्याविन, रेष्टुरेन्ट र वार लगायतका क्षेत्रका महिला बेचविखनको बढी जोखिममा रहने गरेका छन।

विभिन्न प्रलोभनमा पारेर ती क्षेत्रका महिलालाई बेचविखनमा पार्ने गरिएको छ। बेचविखनमा परेका महिलामा  एसएलसी वा सो भन्दामाथि अध्ययन गरेका ३.७, माध्यमिक तहमा अध्ययन गर्ने ८.२, साक्षर मात्रै ८०.२ र निरक्षर ७.९ प्रतिशत रहने गरेको छ। ९२.७ प्रतिशत महिला मात्रै बेचविखनमा परेका छन। विश्वमा बार्षिक रुपमा ३२ अरब डलरको कारोवार मानव बेचविखनको कार्यबाट हुने गरेको छ। 

कञ्चनपुरमा  मानव बेखिनका आव २०७१/०७२ मा अदालतमा ७ वटा मुद्दा दर्ता भएकोमा सबै मुद्दा फर्छ्याैट भएका छन। आव २०७२/७३ मा १७ मुद्दा मध्ये १५ फर्छ्याैट भएका छन। यसैगरी, आव २०७३/०७४ मा १२ मुद्दा अदालतमा दर्ता भएकोमा ११ मुद्दा फर्छ्याैट भई दोषीमाथि कारवाही भएको छ।

पश्चिमी सीमा नाकाबाट १४४ महिला तथा बाललिकाको रोकथाम 

पश्चिमी सीमा नाका गडडाचौकी हुदै भारत तर्फ जान लागेका १४४ महिला तथा बालबालिकाको माइती नेपाल कञ्चनपुरले रोकथाम गरेको छ। सन् २०१९को जनवरीदेखि जुन महिनासम्म सीमा नाका हुँदै भारततर्फ जान लागेका जोखिममा पर्न सक्ने महिला तथा बालबालिकाको रोकथाम तथा उद्धार गरी पुनः स्थापन गरिएको हो।

सीमा नाकाबाट रोकथाम तथा उद्धार गरी पुनः स्थापन गरिएका मध्ये महिला १०४ जना र बालबालिका ४० जना रहेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताइन। उनका अनुसार जस मध्ये दलित समुदायका २८ जना र जनजाति समुदायका ३६ जना रहेका छन। कञ्चनपुर जिल्लाका मात्रै रोकथाम गरिएका महिला तथा बालबालिकाको संख्या भने ४१ रहेको छ। 

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका रोकथाम गरिएका महिला बालबालिकाको संख्या भने ७१ जना रहेको छ। जोखिममा परेका भारतबाट उद्धार गरी पारिवारिक पुनःस्थापन गरिएका महिला तथा बालबालिकाको संख्या चार जना रहेको संयोजक भट्टले बताइन। 

सोही अवधिमा भारततर्फ जाने एक हजार ९५२ सवारी साधान सीमा नाकामा चेकजाँच गरी छ हजार १९० जनालाई सूचना तथा परामर्श दिएको छ उनले भने। 
माइती नेपाल कञ्चनपुरमा पाँच महिनाको अवधिमा महिला तथा बालबालिका हराएका १०२ निवेदन दर्ता भएका छन।

हराएका निवेदन दिएका मध्ये २१ जना फेला परेका छन। सन् २०१८ मा माइती नेपालले २११ जनाको महिला तथा बालबालिकाको सीमा नाकामा रोकथाम गरेको थियो। माइती नेपालको तथ्यांक अनुसार सन् २०१४ मा ८६, सन् २०१५ मा १५९, सन् २०१६ मा ३३८, सन् २०१७मा २०६ जना महिला तथा बालबालिको रोकथाम गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.