|

रौतहट : रौतहटको डुबान क्षेत्रमा परेका स्थानीय खानाको लागि राहतको भरमा बस्नु परेको छ। रौतहटको परोहा नगरपालिका-६ बसन्तपटी सिंगो गाउँका बासिन्दा राहतको भरमा जीविकोपार्जन गर्न बाध्य छन्।

गत असार २७ र २८ गते आएको वर्षाबाट आएको बाढीले डुबानमा परेको उक्त गाउँका बासिन्दाको अन्नबालीदेखि सम्पूर्ण समान डुबानमा परेपछि त्यस गाउँका बासिन्दा राहतको आसमा दिन बिताउन बाध्य भएका हुन्। गाउँ नजिकै रहेको लालबकैया नदीको बाध फुटेर गाउँ पसेपछि स्थानीयको घर डुबानमा परेको स्थानीय राम किशोर साहले बताए।

सो गाउँका करिब २ सय ५० घरधुरीका बासिन्दा बाढीबाट प्रभावित छन्। बाढी रोकिएपछि त्यस गाउँका बासिन्दा राहतको भरमा बिहान बेलुकाको छाक टादै आएका छन्। सोही गाउँलाई मध्यनजर गदै काठमाडौंस्थित रहेको छाया नेपाल र फ्रेन्ड फर नेपाल नामक गैर सरकारी संस्थाले राहत सहयोग गरेका छन्। ती संस्थाले ल्याएको राहत वितरण गदै सोही नगरपालिकाका नगर प्रमुख शेख वकिलले बाढी प्रभावित क्षेत्रमा दिगो राहतको आवश्यकता रहेको बताए।

डुबान क्षेत्रका बासिन्दाका लागि पुनः पुरानो अवस्थामा फर्काउनका लागि तत्कालीन राहत आउने क्रम जारी रहेको उनले जानकारी दिए। राहत पीडित परिवारलाई मात्रै उपलब्ध गराउन सहयोगी संस्थालाई नगर प्रमुख वकिलले आग्रह गरे।

शुक्रबार छाया नेपाल र फ्रेन्ड फर नेपालको सहयोगमा विभिन्न किसिमका खाद्यान्न तथा झुल वितरण गरिएको हो। एक परिवारको लागि १ थान त्रिपाल, ३० किलो चामल, ५ किलो चिउरा, १ थान झुललगायतको सामग्री वितरण गरेको सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादवले जानकारी दिए। पीडित परिवार कोही पनि नछुटुन र नदोहोरिउन भन्ने लक्ष्यका साथ नगरपालिकाले ब्यबस्थीत रुपमा राहत बाढन थालेको यादवले बताए।

बाढीपीडितको समस्या देखेर यहाँसम्म राहत सामान लिएर आएको छाया नेपालका कार्यक्रम अधिकृत निशान्त गौतमले बताए।

बाढी पीडितको राहतको लागि आफ्नो संस्थाले करिब ११ लाख रुपैया बजेट बिनियोजन गरेको र सोही अनुसारको बिभिन्न स्थानमा राहत बितरण गर्ने कार्यक्रम अधिकृत गौतमले जानकारी दिएका छन ।

परोहा नगरपालिकाले दिएको जानकारीअनुसार सो नगर क्षेत्रमा १ हजार ५ सय परिवार पीडित रहेका छन्। यसैगरी जिल्लाको इशनाथ नगरपालिका-४ बन्जहराका बासिन्दाको पनि त्यही हालत छ। सीमा क्षेत्रमा रहेको बन्जहरा गाउँमा भारतले बाध बाधेको कारण पूरै गाउँ डुबानमा परेको हो। सो क्षेत्रमा स्थानीयको उपचार तथा राहतको लागि डा. गोबिन्द केसीसमेत पुगेका छन् भने विभिन्न गैर सरकारी संस्था पनि राहत लिएर पुगेका छन्।

यसैबीच रौतहटमा राहत वितरण गर्नेको लार्को लागेको छ। रौतहट जिल्लाको विभिन्न डुबान क्षेत्रमा राहत वितरण गर्ने काम चलिरहेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकिय अधिकृत छोटेलाल दासले जानकारी दिए।

केही दिनअगाडि मात्रै प्रदेश सरकारमार्फत आएको १० लाख मूल्य बराबरको राहत वितरण गरिएको थियो। बाढीले जिल्लाको गौर, इशनाथ, राजदेवी, माधवनाराण, गडीमाई नगरपलिका लगायतका गाउँ डुबानमा परेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.