|

काठमाडौं : सरकारसँग वार्ताको पहल भइरहेका बेला प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको छ। 

विप्लवनिकट श्रोतका अनुसार लामालाई प्रहरीको एक टोलीले राजधानीको काँडाघारीबाट पक्राउ गरेको हो। विप्वलवपक्षले यसको पुष्टि गरेको छ । महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाले लामा पक्राउको पुष्टि गर्दै उनलाई काँडाघारीबाट शनिबार राति १२ बजे हिरासतमा लिइएको बताए। 

प्रहरीले लामासँगै विप्लवका अर्का कार्यकर्ता रेशम तामाङलाई पनि हिरासतमा लिएको छ । लामामाथि केही महिनायता उपत्यकाको नख्खु अनामनगर र घट्टेकुलोमा भएका बम विस्फोटनका घटना गराउन निर्देशन दिएको आरोप प्रहरीले लगाएको छ । उपत्यकामा भएका विस्फोटमा ५ जना भन्दा धेरैले ज्यान गुमाएका थिए। 

फागुन १० गते नख्खुस्थित एनसेलको कार्यालयमा भएको विस्फोटमा एकजना मारिएका थिए भने घट्टेकुलो, सुकेधारामा जेठ ५ गते भएको विस्फोटमा ५ जनाले ज्यान गुमाएका थिए।  जेठमा भएको विस्फोटपछि प्रहरीले लामाको खोजी गरिरहेको थियो। 

घटनालगत्तै प्रहरीले राजधानीबाट विप्लवका ४ जना कार्यकर्ता समातेको थियो। प्रहरीले खोटाङका मोतिधन राई, रोल्पाका भूपेन्द्र घर्ती, मोरङकी विन्दुकुमारी कुइँकेल र रुकुमकी सन्ध्यादेवी पुनलाई पक्राउ गरे पनि लामा फरार थिए। पक्राउ परेकाले लामाको नाम लिएका थिए। 

पक्राउ परेका लामाको घर काठमाडौँको नागार्जुन नगरपालिकास्थित डाँडागाउँ हो। लामा १० वर्षे जनयुदद्धका क्रममा गम्भीर घाइते भएका थिए। उनी राम्ररी सुन्न सक्दैनन् भने आँखा पनि कमजोर छन्।

जनयुद्धका क्रममा चर्चित सांस्कृतिक कलाकार उनी माओवादी विभाजित भएपछि सुरुमा मोहन वैद्यतिर लागेका थिए। तर वैद्य समूह पनि फुटेपछि उनी विप्लवमा पुगेका थिए। जनयुद्धका क्रममा कैयन गीत लेखेका उनी २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा उम्मेदवार पनि बनेका थिए। 

गत विहीबार मात्रै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले यही अवस्थामा प्रतिबन्धि समूह विप्लवसँग कुनै हालतमा वार्ता हुनै नसक्ने बताएका थिए। 

बास्कोटकाले त्यो पत्रकार सम्मेलनमा विप्लवले वातालाई शक्ति सञ्चय र जेलका कार्यकर्ता रिहाका लागि प्रयोग गर्न खोजेको बताउँदै सरकार अझै कठोर हुने संकेत गरेका थिए। 

हाल नख्खु जेलमा रहेका स्थायी समिति सदस्य हेमन्तप्रकाश वलीपछि लामा पक्राउ पर्नेमा अर्का ठुला नेता हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.