|

पाँचथर : फाल्गुनन्द गाउँपालिका–३, पाङ्ग्रे भीरमा खसेको पहिरोका कारण अवरूद्ध मेची राजमार्ग खुलाउन सकिएको छैन। बिहीबारदेखि नै पहिरो झरिरहेको र झरेको पन्छाउँदा पनि फेरि झर्ने अवस्था रहेकाले राजमार्ग सञ्चालनमा आउन नसकेको हो।

पहिरो पन्छाउन भन्दै पहिरोग्रस्त क्षेत्रमा स्काभेटर, लोडरलगायतका सामान पुर्‍याइएको छ। तर अलिकति पन्छाउने बित्तिकै पहिरो झर्ने गरेको छ। पहिरोग्रस्त क्षेत्रमा पाखा नै बगेर झर्ने अवस्था पनि देखिन्छ। यसले गर्दा राजमार्ग खोल्न समस्या देखिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताए। 

‘पहिरो गएको क्षेत्रमा आंशिक सडक खोलिएको छ। आइतबार दिउँसो पानी परेन भने एकातर्फी सवारी आवातजावत गर्ने गरी सडक खोल्न सकिन्छ होला,’ सिडिओ वस्तीले भने, ‘अब दशैंसम्म पहिरो झरिरहने समस्या देखिने भएकाले पहिरो तत्काल पन्छाए पनि मेसिन एउटा राख्नु पर्ला।’

पहिरोका कारण सवारीसाधन आवातजावत नभएपछि यात्रुहरू सास्ती खेप्न बाध्य छन्। पहिरो गएको क्षेत्र नजिकदेखि जोखिम मोल्दै हिँडेर पहिरो र खोला पार गर्दै आएका छन्। खोला क्षेत्रमा घरिघरी पहिरोका कारण झरेको ढुंगा गुड्केर आइपुग्ने गरेको छ। जोखिमपूर्ण उक्त क्षेत्रमा यात्रुहरूलाई सचेत गराउन भन्दै प्रहरी परिचालन गरिएको छ। 

यस सडकखण्डमा दैनिक सयौं यात्रुवाहक र मालवाहक सवारीसाधन आवातजावत गर्दैथ्यो। तर, पहिरोलेसडक अवरूद्ध भएपछि ठप्प छ। तराईका जिल्लासँगै भारतीय बजारमा बिक्रीका लागि लगिएको गोलभेडा पनि गाडीमै कुहिँदा व्यवसायी मारमा परेका छन्। यस्तै, गोलभेडा बारीमै कुहिएका छन्। 

यता, यातयात व्यवसायीले मनोमानी भाडा अशुल्न थालेका छन्। पाँचथर सदरमुकाम फिदिमदेखि इलामसम्मको भाडा ३०० रुपैयाँ भए पनि पहिरोग्रस्त पाङ्ग्रे भीरसम्मको भाडा नै १५० रूपैयाँ लिन थालेको यात्रुहरुको गुनासो छ। यस्तै, पाङ्ग्रे भीरबाट इलामसम्मको भाडा नै ३०० रूपैयाँ असुल्ने गरेका छन्। सडक अवरूद्ध भएपछि पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठ्राई क्षेत्रका बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि लैजान समस्या भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.