|
फाइल तस्बिर

कञ्चनपुर : संरक्षित जनावरलाई पानीको व्यवस्था गर्न कृष्णपुर नगरपालिकामा रहेको सिंहपुर सामुदायिक वनमा दुई कृत्रिमताल निर्माण गरिएका छन्। संरक्षित जनावरलाई पानी खुवाउन सहजता प्रदान गर्न सामुदायिक वनको भित्री र बाह्य क्षेत्रमा गरी दुई ताल निर्माण गरिएका हुन्।

दुईवटै पोखरी निर्माण गर्नका लागि सामुदायिक वन र लालझाडी मोहना संरक्षण कार्यक्रमअन्तर्गत आठ लाख ५० हजार रुपैयाँ लगानी गरिएको छ। ताल निर्माणका लागि सामुदायिक वनका उपभोक्ताले तीन लाख रुपैयाँ बराबरको श्रमदान गरेका छन्। वनको भित्री भागमा पाँच लाख रुपैयाँ खर्चेर सामुदायिक वनले आफ्नै लगानीमा ताल निर्माण गरेको सामुदायिक वनका कोषाध्यक्ष बाबुराम चौधरीले बताए।

उनका अनुसार अर्को ताल तीन लाख ५० हजार रुपैयाँको लागतमा लालझाडी मोहना संरक्षण कार्यक्रमअन्तर्गत निर्माण गरिएको हो। विगतमा सामुदायिक वन क्षेत्रमा रहेका तालतलैया संरक्षणको अभावमा पुरिएर सुकेपछि पानीको अभावमा जङ्गली जनावरले बासस्थान सारेका चौधरीले भने, ‘पानीकै अभावमा जङ्गली जनावर देख्नु दुर्लभ हुन्थ्यो।’

सामुदायिक वन क्षेत्रमा पानीको व्यवस्था भएपछि हाल देखिन छाडेका जनावर देखिन थालेका छन्। सामुदायिक वनमा चितल, बँदेल, नीलगाई, मयुर र चितुवा सहजै देखिने गरेको सामुदायिक वनका अध्यक्ष जोगराम चौधरीले बताए। जनावर देखिन थालेपछि अवलोकन गर्नका लागि सामुदायिक वनमा दुई मचानसमेत निर्माण गरिएका छन्। ४१ फिट उचाइ र २४ फिट उचाइका गरी तीनतले र एकतले मचानसमेत निर्माण गरिएको छ।

मचान निर्माण गरिएपछि सामुदायिक वनमा रहेका जनावर र सामुदायिक वनको मनोरम दृश्य नियाल्न सकिने भएको छ। सामुदायिक वनलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने सामुदायिक वनका अध्यक्ष चौधरीले बताए।

वैज्ञानिक वन व्यवस्था लागू भएको सामुदायिक वनको वार्षिक आम्दानी एक करोड ५० लाख रुपैयाँभन्दा बढी रहेको छ। आम्दानीको २५ प्रतिशत वन विकास, ३५ प्रतिशत विपन्न वर्गको जीवनस्तर उकास्ने कार्यमा र ४० प्रतिशत रकम कार्यालय सञ्चालनमा खर्च हुने गरेको छ। सामुदायिक वनकै पहलमा विपन्न वर्गका बालबालिकाका लागि कम्प्युटर डिप्लोमा कोर्षसमेत सुरु गरिएको छ। प्रशिक्षक र कम्प्युटरको व्यवस्था गरी सामुदायिक वनकै कार्यालयमा कक्षा सञ्चालन हुँदै आएका छन्।

विसं २०५६ मा स्थापना भएको सामुदायिक वन २०४ हेक्टर क्षेत्रफलमा फैलिएको छ। सामुदायिक वनमा ३१४ उपभोक्ता रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.