|

पाँचथर : हिलिहाङ गाउँपालिकाको केन्द्र पञ्चमीनजिकै रहेको सिद्ध माविको निर्माणाधीन भवनमा ठेकदारको बद्मासी देखिएको छ। मापदण्ड विपरीतको निर्माण सामग्रीको प्रयोगदेखि लिएर बद्मासीपूर्ण ढंगले भवन निर्माण गराउँदै आएको पाइएको हो। भवन निर्माणको क्रममा केही ठाउँमा टुक्रा-टाक्री इँट्टा प्रयोग गरेका छन्।

फर्मा पनि काठको हुनुपर्नेमा बाँसको प्रयोग गरेका छन्। झ्यालको चौकोस सानो र दुई/तीन ठाउँमा बीचतर्फ बाङ्गो पनि छ। यससँगै गिटी पनि आवश्यकता भन्दा ठुल्ठूला प्रयोग गरेका छन्। निर्माणाधीन २ तले विद्यालय भवनको रेखदेख गर्दै आएका सोही गाउँपालिकाका सब-इञ्जिनियर अनिल थुलुङ राईले भवन निर्माणमा ठेकेदारले गरेको बद्मासीको पुष्टि गरे।

भवन निर्माण ठेकेदार श्याम तुम्रोकले गर्दै आएका छन्। भवन निर्माणमा प्रयोग गरिएका इट्टालाई सब-इञ्जिनियर थुलुङले ‘थर्ड क्लास’ को भनेका छन्। यसप्रति आफूले पहिलेदेखि नै ठेकेदार तुम्रोकलाई गुनासाे गर्दै आएको बताए। ‘निर्माण सामग्री र कामको कम्प्लेन मैले पहिलेदेखि नै गर्दै आएको हुँ। इँट्टा ‘थर्ड क्लास’ को प्रयोग गरिएको छ’ उनले भने, ‘झ्यालको चौकोस पनि सानो र दुई तीन ठाउँमा बाङ्गो लगाएका छन्। र गिटी ठूलठूला पनि प्रयोग गरेको देखिन्छ।’

कक्षा ११ र १२ सञ्चालन गर्न विद्यालय भवन निर्माण थालिएको हो। शिक्षा विकास तथा समन्वय इकाइको ३६ लाख रूपैयाँ बजेटमा भवन निर्माणाधीन छ। सम्झौता भएअनुसार भवन यसअघि नै निर्माण सकेर विद्यालयलाई बुझाउनु पर्ने थियो। तर अझै पनि सकेको छैन। भवनमा एक बोरा सिमेन्ट बराबर सात बोरा गिटी र बालुवा प्रयोग गरेको ठेकेदार श्याम तुम्रोकसँग ठुस्किएका पेटी ठेकेदार सनम लिम्बूले आरोप लगाए।

‘सरकारी अनुपात त १.४ हो। मैले त्यसरी लगाउनुपर्छ भनें र प्रयोग गराउन खोजें’ उनले भने, ‘फोनबाटै ठेकदारले तिमी बाठो नहुनु भनेर हप्काए। त्यसपछि ठेकदारले भने जसरी १.७ को अनुपातमा प्रयोग गरेकै हो।’

भवनमा प्रयोग गरिएका रड पनि ३/४ को हुनुपर्नेमा २/३ को प्रयोग गरिएको सनमले बताए। यदी त्यसरी नै प्रयोग गरेको भए यो सरकारी मापदण्ड भन्दा बिपरित हुन आउँछ। तर सब–इञ्जिनियर थुलुङले भने त्यस्तो नभएको बताए। उनले कम्पलेन गर्नु नपर्ने गरिको रडसँगै गिटी, बालुवा र सीमेन्टको मात्रा मिलाएर प्रयोग गरिँदै आएको बताए।

यद्यपि उनले भवन निर्माणमा क्वालिटी कन्ट्रोल भने पटक्कै गर्न नसकिएको बताए। ‘शिक्षा विकास तथा समन्वय इकाइबाटै डिजाइन स्टिमेट बनेको थियो। यहाँ त हामीले स्थानीय स्तरमा दर विश्लेषण गर्न पाएनौं नि। नपाएपछि त क्वालिटी कन्ट्रोल हुँदैन’ उनले भने, ‘फेरि डिजाइन स्टिमेटमै पनि गलत छ। २० प्रतिशत श्रमदान गर्दा हुन आउने कूल बजेट त ४७ लाख हुनु पर्नेमा ४५ लाख मात्रै स्टिमेटमा देखिन्छ।’

यता विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवन गिरीले एकपटक आफूहरूले पनि ठेकेदारले प्रयोग गर्न लागेको गिटी क्यान्सिल गरेको बताए। तर निर्माण सामग्रीहरू गुणस्तरहीन प्रयोग गरिरहेको भन्ने नलागेको बताए। विद्यालयका प्रधानाध्यापक भगिश्वर योङहाङले पनि भवन निर्माणमा प्रयोग भएका सामानदेखि ठेकदारको काम गराईप्रति पहिलेदेखि नै चित्त नबुझेको बताए।

‘स्लाप ढलान निक्कै पातलो गर्न लागेको रहेछ। मैले थप्न लगाएँ’ उनले भने, ‘ठेकेदार जी ले राम्ररी काम नगरेकै हो। तपाइँहरूले पनि भन्नुपर्‍यो।’ दुईतले भवनमा चार कोठा निर्माण गरिँदैछ। भवनको प्लाष्टर गरेर फिनिसिङ निकाल्न बाँकी नै छ। सम्झौता अनुसार ६० सेट डेस्क बेञ्च पनि निर्माण गर्न बाँकी छ। तर पनि गाउँपालिकाले जनाए अनुसार ९० प्रतिशत रकमको भुक्तानी ठेकदार तुम्रोकले लिइसकेका छन्।  

के भन्छन् ठेकेदार श्याम तुम्रोक?

गुणस्तरहीन निर्माण सामग्री प्रयोग गर्‍यो भन्ने सब कुरा पेटी ठेकेदार वीरबल मादेन मसँग रिसाएपछि बाहिर आएको हो। नरिसाउञ्जेल ठीक थियो। उनी रिसाएपछि बेठीक भन्ने हुँदैन। सब-इन्जिनियरले भने जस्तो पनि होइन। एउटा चाहिँ के भने चौकोस एउटा सानो लगाएको रहेछ। म झिक्न लगाएर अर्को लगाउन लाउँछु। फेरि चौकोस संखुवाको लगाउन लगाएको छु। यो भन्दा राम्रो काठ अन्त त्यति प्रयोग गर्दैनन्। फर्मा बाँसको लगाएको भन्ने कुरा जो छ, त्यो त अढ्याएको न हो। बाँसदेखिमाथि त प्लाइउड छ। त्यसमाथि प्लाष्टिक छ।

बाँस त पछि रहँदैन। झिकिन्छ। इँट्टा त झन् पाँचथरकै सबैभन्दा राम्रो ‘मनिश इट्टा’ प्रयोग गरेको छु। फिदिमदेखि लगेर त्यति टाढा पुर्‍याउँदा केही त भाँचिन्छ, टुक्रिन्छ। फेरि कतिपय त टुक्रा पनि गर्नुपर्छ। अनि ढुवानी खर्चले गर्दा निक्कै महँगोमा पुग्छ त्यहाँ।

टुटेफुटेका पनि प्रयोग गर्नु हुँदैन भन्ने होइन तर काम गर्नेले टुटे फुटेका चाहिँ एक/दुई ठाउँमा लस्करै लगाएका छन्। यो उनीहरूको बद्मासी हो। र गिटी त त्यस क्षेत्रमा पाइने चिउरे ढुंगाको छ।

स्थानीय स्तरमै उपलब्ध ढुंगाको छ। राम्रो छ। ठूलो भन्ने पनि होइन। गुणस्तरयुक्त निर्माण सामग्री छन्। बीरबल मादेन रिसाएपछि बाहिर आएको हो। उनी हुँदासम्म ठीक त्यसपछि बेठीक भन्ने त हुँदैन। फेरि म श्रमदान २० प्रतिशत गराउँदा र त्यसपछि सामानको ढुवानीले गर्दा सिधै पाँच लाख घाटामा जाँदैछु। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.