|

विराटनगर : विराटनगर ४ कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा एकजना विरामीको मृत्यु भएपछि आइतबार दिउँसो तनाव उत्पन्न भएको छ। घुँडाकोे शल्यक्रिया गरेपछि सुनसरीको दुहवी नगरपालिका ६ का ४७ वर्षीय सुनिलकुमार साहको आइतबार विहान मृत्यु भएको थियो। 

चिकित्सकले उपचारको क्रमममा लापरबाही गरेको भन्दै मृतकका आफन्तहरू आन्दोलनमा उत्रिएका छन्। लापरबाही गर्ने चिकित्सकलाई कारवाहीको माग राख्दै उनीहरूले अस्पताल अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। 

घरबाट मोटसाइकल निकाल्ने क्रममा गत बिहीबार साहको घुँडामा चोट लागेको थियो। सोही दिन घुँडामा लागेको चोटको नोबेलमा उपचारपछि उनी घर फर्किएका थिए। शुक्रबार फलोअपमा नोबेल अस्पताल आएका उनलाई अस्पतालका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा.धिरज सिंहले शल्यक्रिया गर्नुपर्ने बताएपछि अस्पतालमै भर्ना भएका थिए। डा. सिंहको टिमले नै साहको शल्यक्रिया गरेको थियो।

‘डा. सिंहले घुँडामा लागेको चोट बढ्दै गएकोले शल्यक्रिया गर्नुपर्ने भनेकोले हामी तयार भयौंं’ मृतकका भाइ प्रदिप साहले भने, ‘शनिबार शल्यक्रिया भएपछि हामीलाई भेट्न पनि दिइएन र आइतबार विहान दाजुको मृत्यु भइसकेको जानकारी दिइयो।’

एकछिन अगाडि घरबाट मोटसाइकल चलाएर आएको मान्छेलाई अस्पतालले मृत घोषणा गरेपछि आफन्त आक्रोशित भएका थिए। खुट्टाको उपचार गर्दा मान्छेको कसरी मृत्यु भयो भन्ने अनुसन्धान हुनुपर्ने आफन्तको माग छ। उनीहरूले साहको विहानै मृत्यु भएको भए पनि ९ बजे मात्र जानकारी दिनुको कारण पनि माग गरेका छन्।

उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कडा कारवाहीको माग पीडित पक्षले राखेको छ। नोबेल मेडिकल कलेजका प्रशासकीय अधिकृत नारायण दाहालले भने उपचारको क्रममा विरामीको मृत्यु भएको भन्दै अस्पतालले कुनै पनि लापरबाही नगरेको दाबी गरे।

शल्यक्रिया गरेपछि वार्डमा सार्ने क्रममा ‘हर्टएट्याक’ भएर उनको मृत्यु भएको अस्पतालको भनाई छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.