|

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका–११ सिसैयामा छोराले बुबाको हत्या गरेका छन्।  आइतबार राति ५५ वर्षीय उदे रावतले ७५ वर्षीय काल्चे रावतलाई धारिलो हतियारले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। छोराको आक्रमणबाट आमा नन्दे रावत पनि गम्भीर घाइते भएकी छन्। उनको अवस्था चिन्ताजनक रहेको प्रहरीको बताएको छ।

‘बुबा आमा दुवैलाई मार्ने उद्देश्यले आक्रमण भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले भने, ‘आमाको भागेर ज्यान बचेको हो।’ 

मृतकको टाउकोमा ठूलो चोट लागेको प्रहरीले जनाएको छ। ‘पटक पटक धारिलो हतियारले प्रहार गरेको देखिन्छ,’ प्रहरी नायब उपरीक्षक बस्नेतले भने, ‘टाउकोमा पाँच इन्च जति गहिरो चोट छ। खुट्टा र घाँटीमा पनि चोट देखिएको छ।’

काल्चे छोरोको आक्रमणबाट ज्यान बचाउन उनी खेतमा भागेका थिए। उनका घर नजिकैको खेतमा प्रहरीले शव फेला पारेको छ। घरमा सबै निदाएका बेला आक्रमण भएको प्रहरीले जनाएको छ। ‘बुबा आमासँगै रहेको बेला आक्रमण भएको देखिन्छ,’ बस्नेतले भने, ‘बुबाले ज्यान जोगाउन सकेनन् आमा रगताम्मे हुँदै भागेर बाँचिन्।’

घटना भएको १५ मिनेटपछि प्रहरीले घटनाबारे जानकारी पाएको थियो। करिब ११ किलोमिटर पर रहेको इलाका प्रहरी कार्यालय सुखडको टोली त्यसको १५ मिनेटपछि घटना स्थलमा पुगेको थियो। ‘हामी पुग्दा घर वरिपरि पुरै रगताम्मे थियो,’ घटना स्थल पुगेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीले भने, ‘एक जनाको तत्काल उद्धार भयो। एक जनाको घटना स्थलमै ज्यान गइसकेको थियो।’ 

बुबा आमालाई आक्रमण गरेर उदे रावत फरार थिए। उनलाई घटना भएको तीन घटनापछि प्रहरीले नियन्त्रणमा लिएको हो। ‘घरभन्दा करिब ७÷८ सय मिटर पर उनलाई फेला पारेका हौं,’ प्रहरी निरीक्षक जोशीले जानकारी दिए।

छोरोको आक्रमणबाट घाइते भएकी नन्देको घोडाघोडी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि कोहलपुर मेडिकल कजेल लगिएको छ। उनको टाउको, घाँटी र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। 

घरायसी विवादका कारण छोराले बुबा आमामाथि धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ। ‘मदिरा सेवन गरेर सधैँ विवाद गर्ने गरेको भन्ने छ,’ प्रहरी नायब उपरीक्षक बस्नेतले भने, ‘हिजो पनि त्यही विषयमा विवाद हुँदा हत्या भएको शंका छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.