|

डडेल्धुरा : डडेल्धुरामा मजदुरी गर्ने महिलाको संख्या पछिल्लो समयमा बढेको छ। गाउँका अधिकांश पुरुष कामको खोजीमा भारत तथा खाडी मुलुक जाने भएकाले गाउँमा मजदुरी गर्ने काममा महिलाहरु नै अग्रसर हुन थालेका हुन्। 

विकास निर्माणका काम महिलाहरुले सम्हाल्दै आएका छन्। मजदुरीका लागि भारत गएका अधिंकाश पुरुषले वर्षमा एक पटक मात्र घरखर्च पठाउने गरेका छन्। यसैले पनि घरभित्रको काममा सीमित यहाँका महिलाहरू पछिल्लो समय दैनिक ज्यालामा मजदुरीमा काम गर्न निस्किएका हुन्। तर, रोजगारदाताले भने पुरुष र महिलामा पारश्रमिकमा विभेद गर्ने गरेको महिलाहरुको गुनासो छ। 

‘हामी पनि पुरुषजत्तिकै दैनिक आठ घण्टा काम गछौँ,’ स्थानीय भागाकुमारी श्रेष्ठले दुखेसो पोखिन्, ‘तर पारिश्रमिक पाउँदा पुरुषको तुलनामा कम पाउँदै आएका छौं।’ बढ्दो शहरीकरण र श्रमबजारमा पुरुषसँगै महिलाहरूको संख्या बढिरहेको अवस्थामा ज्यालामा विभेद गर्न नहुने श्रमिक महिलाहरु बताउँछन्। मिस्त्रीभन्दा मजदुरको पारिश्रमिक कम हुने र आफूहरुलाई पनि उनीहरु बाराबरकै पारिश्रमिक हुनु पर्ने गीतादेवि कामीको माग छ।

‘काम गर्ने बेला पुरुषभन्दा बढी गर्छाैँ तर ज्यालामा भने हामीलाई विभेद ग¥यो,’ उनले भनिन्, ‘मजदुरी गरेर साँझबिहान खानाको जोहो गर्छाैँ। मजदुरी गरेरै नै परिवारको खर्च र छोराछोरीको पढाइ खर्च यसैबाट धानीरहेका छौँ।’ 

दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका महिलाहरूले समान कामका लागि समान ज्याला पाउन नसकेको गुनासो गरेका गरेका छन्। लैङ्गिक समानताका लागि नियमहरु बनेका भए पनि तिनको कार्यान्वयन प्रभावकारी नभएको विज्ञहरु बताउँछन्। 

यता, रोजगारदाताहरु भने पहिलेदेखि नै चलेको चलन भएको भन्दै महिला मजदुरलाई पुरुषको तुलनामा कम पारिश्रमिक दिँदै आएको स्वीकार गर्दछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.