|

अर्घाखाँची :  घर नजिकै बिजुलीका पोल गाडिएको भए पनि अर्घाखाँची जील्लाको दुर्गम क्षेत्र जलुकेका बासिन्दा बत्ती बल्ला र सुखको अनुभुती गर्न पाईएला भन्नेमा ढुक्क हुन सकेका छैनन्। पोल गाडिएको लामो समय बितिसक्दा पनि गाँउमा बिजुली बल्न नसक्दा जलुके, रातामाटा, थख्लेनी, चौवा , खैरेनी, बुक्का , टाकुरा, लामाताल, दमारबेसी, कालाखोला, बाघे ,दुवारे गाँउका ४ सय बढि घरधुरी अझै पनि टुकि र दियालो बालेकै भरमा गुजारा गर्दै आएका छन्।

जनप्रतिनिधिको गुनासो

७५ सालमा सम्झौता गरि ०७६ सालको असार मसान्तभित्र बुझाउने गरी १ करोड ५० लाख रूपैयाँ  बढी रकममा विश्व बैंकले एलटी लाईन जोड्न ठेक्का लिएपनि असार मसान्त भित्रमा काम पुरा नगरि सम्झौता विपरित पोल गाडेर अलपत्र पारेको सितगंगा ७ का वडा अध्यक्ष मोहन प्रसाद पन्थीले बताए।

ठेकदार कोहो ,कसरी काम भैरहेको छ, ठेकदारको बारेमा बुझ्न खोज्दा कसैले जानकारी दिन नखोजे पछि हामीले जानकारी पाउन नसकेको उनले गुनासो गरे।

बाटोमा अपारदर्शी रुपमा अलपत्र पारेर यत्रतत्र पोल गाडिएको छ, छरिएको छ। ठेकदारको लाहापत्ता भएपछी नागरिकमा बत्ती बाल्ने आशा हराउदैँ गएको अध्यक्ष पन्थीको भनाई छ। गाँउका सोझा साझा जनता माथी  खेलवाड गरेर ठेकदारले मुनाफा कमाउन खोजेको उनले बताए।

नेपाल विद्युत प्राधिकरण शाखा अर्घाखाँचीले पनि (एचटी) हाईटेन्सन लाईन जडान गर्न असार मसान्त भित्र काम सक्ने सम्झौता गरी काम सुरु गरेपनि समय भित्र काम गर्न सकेको छैन। प्राधिकरण र ठेकदार सँग सोधपुछ गर्दा कहिले तार कम्पनीमा सकिएको , कहिले पोल नआएको बहाना गरेर उम्किने काम गरिरहेको अध्यक्ष पन्थीले बताए।

बिजुली आउने आशै आशमा स्थानीय

उमेरले ७० काटेका स्थानिय जग बहादुर आले भन्छन्, 'हाम्रा बाउबाजेले पनि टुकी र दियालो बालेरै मरे, तर अहिले हामी पनि यो उमेर पार गर्दा सम्म बिजुली कस्तो हुन्छ भन्ने कुरा देख्न पाइएन।' जनप्रतिनिधी नेताहरुलाई सोध्दा आउँछ भनेर आश्वासन दिन्छन् तर पोल गाडेको लामो समय बितिसक्दा पनि कसैले बिजुली जोड्ने कुरामा चासो नदिएको उनले गुनासो गरे। उनी भन्छन्,'काम भन्दा खान बढी खोज्दा छिटो हुने काम पनि अलपत्र हुने गरेको छ।'

विश्व बैंकले ठेक्का लिएर कामको सुरुवात गरेपनि समयमा काम नहुने, ठेकदारको अत्तोपत्तो नहुने, काममा ढिला सुस्ती गर्ने , निरन्तर काम नगर्दा स्थानिय बासिन्दा अहिले सम्म अध्यारोमा बस्न बाध्य भएको आलेले बताए। पोल गडेपनि तार तान्ने सुरसारनै नभएको स्थानीय देविराम घिमिरेले बताए।

'अब बर्खा नै लाग्यो गाडी चल्न पनि छोडे कसरी झन काम अगाडी बढ्ला र? जहाँ गरिब, पछौटेपन, जहाँ दुर्गम त्यहाँ हेर्ने राज नेता प्रतिनिधी कोही पनि हुदोरहेनछ। हामीले कहिले पनि बिकाशको फल चाख्न पाएनौं', उनी भन्छन्, 'वर्षभरीमा सजिलो सँग ३ महिना गाडि चल्दैन। बर्खालाग्यो ९, १० घण्टाको बाटो हिडेर उपचार गराउन ठाडा सम्म जानु पर्छ।' अब त गाँउमा बिजुली आउँला र बालौला भनेर आसामा बसेका हामी सोझा जनता माथी ठेकदारले खेल खेल्छ उनले बताए। समयमा निरन्तर काम गरेको भए अहिले जनताको घरघरमा बत्ती बल्ने थियो।

हिउँदमा गाडी चल्ने महिनामा ठेकदारले ठगेरै समय बितायो अहिले यो बर्खाको माँझमा गाडी पनि चल्दैनन् काम पनि ठप्प भएको घिमिरेको भनाई छ। नेपाल बिधुत प्राधिकरण अर्घाखाँचीले सुरु गरेको काम पनि अलपत्र रहेको उनले बताए। एचटी लाईन जडानको काममा जिम्मा लिएको प्राधिकरणले कहिले तार आएन। कहिले पोल आएन, कहिले मित्री भएन भनेर काममा आलटाल गरेर काम बिचमै अलपत्र पारिरहेको घिमिरे बताउँछन्।

तार आएन काम रोकियो विश्व बैंक

२ बर्ष अघि अर्घाखाँची जिल्लाका बाँकी ठाँउमा विद्युतीकरणका लागि झण्डै ४० करोड रकममा ठेक्का लिएको विश्व बैंकले प्राधिकरणले तार समयमा नदिएका कारण काम रोकिएको  बताएको छ। एलटी लाईन वितरणका लागि पोल गाडिएको छ। समयमा प्राधिकरणले तार नपठाएका कारण बर्खा लाग्नु अघि काम सम्पन्न हुन नसकेको विश्व बैंकका प्रोजेक्ट म्यानेजर प्यारु राणाले बताए। उनी भन्छन्, 'सम्झौता अवधी पनि सकियो काम पुरा हुन सकेन।'

अलपत्र कामपुरा गर्न अहिले पुन एक वर्ष म्याद अवधी थपिएको छ बर्खा सकिए लगत्तै काम सुरु हुने उनले बताए।  जिल्ला भरी ८ हजार ५ सय एलटी लाईनका बिजुलीका पोल गाड्न ठेक्का लिएको विश्व बैंकले गुल्मी, अर्घाखाँची र कपिलवस्तु ३ जिल्लामा बिधुतीकरणको जिम्मा लिएको छ।

१५ दिनमै काम सकिन्छः  नेपाल बिद्युत प्राधिकरण अर्घाखाँची

३० लाख ८६ हजार ३ सय ८२ रुपियाँमा जलुकेमा विद्युतीकरण कामको सुरुवात गरेको नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय अर्घाखाँचीले क्षेत्रिय कार्यालय बुटवलले समयमा तार पोल नपठाउदा काम हुन नसकेको बताएको छ। ०७५-०७६ को मंसिर र फागुन महिनामा निकालिएको ठेक्काको सम्झौतामा खरिद

प्रक्रियामा कुरा नमिलेपछी दुई दुई पटक  रद्ध भएको र यो आर्थिक वर्ष ०७६-०७७ को असारमा भएको ठेक्का सम्झौता अनुसार सामान खरिद भइरहेको नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय अर्घाखाँचीका प्रमुख विरमान राजकोटीले बताए। उनी भन्छन्, ' जिल्ला प्राधिकरणलाई पोल र तार खरिद गर्न पाउने अख्तीयारी छैन।'

 क्षेत्रीय कार्यालय बुटवलले खरिद गरेर पठाउने हो तर समयमा सामान नआउदा काम अलपत्र भएको बताए। जिल्ला शाखाले जडान गर्न प्रतिभा निर्माण सेवालाई जिम्मा दिएको उनले बताए। अहिले १८ किलोमिटर हाईटेन्सनको तार आउँन बाँकी रहेको भन्दै राजकोटीले लगभग अरु सामान आईसकेको छ।  पानी बसेर गाडी चल्न सकेमा र एलटी लाईन जडानको जिम्मा लिएको विश्व बैंकले सँगसँगै काम गरेको खण्डमा १५ दिनमा गाँउमा बत्ती बल्ने कार्यालय प्रमुख राजकोटीको भनाइ छ।

करिब जिल्लाको ६ ओटा स्थानीय तह मध्ये सितगंगाको ७ ,८ ,९, १०, ११, १२, १३ र १४ वडाको बिभिन्न ठाँउमा विद्युतीकरणको काम पोल र तार नआएका कारण अलपत्र रहेको उनले बताए। विद्युतीकरणको जिम्मा लिएपनि समयमै काम पुरा गर्न नसक्दा नागरिकले सास्ती खेप्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.