|

दाङ : तुलसीपुरका सञ्चार उद्यमी देवीप्रसाद धिताल हेमराजको हत्याको साउन ७ गते ९ वर्ष हुन्छ। तर हत्या भएको यति लामो समय सम्म हत्याराको पहिचान गर्न नसेको भन्दै प्रहरी प्रशासनप्रति परिवारले नागरिकले आक्रोस ब्यक्त गरेका छन्।

२०६७ साल साउन ७ गते बेलुकी पौने ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका १२ हेमनगरमा एक समूहले गोली हानी धितालको हत्या गरेको थियो। हत्या गरिएका सञ्चार उद्यमी धितालको ९ औँ स्मृतिमा सोमवार तुलसीपुरमा आयोजित अन्तरक्रियामा सहभागीले धितालको हत्यामा संलग्न ब्यक्तिलाई पक्राउ गर्न नसक्नुको कारण समेत माग गरेका छन्।

कार्यक्रममा प्रतिनिधि सभाका सदस्य हिराचन्द्र केसी, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल,जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखको सहभागिता रहेको कार्यक्रममा धिताल हत्यामा संलग्नलाई पक्राउ गर्न नसकिएकाेमा सहभागीले प्रश्न गरेका थिए। स्वर्गीय धितालकी श्रीमती मञ्जु धितालले भनिन्, 'मेरो श्रीमानको हत्या भएकाे ९ वर्ष पुग्यो। तर हत्यारा पत्ता लागेको छैन' उनले भनिन्, 'घटना भएको २ हप्तामा पत्ता लगाउछौँ भन्ने प्रशासनले ९ वर्षसम्म पत्ता नलगाउनुका कारण के हो?' उनले हत्या भएको ९ वर्षसम्म पनि आफूहरूले न्याय नपाएको गुनासो गरिन्।

उनले देशमा पछिल्लो चरणमा धेरै घटना भएकाले आफू जस्तो अरुले पनि पीडा पाएकाले राज्यले कडा कानुन बनाई हत्यारालाई कानुनी दायरामा ल्याउनु पर्ने समेत माग गरिन। त्यसैगरी प्रतिनिधि सभाका सदस्य हिराचन्द्र केसीले हेमराज हत्याकाण्डका दोषीको पहिचान नै हुन नसक्नु, प्रहरी प्रशासन नै गम्भीर हुन नसकेको आशंका ब्यक्त गरे। उनले भने, 'अनुसन्धान जारी छ। त्यससमयमा प्रशासनको जिम्मेवार सम्हालेका ब्यक्ति अहिले छैनन। अहिलेका प्रहरी प्रशासन प्रमुखले निर्देशन लिन चाहनु हुँदैन। कसरी शान्ति सुरक्षा काम हुन्छ।'

यता प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले २ वटा सुचक शान्ति सुरक्षाका लागि महत्वपूर्ण हुने बताए। उनले पहिलो बिगतको तुलनामा आपराधिक घटना घट्ना वा अपराधी पक्राउ पर्नु, दोस्रो नागरिकले शान्ति सुरक्षाको महसुस गर्नु, शान्ति  सुरक्षाका सूचक हुन्छ ।

सुरक्षाको जिम्मेवारी प्राप्त गरेकाले शान्ति सुरक्षा मजवुत भनी दावी गर्दा आत्मप्रशंसा मात्र हुने बताए। त्यसैगरी दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले कानुन विकशित मुलुकमा लागु भए झैं छन् तर नेपालको सुरक्षा निकायको जिम्मेवारी परम्पारगत रुपमा भइरहेको बताए। उनले बलजफ्ती काम गर्नुपर्ने अवस्था नेपाल प्रहरीमा भई रहेको समेत  बताए।

गत भदौदेखि लागू भएको नेपालको फौजदारी संहिताका कारण प्रहरीले बिनाकारण ब्यक्तिलाई अनुसन्धानमा नियन्त्रण गर्न नसकिने अवस्थामा तरवारको धारमा प्रहरीले काम गर्नु परेको उनले दुखेसो गरे।

दाङका प्रहरी प्रमुख पाण्डेले यो घटनालाई प्रहरीले सूक्ष्म अध्ययन गरिरहेकाले अुनसन्धानमा सहयोग गर्न परिवार, प्रतिष्ठान र  नागरिक समाजसँग आग्रह गरे।कार्यक्रममा मानव अधिकारकर्मी निर्मल नेपाली,यातायात ब्यवसायी प्रेमबहादुर बस्नेत, यातायात मजदुर केशवबहादुर भण्डारी, गुरु जजुर उच्च माविलाई सम्मान गरिएको छ। रेडियो तुलसीपुरका सह-सम्पादक सर्मिला डिसी, रेडियो मध्यपश्चिमका पत्रकार प्रेमबहादुर राम्जा र एसइईमा ३.१५ जिपीएस प्राप्त गरेकी दृष्टिविहीन कल्पान बिकलाई पुरस्कृत गरिएको थियाे।

धिताल रेडियो तुलसीपुरको तत्कालीन अध्यक्ष,राप्ती सार्वजनकि यातायात समिति,लायन्स क्लव, राजनीतिककर्मी लगायत विभिन्न संघ संस्थामा आबद्ध थिए। स्वर्गीय धितालको स्मृतिमा बिभिन्न कार्यक्रम गर्न प्रतिष्ठान समेत गठन गरिएको छ। प्रतिष्ठानले वर्षेनी दवावमूलक र अन्य सिर्जनशील कार्यक्रम गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.