अमेरिकाको ७३ प्रतिशत घट्यो, दक्षिण कोरियाले बढायो

|

काठमाडौं : नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धताको ड्राफ्ट हेर्दा दुई ठूला छिमेकी देशको तथ्यांक ८ वर्षमा  ठीक उल्टो देखिएको छ। आर्थिक वर्ष २०६६/६७ मा चीनको तुलनामा भारतले सहयोग सात गुणा वृद्धि गरेको थियो। ८ वर्षको अधिमा  भारत भन्दा चीनको लगानी प्रतिद्धता दुई गुणा बढी पुगेको छ।

२०६७/६८ मा चिनियाँ लगानीकर्ताले एक अर्ब २३ करोड ५० लाख रुपैयाँ लगानी प्रतिवद्धता गरेका थिए। तर त्यही समयमा भारतीय लगानीकर्ताले सात अर्ब ७० करोड रुपैयाँको प्रतिवद्धता जनाएका थिए। त्यो बेला चीनको तुलानमा भारतको लगानी प्रतिवद्धता सात गुणाले बढी थियो।

आर्थिक वर्ष २०७५/७६ को तथ्यांक हेर्दा भने ठीक उल्टो देखिन्छ। भारतको लगानी आठ वर्ष पहिलेको तुलनामा पनि एक अर्ब रुपैयाँ घटेको छ। चीनको लगानी प्रतिवद्धता ११ अर्ब भन्दा बढी छ। भारतको ६ अर्ब १९ करोडको लगानी प्रतिवद्धता आउँदा चीनको १२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। यस हिसाबले भारतको तुलनामा चीनको लगानी प्रतिवद्धता दुई गुणाले वृद्धि भएको छ।

तर पछिल्लो दुई आर्थिक वर्षलाई हेर्ने हो भने चिनियाँ लगानीकर्ता नेपाल आउन निकै कम गरेको प्रमाणित हुन्छ। आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ मा ७४ प्रतिशतले घटेको छ। 

लगानी प्रतिवद्धता ५० प्रतिशत घट्यो

आर्थिक वर्ष २०७४/७५ को तुलनामा आर्थिक वर्ष २०७५/७६ मा लगानी प्रतिवद्धता ५० प्रतिशतले घटेको छ। सरकार लगानी ल्याउन पटक पटक प्रयास गर्दा लगानीकर्तालाई प्रभाव पार्न नसकेको देखिएको छ। स्वदेशी लगानीकर्तालेसमेत लगानी थप्‍न डराइरहेको अवस्थामा विदेशी लगानीकर्ताको लागनी प्रतिवद्धता घटेको छ। लगानी प्रतिवद्धतासमेत निरन्तर घट्दै गएको छ। 

गत आर्थिक वर्ष ०७५/७६ मा कुल २३ अर्ब ९४ करोड ९२ लाख रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएको छ। यो अघिल्लो आर्थिक वर्षको भन्दा ५० प्रतिशतले कमी हो। अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा कुल ५५ अर्ब ७६ करोड ६० लाख रुपैयाँ विदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांक छ । 

कुल ३ सय ३७ वटा उद्योग दर्ता गराएका छन् । त्यसमध्ये कृषि तथा वनमा आधारित १७ वटा, सूचना प्रविधिका २४ वटा, प्रशोधन (उत्पादन) का ६१ वटा, खानीका २ वटा, सेवा क्षेत्रका १ सय ५ वटा र पर्यटन क्षेत्रका १ सय २८ वटा उद्योग छन् । ती उद्योगले नेपालमा १४ हजार १ सय २ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।

चीनको लगानी घट्यो भारतको बढ्यो

गत आर्थिक वर्षमा सबैभन्दा बढी चीनको लगानी थियो। चिनियाँ लगानीकर्ताले नेपालमा १ सय ६ वटा उद्योगमा १२ अर्ब १२ करोड रुपैयाँ लगानी गर्न स्वीकृति लिएका छन् । त्यस्तै, भारतीय लगानीकर्ताले ४९ वटा उद्योगमा ६ अर्ब १९ करोड रुपैयाँको विदेशी लगानी स्वीकृति लिएका छन् ।

तर अघिल्लो आर्थिक वर्षको तुलनामा दक्षिणी छिमेकी भारतले एक अर्ब रुपैयाँ लगानी बढाउँदा चीनको ३४ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता घटेको छ। आर्थिक वर्ष २०७४/ ७५ भारतले पाँच अर्ब नौ करोड रुपैयाँको लगानी प्रतिवद्धता गरेको थियो। तर यसको तुलनामा एक अर्ब १० करोड रुपैयाँ लगानी प्रतिवद्धताको स्वीकृति गराएर ६ अर्ब १९ करोड रुपैयाँ पुर्‍याएको छ। 

त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा चीनले ४६ अर्ब ५३ करोड  लगानी प्रतिवद्धता जानएको थियो। तर आर्थिक वर्ष ७५/७६ मा भने ७४ प्रतिशतले घटेको छ। जसअनुसार १२ अर्ब १२ करोडको लगानीको लागि उद्योग विभागले स्वीकृति दिएको छ।

अमेरिकाका ७७ र जापानको ६० प्रतिशत घट्यो

चीन र भारतपछि नेपालमा बढी लगानी गर्ने राष्ट्र अमेरिका हो। तर अघिल्लो वर्षको तुलानमा अमेरिकाको लगानी ७३ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७४/७५ मा एक अर्ब ८ करोड रुपैयाँ लगानी प्रतिवद्धता गरेको अमेरिकाले पछिल्लो आर्थिक वर्षमा भने २५ करोड रुपैयाँको मात्रै लगानी प्रतिवद्धता जनाएको छ। उसलाई १५ उद्योगको लागि यो स्वीकृति दिइएको हो। 

त्यस्तै जापनाको लगानी पनि घटेको छ। आर्थिक वर्ष २०७४/७५ मा ४३ करोडको लगानी प्रतिवद्धता आएकोमा पछिल्लो आर्थिक वर्षमा १७ करोड रुपैयाँ मात्रै रहेको छ। तर साउथ कोरियाको लगानी प्रतिवद्धता भने बढेको छ। आर्थिक वर्ष २०७४/७५ मा ३३ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएकोमा ७५/७६ मा २० प्रतिष्ठानको लागि ७० करोड ४० लाख लगानी प्रतिवद्धता आएको छ।

चीनको लगानी अझै बढ्नुपर्ने थियोः राणा

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा उपयुक्त वातवरण भएमा चीनको लगानी बढ्नसक्ने बताउँछिन्। 'चीन संसारको लगानी बढाउँदै गएको छ। ऊ लगानी विस्तारको अभियानमा लागेको अवस्थामा नेपालमा आएको लगानी न्यून हो। यो अझै बढ्न सक्छ', राणाले थाहा खबरसँग भनिन्।

राणाले ठूला प्रोजेक्टमा चीनको लगानी अझै आउन नसकेको बताइन्। चीनको धेरै लगानी साना प्रोजेक्टमा आएकोले अझै बढाउन सकिने उनी बताउँछिन्। 'चीनले आफूले गनुपर्ने विकास गरिसकेको छ। अब उसले वैदेशिक लगानी विस्तार गर्नेमात्र हो, नेपालमा त्यसको प्रभाव अवश्य पर्छ', राणा भन्छिन्।

राजनीतिक अस्थिरता, शान्ति सुरक्षाको प्रत्याभूति नहुनु र ठूलो लगानी ल्याउन कानुनी जटिलता भएकाले विगतमा भारतीय लगानी घटेको राणाको भनाई छ। भारतलाई पनि लगानी चाहिएकाले नेपालमा लगानी बढ्न नसकेको उनी बताउँछिन्। 'भारत आफैंलाई लगानीको आवश्यकता छ। भारतमा लगानी गर्दा धेरै प्रतिफल प्राप्त हुन्छ। त्यसको प्रभावस्वरुप नेपालमा लगानी घट्दै गयो', उनले भनिन्।

चालु वर्षमा लगानी बढ्छ: उद्योग विभाग

उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले चालु वर्षबाट लगानी बढ्ने बताए। कानुनी प्रावधान सुधार गरेर अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएकाले त्यसको प्रभाव पर्ने उनले बताए। 

'कानुनी र संरचनागत सुधारबारे अन्तर्राष्ट्रिय लगानीकर्तालाई अवगत गराएका छौँ। उनीहरूको चासो र इच्छा पनि बढ्दैछ। अब लगानी वृद्धि हुन्छ,' सिंहले भने। उनले यो वर्ष ऊर्जामा लगानी घटेकाले समग्रमा परिणाममा असर देखिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.