काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नियमावली, कार्यविधि, निर्देशिका र आदेश भन्ने शब्दहरू नेपाली शब्दकोषबाट हटाउनुपर्ने माग गरेका छन्।
संघीय संसद राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सोमबारको बैठकमा मन्त्रालयले संविधानले दिएको प्रत्यायोजित अधिकार मिचेर नियमावली, कार्यविधि, निर्देशिका र आदेश जारी गरेको भनेर सांसदहरूले आलोचना गरेपछि मन्त्री विष्टले आक्रोशित हुँदै उक्त माग गरेका हुन्।
विष्टले आफ्नो मन्त्रालयले नियमावली, कार्यविधि, निर्देशिका र आदेश राजपत्रमा प्रकाशित गरेर आमजनतालाई जानकारी दिएको दाबी गरेका थिए। उनले संविधान, कानुनअनुसार बन्ने निर्देशिकाबारे संसदलाई पनि जानकारी गराउने प्रतिवद्धता व्यक्त गरेका थिए।
मन्त्रालयबाट जारी भएका नियमावली, कार्यविधि, निर्देशिका र आदेशबारे सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री विष्टले निर्देशिका र कार्यविधिबारे आमजनतालाई जानकारी गराउनु सरकारको कर्तव्य भएको बताएका थिए।
समितिमा मन्त्रालयले संविधानले दिएको प्रत्यायोजित अधिकार बाहिर गएर नियमावली, कार्यविधि, निर्देशिका र आदेश जारी गरेको सांसदहरूले बताएका थिए। समिति सदस्यहरूले मन्त्रालयको आलोचना गरेपछि मन्त्री विष्टले शब्दकोषबाट नै नियमावली, कार्यविधि, निर्देशिका र आदेश हटाउनुपर्ने बताएका हुन्।
मन्त्री विष्टले समितिमा मात्रै नभइ यो विषयमा राष्ट्रियसभा र प्रतिनिधिसभामा नै छलफल गर्नुपर्ने प्रस्ताव गरेका थिए। जसलाई सांसदहरूले अस्वीकार गरेका थिए।
समितिका सदस्य राधेश्याम अधिकारीले श्रम मन्त्रालयले वैदेशिक रोजगार ऐन विपरित निर्देशिका जारी गरेको पाइएको उल्लेख गर्दै आपत्ति जनाएका थिए।
संविधान र कानुनअनुसार मन्त्रालयहरूले कार्यविधि र निर्देशिका बनाए/नबनाएको अनुगमन र अध्ययन गरिरहेको समिति सभापति रामनारायण बिडारीले जानकारी दिए। सबै मन्त्रालयलाई छलफलमा बोलाएर ऐनअनुसारको कार्यविधि र निर्देशिका बनाएर अघि बढ्न सचेत गराउने गरी छलफल अघि बढाइएको उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।