कप्तान पारस ओपनिङमा

|

काठमाडौँ : नेपालले आईसीसी ट्वान्टी–२० एसियाली क्वालिफायरको सुरुवात कतारसँगको प्रतिस्पर्धाबाट गर्दैछ। गत वर्ष मात्र ट्वान्टी–२० मान्यता पाएको कतारविरुद्धको फराकिलो जित निकाल्दै विश्वकपमा छनोट हुने बाटो सहज बनाउन नेपालका लागि यो गतिलो अवसर हो। 

छनोटमा नेपाल सवैभन्दा बलियो टोली हो। तर आईसीसीले नेपाललाई सन २०१६ बाट निलम्बन गरेपछि टिमले गतिलो अन्तराष्ट्रिय म्याच एक्सपोजर पाउन सकेको छैन। जसको फाइदा उठाएर नेपाललाई स्तव्ध बनाउदै कतार पहिलो पटक ट्वान्टी–२० विश्वकप छनोटमा सुखद सुरुवातको दाउमा रहेको छ। 

ट्वान्टी–२० वरियताक्रममा नेपाल ११ औँ स्थानमा रहँदा कतार २१ औँ स्थानमा छ। छनोटमा सहभागी टोलीमध्ये नेपालपछि दोश्रो बलियो टोली कतार नै हो।
आईसीसीले २०१८ अप्रिलबाट आफनो सवै सदस्यलाई मान्यता दिने निर्णय गरेपछि कतारले ट्वान्टी–२० मान्यता पाएको थियो। 

मान्यता पाएको छोटो अवधिमा कतारले उल्लेख्य प्रगति गरेको छ। ७ महिनाको अवधिमा ९ वटा ट्वान्टी–२० म्याचमा सहभागिता जनाउँदै ४ जित, ३ हार २ बराबरीको नतिजा निकालेको छ। 

यता सन २०१४ मा नै ट्वान्टी–२० मान्यता पाएको नेपालले ५ वर्षको अवधिमा १७ खेलमा सहभागिता जनाउँदै ७ जित र ९ खेलमा पराजय भोगेको छ। नेदरल्यान्डसंँगको १ खेलको निर्णय आउन सकेन।

पुरानो प्रतिद्वन्द्वी

नेपालका लागि कतार अपरिचित प्रतिद्वन्द्वी होइन। १२ वर्षअघि यी २ टोली आमनेसामने भएका थिए। नेपालले पहिलो पटक ट्वान्टी–२० खेलमा कतारविरुद्ध प्रतिस्पर्धा गरेको थियो। 

नतिजा कतारको पक्षमा रहयो। सन २००७ मा कुवेतमा भएको एसीसी ट्वान्टी–२० मा नेपाल कतारसँग ३ विकेटले पराजित भएको थियो। त्यसको २ वर्षपछि नेपालले खेल ६ विकेटले जितेको थियो। नेपालले तीन पटक ट्वान्टी–२० छनोटमा सहभागिता जनाइसकेको छ । 

२०१३ को छनोटबाट नेपालले विश्व ट्वान्टी–२० नै खेलेको थियो । जसमा क्रिकेटको उम्दो राष्ट्र अफगानिस्तान र हङकङलाई हराएको थियो भने बंगलादेशसँग पराजित बनेको थियो। 

जनवरीयता अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले दुई देशबीच खेलिने ट्वान्टी–२० लाई अन्तराष्ट्रिय मान्यता दिन थालेको छ । 

एसीसी वेस्टन रिजनल ट्वान्टी–२० मा युएइसँग ९ विकेटले पराजित बन्दै उपविजेता बनेपछि कतारले आइसीसी ट्वान्टी–२० क्वालिफायरमा सहभागिताको अवसर पाएको हो।  

सिंगापुर आउनुअघि नेपालले मलेसियामा १० दिन अभ्यासमा बिताएको थियो र मलेसियासँगको दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–० ले ‘क्लिन स्विप’ गरेको थियो । सन् २०१९ मा नेपालले युएइ र मलेसिया विरुद्ध ट्वान्टी–२० सिरिजमा ५ खेल खेलेको थियो। जसमा युएईविरुद्ध १ खेलमा मात्र पराजित बन्यो।  

नेपाल र कतारबीचको खेल नेपाली समय अनुसार भोली बिहान ७ :१५ बजे सिङ्गापुरमा हुनेछ। कतार आफ्नो पहिलो खेलमा घरेलु टोलीसँग ३३ रनले पराजित भएको छ।

कप्तान पारस ओपनर 

नेपालको ब्याटिङमा सधै ओपनरको अभाब परिपूर्ति गर्न कप्तान पारस खड्का निस्किन्छन्। यो पटक ओपनर ज्ञानेन्द्र मल्ल फर्ममा नभएकाले कप्तान पारस ओपनर व्याटसम्यान बन्ने भएका हुन्।  

मलेसिया भ्रमणमा ओपनिङको जिम्मा लिँदै सफल बनेका कप्तान खड्काले कतारविरुद्ध ओपनिङ गर्ने भएका हुन्। मलेसियाविरुद्धको पहिलो ट्वान्टी–२० मा अविजित ८६ रन बनाएका पारसले दोश्रो खेलमा २३ रन जोडेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.