|

काठमाडौं :  नेपाली गीतसंगीत, लोकगीत र लोकजीवनको श्रीवृद्धिमा निरन्तर क्रियाशील रहेर नेपाली लोकगीतको क्षेत्रमा अनवरत नाम हो  शोभा तिवारी लोहनी। 

डिल्लीबजारमा जन्मिएकी उनी २०३६ देखि  ललित कला क्याम्पसमा प्राध्यापन गर्न थालेकी थिइन्। यसैगरी २०४२ देखि सहायक प्राध्यापकको जिम्मेवारी पाएकी थिइन्। शोभाले २०५१ सालदेखि ललितकला क्याम्पसमै उपप्राध्यापकको रूपमा काम गर्न थालिन्।

२०५७  गते उनले उक्त क्याम्पसको संगीत शिक्षण विभाग प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन्। २०५७ सालमा उनी संगीत विषय समितिको अध्यक्ष भएर काम गरिन्। २०३२ सालमा तत्कालीन श्री ५ महाराजधिराज वीरेन्द्र विरविक्रम शाहको ३१ औं शुभ जन्मोत्सवका अवसरमा पद्मकन्या क्याम्पसद्वारा आयोजित अन्तर सदन लोकगीत प्रतियोगिता, २०३३ मा क्याम्पसको रजत जयन्तीका अवसरमा आयोजित अन्तर सदन त्यस्तै २०३४ सालमा पद्मकन्या क्याम्पसद्वारा आयोजित ६९ औ देवकोटा जन्मजयन्तीमा अन्तर सदन समूहिक गानमा पुरस्कत भएकी थिइन्।

वि.स २०३० देखि २०३५ सालसम्म औपचारिक अध्ययनकै सिललिसामा उनले वरिष्ठ संगीतकार तथा गायक स्वर्गीय गोपाल योन्जनबाट संगीत सिक्ने अवसर पाएकी थिइन्। उनले संस्कृतिविद् तुलसी दिवस र इन्दिरा पाण्डेबाट पनि अध्ययन गर्ने अवसर पाएकी थिइन्। ‘पद्मकन्या क्याम्पसमा प्रमाणपत्र तहमा सबैभन्दा पहिलो संगीत विषयको थालनी गर्ने व्यक्ति म नै थिएँ’ तुलसी दिवस भन्छन्, ‘त्यतिबेला पनि शोभा क्याम्पसका विभिन्न सदनहरूमा रहेर हरेक सांगीतिक कार्यक्रमहरूमा भाग लिई पुरस्कृत भइरहनुहुन्थ्यो।’

छोरीले पढ्न हुँदैन भन्‍ने तत्कालीन परम्परावादी समाजको त्यो अवस्थामा शोभाले २०२३ सालमा बालमन्दिरमा प्रवेश पाएकी थिइन्।  उनले स्वर्गीय संगीतकार हुतराज शर्मा र पद्मा कादम्बरीसँग आधुनिक र शास्त्रीय गीत सिकेकी थिइन्।  उनले १२ वर्षको उमेरदेखि नै गायन क्षेत्रमा हात हालेकी थिइन्। 'हरेक दिन विद्यालयको अध्ययन समयपछि बालमन्दिरमा संगीत सिक्न जानुहुन्थ्यो।

बालदिवसका हरेकजसो कार्यक्रममा पहिलो, दोस्रो भई तत्कालीन मुमा बडामहारनी रत्नराज्य लक्ष्मीदेवी शाहबाट पुरस्कृत हुनुभएको थियो।' शोभाकी छोरी स्मृति थपलिया लोहनीले पुरस्कारका प्रमाणपत्र देखाउँदै भनिन्।

शोभा तिवारीले कक्षा ९ र १० मा संगीत विषय नै लिएर अध्ययन गरेकी थिइन्। २०२५ सालमा एसएलसी उत्तीर्ण गरेकी उनले उच्च शिक्षाका पद्मकन्या क्याम्पसबाट गरेकी थिइन्। । स्‍नातक तहसम्म उनले संगीतलाई नै मुख्य विषय बनाएर अध्ययन गरेकी थिइन्।

शोभाले २०३५ भदौ २९ गते सृष्टि नेपाली त्रैमासिक साहित्यिक पत्रीकाको सम्पादकका रूपमा प्रकाशन पनि सुरु गरिन्। यद्यपि पारिवारिक र अध्यापन व्यस्तताले गर्दा  केही अंकको प्रकाशनपछि निरन्तरता दिन सकिनन्। ललित कलामा प्राध्यापन गर्दागर्दै उनी दाङ पुगिन्। उनले महेन्द्र बहुमुखी क्याम्पसमा काम गरिन्। दाङ बसाइँको समय सदुपयोग गर्दै थारू लोकसंगीतको विशेष अध्ययन अनुसन्धान सुरु गरिन्।

शोभाले २०५४ सालमा नेपाल लोक बाजा संग्राहलयको सल्लाहकाकारका रूपमा पनि योगदान पुर्‍याएकी थिइन्। २०६२ मा उच्च माध्यमिक शिक्षा परिषद् व्‍यवस्थापन समिति सदस्यसमेत भएकी थिइन्। ललितकला क्याम्पसमा उपप्राध्यापक हुँदा उनले २०६२ सालमै त्रिभुवन विश्वविद्यालयका तर्फबाट दीर्घसेवा पदक प्राप्त गरिन्।

नेपाली लोक गीत–संगीत क्षेत्रका बारेमा विभिन्न पत्रपत्रिकाहरूमा शोभाका दर्जनौँ लेख रचना प्रकाशित छन् । नेपाली लोक संगीत अध्ययन गर्न चाहनेहरूका लागि उनको ‘संगीतार्पण’ पुस्तक प्रकाशित छ ।

लामो खोज र अनुसन्धानपछि २०६० सालमा साझा प्रकाशनवाट प्रकाशित यो पुस्तक लोकसंगीत विषयमा प्लस टु र स्नातक तहमा अध्यापन हुने गरेको छ। तर, स्तनको क्यान्सरको कारण उनको  अन्ततः २०६६ चैत्र १६ गते देहावसान भएको हो। उनी बिते पनि उनले नेपाली लोक संगीतको क्षेत्रमा पुर्‍याएको योगदान भने जीवित रहिरहनेछ।

आज लोहनीको ६७ औँ जन्मजयन्ती परेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.