|

मुगु : डोकोमा तरकारी,  हातमा दूधको भाँडो लिएर हरेक बिहान गमगढी बजारमा बिक्री गरेर फर्किनु  छायानाथ रारा नगरपालिका-३ हेर्नीकाँध गाउँकी कुशुमदेवी कार्कीको  नियमित कर्तव्य हो।

कार्की मात्रै हैन गाउँका २३ वटै घरधुरीका महिलाहरूको दिन चर्या यसैगरी बित्ने गर्छ।  महिला बहुउद्देश्यीय कृषि तथा पशुपालन समूह गठन गरी यस गाउँका महिलाहरूले बाह्रै महिना तरकारीखेती गर्दै आइरहेका छन्।  महिलाहरू १ घण्टाको पैदल यात्रा गरी मुगुको एकमात्र व्‍यापारी केन्द्र गमगढी बजारमा दैनिक तरकारी बेच्न आउने गरेका हुन्छन्।

आयातित तरकारीलाई निरुसाहित गर्नुपर्ने मान्यता बोकेका महिला बिहान बेलुका समय मिल्नासाथ पिठ्युँमा डोको बोकी तरकारी बेच्न बजारमा आउने गरेका र तरकारीबाटै हेर्निकाँधका महिला नमुना बनेका छन्। हेर्निकाँधका महिलालाई जिल्ला सफल उद्यमीका रूपमा हेर्ने गरेको छ।

भैँसीपालनमा नमुना गाउँ

विगत लामो समयदेखि तरकारी खेतीमा अब्बल देखिएको छायानाथ रारा नगरपालिका-३ स्थित हेर्नीकाँध गाउँ पछिल्लो समयमा भैंसी पालनमा समेत नमुना बन्दै गएको छ।

अति विपन्न किसान सरकार हातेमालो कार्यक्रमअन्तर्गत यो गाउँका २३ घरधुरीले दुहुनो भैँसी पालन सुरु गरेका छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको २५ लाखको लगानीमा गाउँका सबै घरधुरीले दुहुनो र्भैसी किनेका हुन्।

विज्ञ केन्द्र र छायानाथ रारा नगरपालिकाको समन्वयमा हेर्निकाँध गाउँलाई जिल्ला कै नमुना गाउँ बनाउने गरि छनौट गरि व्यवसायिक भैँसी पालन सुरु गरिएको छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले बताए।  भैंसी पालन सुरु भएपछि दैनिक यो गाउँबाट ७० देखि एक सय लिटरसम्म दूध बजारमा आउने गरेको छ।

तरकारी खेतीमा राम्रो उत्पादन गरी रहेको यो गाउँका कृषकलाई भैँसीपालनमा अनुदान दिनुको साथै गोठ सुधार तथा कम्पोष्ट मल उत्पादन, दूध संकलन केन्द्र, बजार व्यवस्थापन, उन्नत जातको घाँसलगायत क्षेत्रमा नगरपालिकाको  साझेदारीमा सहयोग गर्ने पशु विज्ञ केन्द्रका कार्यालय प्रमुख भिमचन्द्र बुढाले जानकारी दिए।

कृषि पर्यटनको गन्तव्य बनाउने

सदरमुकामदेखि आधा घण्टाको दूरीमा पर्ने यो गाउँलाई यसै वर्षभित्र सडकसँग जोड्ने, कृषि पर्यटनको गन्तव्य बनाउने उदेश्यका साथ यो गाउँ छनौटमा परेको विज्ञ केन्द्रले जनाएको छ।

 यो गाउँका सबै महिला तरकारीखेती र भैँसीपालनमा सक्रिय छन भने लोग्ने मान्छेको पनि उतिकै भूमिका रहेको स्थानीयवासी तथा शिक्षक हंशबहादुर बुढाले बताए।

तरकारीबाटै पाँच लाखसम्म आम्दानी

तरकारी बेचेर मात्र मासिक यो गाउँमा पाँच लाखसम्म आम्दानी हुँदै आएकोमा व्यावसायिक भैंसी पालनले आम्दानी अझै बढ्ने र पोषण तथा स्वास्थ्यमा सुधार आउने अर्का स्थानीय रंगबहादुर कार्कीले बताए।

तरकारी खेती र भैसी पालन पछि स्थानीयको जीवनस्तरमा निकै सुधार आएको कार्काीको भनाई छ। सबैको  घर खर्च सञ्चालनमा सहज र बालबालिकालाई पठनपाठ्नमा सहज भएको स्थानीयको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.