|

म्याग्दी : साबिकको धौलागिरि अञ्चलको सबैभन्दा पुरानो मानव निर्मित ‘बूढोपोखरी’लाई मर्मतसंहार गरेर स्थानीयले चिटिक्क बनाएका छन्। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित यो पोखरी राजा गिर्वाणयुद्धको इतिहाससँग जोडिएको छ।

राजा गिर्वाणयुद्धका नीरसुब्बा (अहिलेको स्वकीय सचिव) रहेका रत्नेचौरका वसन्त बोगटीले विसं १८६६ मा राजाको इच्छामुताविक त्यो पोखरीको निर्माण गरेका स्व. वसन्त बोगटीका सातौं पुस्ताका सन्तति चिरञ्जीवी बोगटीले जानकारी दिए।

बोगटीले दिएको जानकारीअनुसार त्यतिबेला रत्नेचौरामा पानीको हाहाकार थियो। गाउँमा कतै पनि पानीका स्रोत नभएपछि ढोडेनीबाट पानी बोकेर खाने,सरसफाइ गर्ने र पशु चौपायाँलाई खुवाउने गर्नुपर्दा स्थानीय आजित भएका थिए। स्वं वसन्त बोगटीले यो कुरा राजा गिर्वाणयुद्धलाई सुनाएपछि राजाको इच्छाअनुसार नै पोखरी निर्माण गरी ढोडेनी खोलासम्म नहर बनाई पानी संकलन गरेर स्थानीयले पानीको समस्याबाट मुक्ति पाएका थिए।

 बूढोपोखरीलाई पुरानै स्वरूपमा फर्काउन स्थानीयवासी सक्रिय भएका छन्। विसं १८४० मा निर्माण गरिएको अञ्चलकै पहिलो मानवनिर्मित पोखरी संरक्षणको अभावमा जीर्ण अवस्थामा रहेको थियो। ठूलो संख्यामा जनशक्ति प्रयोग गरी खानेपानीको पोखरी निर्माण गरेपछि रत्नेचौरमा खेतीपाती गर्न थालिएको थियो। अहिले रत्नेचौर ‘कृषि गाउँ’ का रूपमा समेत चर्चित छ।

करिब ५० मिटर चौडाइ र ७० मिटर लम्बाइ रहेको पोखरी आसपासको क्षेत्रमा बगैँचा विस्तार गर्न ७ रोपनी जग्गा रहेको छ। पोखरीबाट करिब २२ मिटरमाथि ढोरेनी खोलाबाट ल्याइएको पानी पोखरीमा हालेर अहिले पोखरीलाई नयाँ स्वरुपमा मर्मत सम्हार गरिएको छ। पोखरीको पानी स्थानीयले प्रयोग गर्ने गरेका छन्।

पोखरीबाट नजिकै देखिने धौलागिरि हिमाल सहितका हिमश्रंखला, मनोरम दृष्य र निलो पोखरी अवलोकन गर्ने जाने गरिएपनि विस्तारै पानीको मुहान सुक्नुका साथै पोखरीको संरक्षण नभएपछि पोखरी संकटमा परेको थियो।

गत आर्थिक वर्ष पोखरी संरक्षणका लागि बेनी नगरपालिकाबाट ५० हजार र साबिकको जिल्ला भू-संरक्षण कार्यालयबाट ५० हजार रुपैयाँ सहयोग भएको थियो। त्यसैगरी स्थानीयले करिब ६० हजारको जनश्रमदान गरी पोखरीलाई मर्मत सम्हार गरेपछि अहिले बूढोपोखरी चिटिक्क परेको र पोखरी हेर्नका लागि टाढाटाढाबाट समेत मानिसहरु आउने गरेका बेनी नगरपालिका १ रत्नेचौरका वडाअध्यक्ष टेकबहादुर रावलले जानकारी दिए।

पोखरीको संरक्षण गरेपछि सिँचाइका साथै पर्यटकीय गन्तव्‍यसमेत बनाउने पहल सरु भएको छ। चालू आर्थिक वर्षमा पनि नगरपालिकाले पोखरीको सिंगारपटार र पूर्वाधार निर्माणका लागि २ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। सोही बजेटबाट बाँकी पूर्वाधारका काम गरिने र बूढोपोखरीलाई आकर्षक पर्यटकीयस्थल बनाउने अभियानमा स्थानीय लागेका वडाअध्यक्ष रावलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.