पर्यटन र माछापालन व्यवसायको सम्भावना

|

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा रहेके बाउन्नघोला सिमसार क्षेत्रले सबैको मन लोभ्याउन थालेको छ। नगरपालिकाले वडान नम्बर १० मा रहेको संसारकोट सामुदायिक वनभित्र कृत्रिम रुपमा निर्माण गरेको सिमसार क्षेत्रमा पानी जम्मा हुन थालेपछि सिमसार क्षेत्रको सुन्दरता बढेको हो।

२०६५ सालदेखि वन क्षेत्रमा सिमसार क्षेत्र निर्माणका लागि प्रयास भइरहे पनि सफल हुन सकेको थिएन। बर्दघाट नगरपालिकाले सिमसार निर्माणका लागि बजेट विनियोजन गरी सिमसारको तल्लो भागमा ९० मिटर लामो बाँध बाँधेपछि यसपटक पानी जम्मा भएको हो। सिमसारमा पानी जम्मा भएपछि त्यस क्षेत्रको दृष्य मनमोहक बन्दै गएको छ भने सिमसार अवलोकन गर्न जानेहरूसमेत बढ्न थालेका छन्।

सामुदायिक बनको करिव १० हेक्टर क्षेत्रफल अहिले सिमसारमा परिणत भएर अहिले करिब ५ फुट पानी जम्मा भएको छ। सिमसारमा अहिले जंगली जनावरहरु मृग, बँदेल, मयुरलगायत यसअघि नदेखिएका चराहरु देखिन थालेको संसारकोट सामुदायिक वनका सचिव प्रेम अधिकारीले बताए।

अधिकारीले सामुदायिक वन क्षेत्रमा सिमसार बनाउँदा वातावरणीय सन्तुलन कायम हुने, वन डढेलो हुनबाट केही हदसम्म भए पनि कमी हुने, वन्यजन्तुको लागि पानी र आहाल खेल्ने ठाउँको व्‍यवस्थापन हुने भएकोले वनले सिमसार निर्माणका लागि सहकार्य गरेका बताए। सिमसारमा पानी जम्मा भएपछि सिमसार भन्दा तल्लो भेगका रहेका कृषियोग्य जमिनका सिँचाइका लागिसमेत सहज हुने भएको छ। 

उत्साहित छन् स्थानीय

बर्दघाट नगरपालिकाले सामुदायिक वन क्षेत्रको १० हेक्टर क्षेत्रफललाई सिमसार बनाउनका लागि २०७५ साल चैत्रमा बाँध निर्माण कार्य सम्पन्न गरेको थियो। बाँध निर्माण भए पनि पानी जम्मा हुने वा नहुनेमा द्धिविधा भएकोमा यसपटक पानी जम्मा भएपछि सबैमा उत्साह छाएको छ। बर्दघाट १० का स्थानीयवासी देमबहादुर राना सिमसारमा पानी जम्मा भएपछि दंग छन्।

रानाले सिमसारमा जम्मा भएको पानीले आफूहरूलाई सिँचाइका लागि सहज हुने बताए। उनले यति ठूलो क्षेत्रफलमा फैलिएको सिमसारमा बीचमा सरहेका झाडी सफा गर्ने र थप व्‍यवस्थित गरी डुंगा सञ्चालन गर्न सके पर्यटकलाई भित्र्याउनसमेत सहयोग पुग्ने बताए। माछापालन गर्न सके जीविकोपार्जनमा समेत रहयोग पुग्ने रानाको भनाइ छ। 

करिब १० वर्षदेखि सिमसार बनाउनका लागि प्रयास भए पनि गत वर्षबाट मात्र काम सुरु भएको हो। अहिले सिमसारको तल्लो भागमा बनाइएको बाँधले पानीको सतह बढ्दै जाँदा थेग्न सक्नेमा भने बाउन्न घोला सिमसार निर्माण समितिका अध्यक्ष कुलदेव श्रेष्ठ भने ढुक्क छैनन्। श्रेष्ठले यसका लागि नगरपालिकाले विस्तृत परियोजना प्रतवेदन (डिपिआर) तयार गरेर ठूलो प्रोजेक्टका रूपमा अगाडि बढाउनुपर्ने बताउँछन्। 

नगरपालिकाले पर्यापर्यटन क्षेत्रलाई विकास गर्ने प्रमुख उद्देश्यले सिमसार क्षेत्र निर्माण गरेको बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बश्यालले बताए। उनले भने वातावरणिय सन्तुलन मिलाउन, जमिनमुनिको पानीको सतह घटदै गएको अवस्थामा सिमसार क्षेत्रले रिचार्ज पोखरीको रुपमा समेत काम गर्ने, वन्यजन्तु र चराचुरुङ्गीहरु प्राकृतिक रुपमा रमाउन सकुन भन्ने उद्देश्यले सिमसार निर्माणलाई प्राथमिकतामा राखेको बताए।

उनले पर्यापर्यटन सँगै जम्मा भएको पानीलाई सिँचाइको रुपमा प्रयोग गरि कृषकहरु समेत लाभान्वित हुने भएकोले नगरपालिकाले सिमसार क्षेत्रको विकास निर्माणलाई प्राथमिकतामा राखेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.