|

पर्सा : उच्च तापक्रममा कष्टपूर्ण रहेको मध्य तराईको पर्सा बारालगायत क्षेत्र फेरि २ दिनयताको वर्षाले चिसिएको छ। असारको २६ गते अगाडी ४४ डिग्रीसम्मको अत्याधिक गर्मीको चाप खेपिरहेको मध्य तराई एकपटक डुबानमा परेर बल्ल तंग्रिदै गर्दा फेरि गर्मीले धपक्क थियो। तर, दुई दिनदेखि आएको वर्षा र चीसो हावाका कारण वातावरण चिसिएको छ। तथापि मंगलबारबाट आएको बर्षाले फेरि असार अन्तिममा आएको बाढीले झैं फेरि हजारौंलाई घरवारविहीन बनाउने र कतिको जीवन नै लाने त होइन भनी चिन्ता थपेको छ।   

मध्य तराई नै चिसिएपछि आम मानिसको जनजीवन सामान्य त बनेको छ। स्थानीय अस्पतालमा पनि गर्मीका कारण आउने बिरामीको संख्या खटेको अस्पतालले जनाएका छन्। उच्च गर्मीको चापले बिरामी, बालबालिका र वृद्धवृद्धालगायत वनस्पति र जीवजन्तुसमेत प्रत्यक्ष प्रभावित भएका थिए। यो वर्षको मनसुन सुरु भएपछि भने गर्मीको कारण आहत भएको मध्य तराईलाई राहत मिले पनि वर्षाको  एक तमासले भने त्रास मरिसकेको छैन। 

शास्तीसँगै मनसुनको दोस्रो त्रासदी 

विकासे अड्डाले गरेका मसारे अधकल्चो काम र भरदिनको पानीले सडकमा पानी जम्ने र कच्ची सडक हिलाम्मे हुँदा काम बिशेषले हिड्नै पर्नेलाई सास्ती छ। गर्मीले मानिस बिरामी पर्ने शरीरभरी घाउ खटिरा आउने र वातावरण नै सर्लक्कै सुक्ने अवस्थाबाट मुक्ति मिले पनि यो वर्षको मनसुनको दोस्रो झट्का भने त्रासदीपूर्ण रहेको सर्वसाधारणले बताए। 'कहिले गर्मीले तालु नै फुटाउला जस्तो हुन्छ। अनि पानी आउन थालेपछि लगातार आइदिँदा सीमापारीको ‘विकास' भनिएको अधोषित बाँधले पनि मध्य तराई कष्टमा छ' उनीहरूले भने।

बाढी र डुबानको कहर अझै बाँकी

गर्मीले विपत् ल्याउने हो कि भन्ने चिन्तामा रहेको मध्य तराई मंगलबारबाट आउन थालेको पानीको कारण बाढी, डुबानको पुनः कहर रहेको स्थानीय शिवम् साहले बताए। एक किसिमको विपत्बाट जोगियो। तर, फेरि अर्को विपत्को सामना गर्नू पर्ने हो कि ? भनी रौतहट, बारा र पर्सावासीको चिन्ता छ। 'अस्तिको पानीले पर्सामा मात्र ५ जनाको जीवन चुँडायो, भने सयौँको घरबार छिन्नभिन्न पार्दा करोडौंको भौतिक क्षति भयो' उनले थपे।

विपत्मा परेका कतिले अझै राहतको महसुस गर्न पाएका छैनन्। गएको वर्ष पनि बाढी र डुबानले ठूलो पीडा खेपेका बारा, पर्सा र रौतहटवासीले नदि कटान र बाढी तथा डुबानको भरपर्दो विकल्प महसुस गर्न नपाएको स्थानीयको तर्क छ। 

हरेक पालिका आफैँ सरकार भए पनि विपत्को छैन पूर्वतयारी

वाडी तथा डुवानका लागि जिल्लास्थित हरेक पालिका आफैँ स्थानीय सरकार भए पनि तिनीहरूले विपत् व्यवस्थापनका सन्दर्भमा भने चुश्त तयारी नगरेको पाइएको छ। अस्तिको बाढी, डुबान र कटानका समयमा त्यो कुराको पुष्टि भएसकेको सर्वसाधारणले पनि आफैँ महसुस गरे। गाउँगाउँमा सिंह दरबार आएको भनिए पनि सिंहहरू गाउँ छिरेको बाहेक अरू अधिकार आइनपुगेको सर्वसाधारणको आरोप छ। पालिकाका सिंहहरूको हेलचेक्र्याइले यो वर्ष पनि ठूलो वर्षा र बाढी तथा डुबान भएर मध्य तराईबासीको मूल सातो अस्तिको पानीले लगिसकेको स्थानीयले बताए। समयमा फेरि पनि धनजनको क्षति व्यहोर्नु पर्ने हो कि भन्ने त्रास स्थानीयमा जीवितै रहेको उनीहरूको तर्क छ। 

हरेक स्थानीय तह आफैँ विपत् व्यवस्थापनको लागि जिम्मेवार निकाय भएकोले पहिले जस्तो जिल्ला प्रशासन कार्यालय एक्लैले मात्र त सबै भूमिका निर्वाह गर्छ भन्नु पनि अलि अन्यथा होला। तर, जिल्ला प्रशासन कार्यालयले त स्थानीय तहहरूमा कुन ठाउँमा के समस्या छ? उद्दार गर्न पर्ने नपर्ने के हो? उद्धार टोली आवश्यक पर्ने नपर्नेबारे नियमित सबै पालिकाका जनप्रतिनिधि र सम्पर्कमा आएका सर्वसाधारणसँग सहकार्य गरिरहेको छ।

'आफ्ना सुरक्षा सम्यन्त्रहरूसँगको अपडेट त सधैँ छ नै' पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले भने। बाढी र डुबानको उच्च जोखिममा पर्न सक्ने सम्भावनालाई मध्यनजर गरी जिल्लामा ५ वटा डुंगा केही उद्धार सामग्री र उद्धार टोलीसमेत तयारी अवस्थामा रहेको छ।' 

खास गरी जिल्लाभित्र डिष्ट्रिक इमर्जेन्सी अप्रेशन सेन्टर (डीइओसी) बनेको छ। त्यसले संयुक्त रूपमा मिलेर काम गर्छ। ठूलो विपत् आए केन्द्र तथा प्रदेश सरकारसँग जिल्लाको समस्या अवगत गराई थप सहयोग जुटाउने काम हुन्छ। यसमा जिल्ला प्रशासन कार्यालय पर्सा भने चनाखो भई बसेको छ पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए। 

बारामा डिइओसी पनि चनाखो 

उता बारा जिल्लाले पनि सम्भावित विपत्को पूर्वानुमान गरी जेठमा नै डिइओसीको बैठक बसी वर्षात्मा आइपर्ने विपत्बाट धनजनको क्षति कम गर्न पूर्व तयारीमा रहेको थियो। अस्तिको बाढी र डुबानमा पनि त्यसले सकेको काम गर्‍यो । फेरि बाढी, डुबान र विपत् आइलागे फेरि पनि डिइओसीले डटेर काम गर्ने तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय बाराका सूचना अधिकारी मुरारी कार्कीले बताए। 'विपत्का समयमा कस्ले के गर्ने भनी पहिले नै कार्य विभाजन भएको छ। सोहीअनुसार जिल्लाका सबै निकाय परिचालित हुन्छन्' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.