|

म्याग्दी : म्याग्दीको एक गैरसरकारी संस्थाले गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको छ। मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा कार्यक्रमले गर्भवती र सुत्केरी महिलालाई कुहिएको अण्डा वितरण गरेर उनीहरूको स्वास्थ्यमाथि खेलवाड गरेको पाइएको छ।

‘जीवनको महत्वपूर्ण क्षण’ नाम दिइएको  कार्यक्रम अन्तर्गत गर्भवती र सुत्केरी महिलालाई सुआहाराले प्रतिमहिला दुईसय रुपियाँ बराबरका अण्डा वितरण गरेको हो। वितरण गरेका अण्डा सडेका र खानयोग्य नभएको पाइएको हो।

सडेका अण्डा

सुआहाराका फिल्ड कर्मचारीहरूले गर्भवती र सुत्केरी महिलाहरूलाई घरमै पुगेर १० वटा अण्डा दिएका थिए। उनीहरूले दिएको अण्डा खानयोग्य नभएको र सडेको अवस्थामा पाइएको महिलाहरूले गुनासो गरेका छन्। अण्डा खान योग्य छ वा छैन कुनै जाँच परीक्षण नगरी अण्डा वितरण गरिएको छ।

कुहेका अण्डाको तस्वीर फेसबुकमा

अन्नपूर्ण गाउँपालिका-१ दोबामा कार्यरत सामाजिक परिचालिका मनकुमारी गर्बुजाले स्थानीय अमृत गर्बुजाको घरमा दिएको १० वटा अण्डा कुहिएको पाइएको हो। 'घरमा आएर सामाजिक परिचालिकाले १० वटा अण्डा दिनुभएको थियो' अमृत गर्बुजाले भनिन्, ‘बेलुका सुत्केरी श्रीमतीलाई बनाएर खुवाउँदा त सबै कुहिएको पाइयो।’ गर्बुजाले कुहिएका अण्डासहितको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा समेत राखेका छन्।

कुहेका अण्डा खानै हुँदैन : स्वास्थ्‍य कार्यालय

कुहिएका अण्डा खानै नहुने स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भीमप्रसाद आचार्य बताउँछन्। कुहिएका अण्डा खाएमा पखला लाग्ने,पेट दुख्नुका साथै फुट पोइजन हुने उनले बताए। अण्डा खानयोग्य छ वा छैन जाँचेर मात्र वितरण गर्नुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ।

हचुवाका भरमा अण्डा वितरण गर्दा यस्तो भएको हुनसक्ने उनले बताए। अण्डाको क्रेटमा उत्पादन भएको र प्रयोग गर्ने मिति हुनुपर्दछ। उत्पादन भएको लामोसमय भएमा त्यो अण्डा खानयोग्य हुँदैन। यदि कुहिएको अण्डा नै वितरण गरेको हो भने यसले मानवजीवनमा गम्भीर असर पुग्ने स्वास्थ्य प्रमुख आचार्यले बताए।

कुहेका अण्डा दिएका छैनौँ : गर्बुजा

सामाजिक परिचालिका गर्बुजाले कुहिएको अण्डा वितरण नगरेको बताइन्। 'गाउँमै खरिद गरेर बाँडेको हौ कसरी त्यस्तो पर्‍यो?' आफू पनि अचम्मित भएको गर्वजाले बताइन्। अरूबाट गुनासो आएको छैन त्यहाँ कसरी त्यस्तो पर्‍यो गर्बुजाले भनिन्।

सुत्केरी भएको १५ दिनभित्र घरमा पुगेर दुईसय रुपियाँ बराबरको खानेकुरा दिने कार्यक्रम हो उनले भनिन्, ‘फलफूल र अण्डा दिने गरिएको छ जानीजानी उहाँलाई कुहिएको अण्डा दिएको होइन।’ सुत्केरी अवस्थामा पोषणयुक्त खानेकुरा खानुपर्दछ भन्ने सन्देश प्रवाह गर्न खोजिएको हो उनको भनाइ थियो।

परीक्षण नगरी दिनु लापरबाही

वितरण गरिएका अण्डाहरू कुहिएको पाइएपछि सुआहाराले मावन जीवनमा गम्भीर लापरबाही गरेको छ। वितरण हुने अण्डा खानायोग्य छ वा छैन कुनै परीक्षण नगरी सुत्केरी महिलालाई दिँदा यसले महिलाको स्वास्थ्यमा गम्भिर असर पुग्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।

सुआहाराले ६ वटै स्थानीय तहमा पुगेर सुत्केरी आमाहरूको पोषणमा सहयोग पुगोस भनेर अण्डा वितरण गर्ने गरेको छ। सुत्केरी महिलाहरूलाई अण्डा वितरण गर्नुका साथै पोषण सम्बन्धी परामर्श दिने गरेको मिलन म्याग्दीका तथ्याङ्क व्यवस्थापन अधिकृत लेकनाथ सापकोटाले बताए। उनका अनुसार दलित,गरिब विपन्न परिवारका गर्भवती र सुत्केरी महिला गरी पाँच सय ८४ जनालाई करिब एक लाख १६ हजार ८ सय बराबरको अण्डा वितरण गरिएको छ। जिल्लाको मालिका गाउँपालिकामा एक सय ७,धवलागिरीमा ७० जना,अन्नपुर्णमा ८४ जना रघुगंगामा ९९ जना र बेनी नगरपालिकामा एक सय ४९ जना गरी पाँच सय ८४ जनालाई अण्डा वितरण गरिएको छ।

मिलन म्याग्दीको सामाजिक परिचालकद्धारा स्थानीय बजारबाट खरिद गरी अण्डा वितरण गरिएको मिलनका तथ्याङक व्यवस्थापन अधिकृत सापकोटाले बताए। सुआहारा कार्यक्रम अन्तर्गत ६ सय जनालाई अण्डा वितरण गर्ने लक्ष्य लिए पनि पाँच सय ८४ जनालाई मात्र वितरण गरिएको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.