|

म्याग्दी : सात महिनाभित्र संसारका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढेर विश्व कीर्तिमान राख्ने अभियानमा निस्किएका म्याग्दीका निर्मल पुर्जाले दुई सातामा तीनवटा हिमालको सफल आरोहण गरेका छन्।

निर्मलले पाकिस्तान र चीनको सिमानमा पर्ने कराकोरम रेन्जमा अवस्थित विश्वकै १३ औं अग्लो गशेरब्रुम (८०८० मि), गशेरब्रुम दोस्रो र पाकिस्तानकै दोस्रो ठूलो नांगा पहाड (८१२६ मि) को सफल आरोहण गरेका हुन्।

पाकिस्तान र चीनमा अवस्थित तीनवटा हिमालसँगै उनले यसै सिजनमा ब्रोड पिकको समेत आरोहण गर्ने आरोहण दलका मिग्मा डेभिड शेर्पाले बताए। उनका अनुसार लक्ष्यको नजिक पुगेको बताउँदै अन्तिम मिसनका लागि तयारी भइरहेको छ। 

केही साताभित्रै चीनको तिब्वतमा अवस्थित शिशापमा (८०१३ मि) को आरोहण गर्ने जनाइएको छ। बेलायती सेनामा हिम चितुवाको नामले चिनिने निर्मलले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित संसारकै दशौं अग्लो अन्नपूर्ण (८ हजार ९१ मिटर)बाट अभियानको सुरुवात गरेका थिए। आफ्नै जन्मभूमिमा रहेका विश्वमै अग्ला मानिएका हिम चुचुरोबाट आरोहण सुरु गरेका उनी म्याग्दीमै जन्मिएर धौलागिरी र अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो म्याग्देली समेत घोषित भएका छन्।

उनले म्याग्दीको अन्नपूर्ण र धौलागिरीको आरोहण गरेपछि मात्रै विश्वकै अग्लो सगरमाथा, कञ्चनजंगा, ल्होत्से, मकालु, नांगा पहाड, गशेरब्रुम, गशेरब्रुम दोस्रोको आरोहण गरेका हुन्। निर्मलको आरोहण गर्ने सूचीमा शिशापामा, ब्रोडपिक, केटु, च्होयो,मनास्लु रहेका छन्। यी १४ वटा अग्ला हिमालमध्ये आठ वटा भने नेपालमै पर्दछ। 

निर्मलले आरोहणको क्रममा खिचेको सगरमाथाको चुचुरोमा ट्राफिक जाम भएको तस्वीरले विश्वका प्रतिष्ठित मिडियामा समेत स्थान पाएको थियो।

को हुन् पूर्जा ?

उत्तरी म्याग्दीको दानामा जन्मिएका निर्मल सन् २००३ मा बेलायती सेनामा प्रवेश गरेका थिए। उनले बेलायतको क्याट्रिकस्थित आर्मी ट्रेनिङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरे। कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिकु्रटको उपाधि लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए।

क्विन्स गोर्खा कार्यरत रहँदा कमाण्डो समेत गरेका थिए। बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा कार्यरत निर्मलले ब्रिटिश सेनाको रोजाइमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन।

१० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व कीर्तिमान राखिसकेका उनले २०१७ मे २७ मा पाँच दिनमा आठ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर तीन वटा विधामा गिनिज बुकमा वर्ल्ड रेकर्ड राख्न सफल भइसकेका छन्।

गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए। सगरमाथा आरोहणको एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका निर्मलले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.