|

काठमाडौं : नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा संगीतकार विक्रम गुरुङका सांगीतिक सृजनाहरू प्रस्तुत भएका छन्। शुक्रबार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत भएको कार्यक्रममा गुरूङले संगीत भरेका १४ वटा गीतहरू प्रस्तुत भएका थिए। हङकङमा शिक्षण पेशा गरेर सेवा निवृत्त भएका गुरुङ पलेँटीका निम्ति दुई हप्ता पहिले काठमाडौं आएका हुन्।

संगीतकार विक्रम गुरुङले सीमित गीतहरूमा धुन भरेका छन् । तर उनले भरेका धुनहरू गुणका हिसाबले अब्बल सुनिन्छन्। गुरूङले संगीत भरेको गीत ‘कतै टाढा तिमीबाट पुगेँ भने, कल्पेर नबस्नु’ गायक अरूण थापाको जीवनकै पहिलो रेकर्डेड गीत थियो। कार्यक्रमको सुरुवात त्यही गीतबाट भयो। गाउन थाल्नु पहिला गुरुङले आफ्ना मित्र अरूणलाई सम्झिए, 'सुरुमा म पनि बिना बाजा राजा महेन्द्रको ‘फेरि उसैका लागि’ मा संग्रहित गीत आफ्नै शोखका निम्ति नयाँ धुनमा गुनगुनाउन प्रयास गर्थेँ तर अरूणसँगको भेटपछि भने हामी दुबैलाई आफैँले नयाँ गीत बनाउनु पर्छ भन्ने लाग्यो। हामी गीतार र कलम लिएर बस्न थाल्यौं र केही गीत जन्मिए।'

पलेँटीको बसाइँको क्रममा गुरुङसँग विगत र वर्तमानका विभिन्न पक्षमा भलाकुसारी पनि भएको थियो। उनले हङकङदेखि आफ्नो जन्मथल तामागी गाउँको समेत चर्चा गरेका थिए।

पलेँटीमा वाद्यवादनतर्फ बेस गीटारमा अम्बर गुरुङ ‘पोखरेली’ कीबोर्डमा दिनेश रेग्मी, बाँसुरीमा बलराम समाल, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान र प्रकसनमा पारस सुवेदीले साथ दिएका थिए।

पलेँटीको आउँदो महिनाको शृंखलामा पुरानो सांगीतिक ब्याण्ड ‘लेकाली समूह’लाई प्रस्तुत गरिने कुरा आयोजक संस्था नेपालयले जानकरी गराएको छ। ‘लेकाली समूह’ ५२ वर्ष पहिले स्थापना भएको सांगीतिक समूह हो जसमा हिरण्य भोजपुरे, गणेश रसिक, उर्मिला, निर्मला श्रेष्ठ, ईन्द्रनारायण मानन्धर लगायत कलाकारहरू सम्मिलित रहेका थिए।

शुरुमा अंग्रेजी महिनाको अन्तिम शुक्रबार एक दिन मात्र हुने गरेको पलेँटी महिनाको अन्तिम शुक्रबार, शनिबार र आइतबार गरी तीन दिन संचालन हुँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.